काठमाडौँ– चक्रपथ (रिङरोड) सुधार आयोजना अन्तर्गतको कलंकीस्थित अण्डरपास वे (भूमिगत बाटो) शुक्रबारबाट अस्थायी रुपमा सञ्चालनमा आएको छ।
आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले शुक्रबार दिउँसोबाट उक्त अण्डरपास आंशिक रुपमा सञ्चालनमा आएको जानकारी दिए ।
बिहानदेखि सञ्चालनमा आउने भनिएको उक्त अण्डरपास केही काम पुरा नभएको भन्दै चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले रोकेपछि स्थगित भएको थियो । पछि आयोजना, सडक विभागलगायतको छलफल टोलीले वार्ता गरेपछि अस्थायी रुपमा आशिंक सञ्चालनमा ल्याइएको प्रमुख भण्डारीको भनाई छ ।
८ सय मिटर (कलंकी चोकबाट खसीबजारतर्फ ४ सय मिटर र कलंकी चोकबाट सीतापाइलातर्फ ४ सय मिटर) को अण्डरपास सञ्चालनमा आएसँगै घण्टौँसम्म कलंकीको जाममा बस्नुपर्ने बाध्यता हटेको छ।
यसअघि सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले संसदको विकास समितिको बिहीबारको अण्डरपास शुक्रबारबारदेखि खुला हुने जानकारी गराएका थिए।
अण्डरपास निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघार्इ कन्स्ट्रक्सन कम्पनीले अण्डरपास वे सञ्चालनका लागि चिनियाँ सरकारकाे अनुमति चाहिने बताएपछि शुक्रबार विहान सञ्चालनमा अाएकाे थिएन। तर, सरकारले छलफल गरेर निकास निकालेकाे हाे।
तीन वर्ष अघि निर्माण थालिएकाे अन्डरपास वेमा रंगराेगनसँगै लेन छुट्याउने र साइन बोर्ड राख्ने काम बाँकी छ। यो सबै काम पूरा गर्न दुर्इ महिना लाग्ने अनुमान छ।
तर, कलंकी क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएकाे ट्राफिक जाम न्यूनीकरण गर्न सरकारले अस्थायी रूपमा अण्डरपास वे खाेलिएकाे हाे।
अहिले सम्म ९६ प्रतिशत काम सकिएको उनको दाबी छ। तर पनि पूर्ण रुपमा सञ्चालनमा आउन र हस्तान्तरण गर्न भने डिसेम्बर नै कुर्नुपर्ने उनको भनाई छ । ‘डिसेम्बर १५ सम्मको म्याद छ, त्यतिन्जेल सबै काम सकिन्छ, र त्यही दिन औपचारिक कार्यक्रमका साथमा यो अन्डरपास पनि हस्तान्तरण हुन्छ । त्यसपछि अन्डरपासमा कुनै समस्या हुँदैन पूर्ण रुपले स्थायी रुपमै सञ्चालनमा आउँछ,’ उनले भने ।
(शुक्रबार अपराह्न अद्यावधि गरिएकाे)