काठमाडौँ – आजका पत्रपत्रिकामा वातावरणीय तथा विकास निर्माणका मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
आजको कान्तिपुरमा खेतीयोग्य जमिनमा पहिरो शिर्षकमा अनिश तिवारीको समाचार छापिएको छ । पुख्र्यौली खेत पहिरोले बगाएपछि बाह्रबीसे नगरपालिका गाती सिर्गाचेका बेलबहादुर श्रेष्ठले उब्जनी लगाउन पाएका छैनन् । खेती गरेर परिवार धानिरहेका भास्सिएर खोलामा मिल्दै छ ।
भास्सिएको जग्गा पनि माथिबाट खसिरहेको डाँडाको पहिरोले पुर्न थालेपछि उनको बिचल्ली भएको हो । श्रेष्ठको बाँच्ने आधार यही खेत थियो ।
‘खेत पूरा फाटिरहेको छ, माथिबाट सुक्खा पहिरो ओइरिरहन्छ, दुस्ख गरेर खानेलाई प्रकृतिले पनि सतायो,’ श्रेष्ठले भने, ‘अन्नपात उमार्ने ठाउँ नभएपछि हाम्रो त हाहाकार नै मच्चिएको छ ।’ खेतमा उत्पादन भएको तरकारी र अन्न बेचेर उनीहरूले जीवन यापन गर्दै आएका थिए ।
‘अब कसरी के गरेर बाँच्ने हो, भगवान जानुन्, छाक टार्ने बाटो त पहिरोले खायो,’ उनले भने । अरू स्थानमा जग्गा किन्न पैसा नभएको र पहिरोले खेत बगाएपछि मर्नु नै भएको भोटेकोसी गाउँपालिका फुल्पिङकट्टी झिर्पुका सुरबहादुर तामाङले बताए । त्यहीँ उब्जेको तरकारी बजारमा बेचेर परिवारमा बिहानबेलुका जोहो गर्ने गरेको उनले सुनाए । उनी भन्छन्, ‘अब त खेतै नरहने भो के गरी खाने ?’
ऋण लिएर काम गर्न पनि बैंक र सहकारीले नपत्याएको उनले सुनाए । सुरबहादुर भन्छन्, ‘पहिरोको जोखिममा परेको जग्गालाई कसरी पैसा दिनु भन्छन् ।’ असार २१ को भोटेकोसी बाढीले तहसनहस बनाएको तातोपानी क्षेत्र अझै तंग्रिन सकेको छैन ।
बेलबहादुर र सुरबहादुरजस्ता जिल्लाका धेरै कृषकलाई बर्खाले झनै पीडा दिएको छ । पुस्तौंपिच्छे काम गरेर खाइरहेको जमिन भास्सिएपछि यहाँका कृषकलाई आयआर्जनमा समस्या भएको छ ।
कृषकले लगाएका अन्नबालीसमेत पहिरोसँगै बगाएपछि जिल्लाभर समस्या व्यापक बन्दै गएको छ । भएको खेत धाँजाधाँजा फाटेपछि विपन्न कृषक बिल्लीबाठ हुन पुगेको जिल्ला भूमि अधिकार मञ्चका माधव ढकालले बताए । ‘ऋण लिएर व्यवसाय गर्नसमेत बैंक या संस्थाले नपत्याएपछि रनभुल्लमा परेको कृषक अन्योलमा देखिन्छन्,’ ढकालले भने ।
भोटेकोसी गाउँपालिकाको तातोपानी, मार्मिङको चाकु बजार, फुल्पिङकट्टी झिर्पु हिन्दी बजार, बाह्रबीसे नगरपालिकाको गाती जम्बुसम्मका कोसी तटीय क्षेत्रका सात हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन फाटेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको समाचारमा उल्लेख छ ।
त्यस्तै फोहोर फाल्न लाम शिर्षकमा शिल्पा कर्णको समाचार छापिएको छ । बिहीबार दिउँसो नुवाकोटको सिसडोलमा फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम लागेका थिए । केही चालक चर्को घामबाट बच्न छहारीमा बसेका थिए भने कोही गाडीभित्रै गीत बजाएर आराम गरिरहेका देखिन्थे ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा पर्ने सिसडोलमा वडा नम्बर १ सम्मै आइपुग्ने गरी बिहीबार करिब १ सय ५० हाराहारीमा फोहोर बोकेका गाडी लामबद्ध देखिन्थे । दिनहुँ काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका साथै छिमेकको काभ्रेको फोहोर पनि यहीँ व्यवस्थापन गरिने गरिएको छ । दैनिक करिब २ सय ५० भन्दा बढी गाडी फोहोर फाल्न उक्त क्षेत्रमा जान्छन् तर फर्किने भने टुंगो हुन्न । समयमै पुगे पनि फोहोर फाल्न पालो कुर्नुपर्ने चालकहरू बताउँछन् ।
एक वर्षदेखि गोकर्णेश्वर नगरपालिकाको फोहोर यहाँ फाल्न थालेका कृष्ण कार्की फोहोर फाल्न १र२ दिन जसरी भए पनि कुर्नैपर्ने बाध्यता रहेको बताउँछन् । लगातार पानी पर्यो भने त्यो समय ३र४ दिनसम्म पनि पुग्छ । ‘यहाँ पालो कुर्नुपर्दा उता नगरपालिकामा फोहोर लिन आएर भनेर गुनासो गरिरहेका हुन्छन्,’ कार्कीले भने, ‘सडकको अवस्थाका कारण पानी पर्नेबित्तिकै गाडी रोकिनुपर्ने हुन्छ । जति सक्दो चाँडो सडक मर्मत गर्नुपर्छ ।’ उनको भनाइमा गाडीहरू लामो समयसम्म कुर्दा उपत्यकाको फोहोरको थुप्रो झनै बढिरहेको हुन्छ, तर समयमा उठाउन पुग्न सकिन्न ।
गाडी बिग्रिनेबित्तिकै त्यहाँसम्म पुग्ने बाटो जाम हुने गर्छ । त्यसले सबै गाडीलाई प्रभाव पार्छ । चालकहरू आफैं मिलेर त्यसलाई छेउ लगाउने वा बनाउने गर्छन् । चन्द्रागिरि नगरपालिकाले विभिन्न संस्थासँग मिलेर ४ वटा ट्रकमा जम्मा गरी सिसडोलमा फोहोर पुर्याउँछ । त्यहाँको फोहोर लिएर आउने चालक श्यामकृष्ण बलामी ओखरपौवाकै स्थानीय हुन् । ‘हामी आफ्नै घरमा खान्छौं, यहाँ कुर्नेले होटेलमा खानुपर्छ । धेरै दिन बस्नुपर्यो भने काम गर्ने संस्थाले बेहोर्छ, नत्र चालकले आफैं तिर्नुपर्छ,’ उनले सुनाए । समय–समयमा प्लास्टिकजन्य तथा पुनस् प्रयोग गर्न सकिने सामग्री संकलनका लागि आउने गाडीहरूले पनि बाटो छेकिदिन्छन् । सवारी व्यवस्थापन चुस्त हुन नसकेको उनको गुनासो छ ।
नेपाल समाचारपत्र
– आजको समाचारपत्रमा जटिल बन्दै उपत्यकाको फोहोर व्यवस्थापन, सिसडोल अव ३ महिनामा भरिँदै शिर्षकमा ईश्वरराज ढकालको समाचार छापिएको छ । सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ। नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन।
उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ। लगातारको वर्षाको कारण फोहोर व्यवस्थापन गर्न कठिन बन्दै गएको छ। सिसडोलमा फोहोर खसाल्न गएका सवारी साधन घण्टौं लाइन बस्न बाध्य हुने गरेका छन्।
कतिपय सवारी चालक त दुई दिनसम्म सिसडोलमै बसेर एक ट्रिप फोहोर खसालेर फर्कने गरेका छन्। फोहोरको थुप्रोमा निर्माण गरेको हिलाम्य बाटो पार गरी फोहोर व्यवस्थापन गर्नुपर्ने भएकोले दिनहुजस्तो समस्या आउने गरेको छ। काठमाडौ महानगरपालिका एक्लैले सिसडोल ल्याण्डफिलका लागि दैनिक १ लाख रुपिया सिसडोलमा खर्च गर्ने गरेको छ।
राजधानी
– आजको राजधानीमा वनविहीन ६ स्थानीय तह शिर्षकमा प्रकाश आचार्यको समाचार छापिएको छ । रुपन्देहीका १६ स्थानीय तहहरूमध्ये ६ वटा स्थानीय तह वनविहीन रहेको पाइएको छ ।
हरेक स्थानीय तहमा १० प्रतिशत भूभागमा अनिवार्य रुपमा वन क्षेत्र हुनुपर्ने राष्ट्रिय वन नीति २०७४मा उल्लेख छ भए पनि रुपन्देहमिा भने एक नगरपालिकासहित पाँच गाउँपालिका सामुदायिक वन विहीन छन् ।
जिल्ला वन कार्यालय, रुपन्देहीका सहायक वन अधिकृत गिरीराज पन्तका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, सम्सरीमाई, मर्चवारी, मायादेवी र ओमसतिया गाउँपालिकामा राष्ट्रिय वन छैन ।
अधिकृत पन्तले भने,‘अब वन नभएका स्थानीय तहले नदीछेउका क्षेत्र, सार्वजनिक जग्गामा वृक्षारोपण गरी १० प्रतिशत क्षेत्र वनको रुपमा विकास गर्नुपर्ने देखिन्छ ।’
राष्ट्रिय वन अन्तर्गत साझेदारी, कबुलियती, धार्मिक, सरकारद्वारा व्यवस्थित, सामुदायिक र संरक्षित वन पर्दछ । जिल्लामा २५ हजार १०५ हेक्टर वन क्षेत्र छ । जसमध्ये १६ हजार हेक्टरमा सामुदायिक वन र दुईवटा साझेदारी वनसमेत रहेको समाचारमा उल्लेख छ।
नागरिक
आजको नागरिकमा गोपीकृष्ण–सरस्वतीनगर सडक : तीन महिनामै उप्कियो कालोपत्रे शिर्षकमा खिलक बुढाथोकीको समाचार छापिएको छ । गत चैत अन्तिम साता काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर र कपन क्षेत्रका बासिन्दाको खुसी चुलियो। नचुलियोस् पनि किन रु वर्षौंदेखि धुलाम्मे र हिलाम्मे सडकका कारण उत्पन्न समस्याबाट मुक्ति पाएका थिए उनीहरूले।
सडक विस्तार गर्न कपन प्रवेशको प्रमुख मार्ग गोपीकृष्ण–सरस्वतीनगरको सडक भत्काइयो २०७२ मंसिरमा। त्यसयता सुरु भएको सडक सकस अन्त्य हुन २०७४ चैत अन्तिम सातासम्म कुर्नुपर्यो। सो अवधिमा विभिन्न बहानामा सडक अलपत्र छोडिँदा स्थानीयदेखि यात्रुसम्मले धुलो र हिलोको सास्ती खेप्नुपर्यो। सडक आसपासका पसल धुलोले हेरिनसक्नु हुन्थे। पैदलसमेत हिँड्न नसकिने गरी लामो समयसम्म सडक अलपत्र अवस्थामा रह्यो।
जीर्ण सडक लामो समयसम्म नबनेपछि त्यस क्षेत्रका बासिन्दाले सांसददेखि मन्त्रीसम्म गुहारे। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का सांसद गगन थापाले धेरैपटक सडकको दुरवस्था अवलोकन गरी सरोकारवालासँग छलफल गरे–गराए। स्थानीयको चर्को दबाबपछि बल्लतल्ल गत चैतमा सडक कालोपत्रे गरियो। स्थानीयले कालोपत्रे सडक प्रयोग गर्न पाए। यो खुसीले सरस्वतीनगरका बासिन्दामात्र हैन, कपनवासीको अनुहार पनि चम्कियो।
विडम्बना १ त्यस क्षेत्रका बासिन्दाको यो खुसी तीन महिना पनि टिकेन। चैत २३ देखि २६ गतेसम्म यो सडकमा गरिएको कालोपत्रे असारमै ठाउँठाउँमा उप्कियो। कालोपत्रे उप्किएपछि सडकमा खाल्डा पर्न थाले। अहिले गोपीकृष्णचोकबाटै सडकमा खाल्डा देखिन थालेका छन्। बीचको केही भाग भत्किएको छैन। नभत्किएको ठाउँमा पनि सडक चिराचिरा परेको छ। भृकुटीचोकमा सडक भत्किएर खाल्डो बनिसकेको छ। सडक भत्किएर पहिलाको जस्तै हिलो र धुलो हुन थालेपछि त्यस क्षेत्रका बासिन्दा चिन्तित छन्।
‘लामो सयमसम्म सडक भत्काएर अलपत्र पारिँदा भोग्नुसम्मको सास्ती भोग्यौं,’ सरस्वतीनगरमा सनसाइन बेकरी सञ्चालन गर्दै आएकी तुलसा मुखियाले भनिन्, ‘ढिलै भए पनि सडक कालोपत्रे हुँदा औधी खुसी लागेको थियो । खुसी भएको तीन महिना नपुग्दै सडक भत्किएर धुलो उड्न थालिसकेको छ ।’ सडक कुरूप भएपछि एकातिर व्यापार नहुने समस्या हुन्छ भने अर्कोतिर धुलो खानुपर्ने बाध्यता। मुखियाजस्तै सडक आसपास व्यवसाय गर्ने र दिनहुँ यो सडक भएर आहोरदोहोर गर्ने हजारौं कष्ट झेल्न बाध्य छन्।
ठेकेदार कम्पनीले गुणस्तरीय काम नगर्दा राज्यकोषबाट करोडौं खर्च गरेर बनाइएको सडक तीन महिनामै क्षतविक्षत भएको स्थानीयको ठम्याइ छ। कालिञ्चोक फुड सप्लायर्सका सञ्चालक पूर्णबहादुर खप्तरीका अनुसार ठेकेदारले वर्षा भइरहेका बेला कालोपत्रे गरेको तथा कमसल मसला प्रयोग गरेकाले सडक तीन महिनामै भत्किएको दाबी गरेको समाचारमा उल्लेख छ।