काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार प्रकाशित भएको छ।
कान्तिपुर
–आजको कान्तिपुरमा लिखु नदी दोहन शिर्षकमा टीकाप्रसाद भट्टको समाचार छापिएको छ। सरकारले नदीजन्य सामग्री उत्खननमा असारदेखि भदौ मसान्तसम्म रोक लगाएको छ । रामेछापको लिखु नदीमा भने निर्बाध रूपमा बालुवा र रोडा झिकिरहेका छन् ।
लिखु ३ आयोजना र सर्वसाधारणले लिखु नदी दोहन गरिरहँदा सम्बन्धित निकाय मौन छ । लिखुबाट मेसिन लगाएर दिनहुँ दजनौं गाडी रोडा र बालुवा निकालिन्छ । फेदीमै बालुवा र रोडाको ठूलो थुप्रो छ ।
लिखु तामाकोसी गाउँपालिका क्षेत्रमा पर्ने सैपुको फेदीमा बालुवा र रोडा उत्खनन भएकोबारे वडा कार्यालयमा छलफल भएर उत्खनन तत्काल रोक्न आग्रह गरे पनि अटेर गरेको वडाध्यक्ष पदमबहादुर तामाङले बताए । ‘हामीले वडा भेला नै गरेर लिखु नदी दोहन रोक्न आग्रह गरेका छौं,’ उनले भने ‘तर मानिएको छैन, झिकेको झिक्यै छन् ।’ वडाध्यक्षका अनुसार नदीजन्य सामग्री प्रयोग गर्नेसम्बन्धी कुनै पनि निकायले लिखु ३ आयोजना र अन्य कसैलाई पत्र दिएको छैन । जलविद्युत् आयोजनाले निर्माण गर्दा निस्केको डस्टलगायत विसर्जनबारे उल्लेख भए पनि नदीजन्य सामग्री उत्खनन कतै उल्लेख नभएको उनले बताए ।
सरकारले उत्खनन नै रोक लगाएको अवस्थामा सर्वसाधारणदेखि आयोजनासम्म एकै कानुन लाग्ने भएकाले यो अवैध हो भन्ने बुझाइ स्थानीयको छ । वडाध्यक्ष तामाङले यसबारे जिल्ला प्रहरीलाई खबर गरेको तर चासो नदिएको बताए ।
सीमावर्ती ओखलढुंगा जिल्लामा पर्ने क्षेत्रमा भने बालुवा उत्खनन पूर्ण निषेध छ । स्थानीय तह र प्रशासनले ओखलढुंगा क्षेत्रमा नदीजन्य सामग्री झिक्नै दिएका छैनन् । लिखु तामाकोसी गाउँपालिकाकी उपप्रमुख दीपशिखा दाहालले सरकारले रोक्का गरेको अवधिमा नदीको दोहन भइरहेको विषयले आफैंलाई अन्योलमा पारेको बताइन् । नदी उत्खननमा सरकारका कुनै तहको स्वीकृत नभएको र त्यसको राजस्वसमेत कुनै तहले नउठाएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताइन् ।
श्वेतगंगा हाइड्रोपावर लिमिटेडले २८.१ मेघावाटको लिखु ३ को काम गर्न लागेको छ । फेदीमा बालुवा र रोडा जम्मा गर्ने कामबाहेक आयोजनाले अरू केही काम गरेको छैन । राज्यले रोक लगाएका बेला नदी दोहनबारे बुझ्ने प्रयास गर्दा आयोजना अधिकारीसित सम्पर्क हुन नसकेको समाचारमा उल्लेख छ ।
त्यस्तै कमलाले बनायो सुकुम्बासी शिर्षकमा राजकुमार कार्कीको समाचार छापिएको छ । दुधौली नगरपालिका रामप्रसाद दनुवारलाई कमलाखोंचका फाँटमा धानको हरियालीे देख्दा इष्र्या लागेर आउँछ । कुनै दिन आफ्नो खेतमा यसैगरी धान झुल्दा उनी दंग पर्थे । कमलाखोंच क्षेत्रमा नदीको बाढीले बर्सेनि ऊर्वरभूमि कटान गरेपछि सयौं भूमिपति सुकुम्बासी बनेका छन् । बाँकी खेत पनि नदी कटानको चपेटामा छ ।
पहिलाका भूमिपति रामप्रसाद अहिले जोगिएका फाँटमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनको दुई बिघा खेतमा वर्षामा पानी बग्छ । कमलाको कटानबाट हत्पते, निपाने, हर्षाही, टाँडी, सिर्थौली र कमलामाई नगरपालिका १० देखि १८ वडासम्मका कृषक प्रभावित हुँदै आएको स्थानीय बताउँछन् । यस वर्ष पनि १० बिघाभन्दा बढी धान खेत बगर बनेको दुधौलीका दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार नदी कटानको समस्या बढदो रूपमा देखापरेको दुई दशकभन्दा बढी भए पनि नियन्त्रण प्रयास नभएको कृषकहरू बताउँछन् । नियन्त्रणमा प्रभावकारी काम नभएकै कारण भूमिपति कृषक सुकुम्बासी हुने क्रम बढिरहेको छ । तत्कालीन भूमिपति रामप्रसादको खेत ०५० मा कमला नदीमा आएको बाढीले बगाएको थियो । खेत बगेसँगै १२ जनाको परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । जीवन निर्वाहका लागि अब मजदुरी गर्नुको विकल्प छैन, उनले भने, ‘गरिबी निवारण कार्यक्रमबाट १४ हजार ४ सय रुपैयाँ ऋण लिएर गोरु किनेर टायर गाढा चलाउन थालेको छु ।’ यसबाट धेरथोर गुजारा चलाउन सकेको उनले सुनाए । कमला नदीले गाउँका झन्डै दुई सय परिवारको चार सय बिघा खेत बगर बनाएको छ । उनीहरूको सबैको अवस्था एउटै रहेको रामप्रसादले सुनाए । हत्पतेका कृषक चोक्ता दनुवारको पीडा पनि कम छैन । उनी नवसुकुम्बासी हुन् । गत वर्ष कमला नदीमा आएको बाढीले १० कट्ठा खेत बगाएपछि अब दैनिक मजदुरी नगरे चुलो नबल्ने उनले पीडा सुनाए । खेतको आम्दानीले परिवारको गुजारा गर्दै आएका उनी अहिले बगर बनेको खेत हेरेर भक्कानिन्छन् ।‘कमलाको पीडा सहेर बस्न बाध्य कृषक यस क्षेत्रमा सयौं छन्,’ दनुवारले भने, ‘नदी नियन्त्रण नहुँदा बर्सेनि सुकुम्बासी बन्दै गएका छौं ।’ सात जनाको परिवार भए पनि एक वर्षअघिसम्म खान, लाउन कुनै दुःख नभएको उनले बताए । अहिले अरूको खेतमा ज्याला मजदुरी नगरी उनको अर्को विकल्प नभएको समाचारमा उल्लेख छ।
नागरिक
–आजको नागरिकमा सहरभित्र खोलाको वितण्डा शिर्षकमा शिवहरि घिमिरेको समाचार छापिएको छ । काठमाडौं तीनकुनेमा गाईपालन गर्दै आएका कृष्णप्रसाद घिमिरे सधैंजसो मंगलबार बेलुकी पनि गाईबस्तुलाई दानापानी दिएर नजिकैको डेरामा सुत्न गए। उनी सुत्दा राति १० बजेको थियो। त्यतिबेला आकाशबाट सिमसिम पानी परिहेको थियो। राति तीन बजे एक्कासि जोडतोडले गाई कराएको सुनेपछि उनी ब्युँझिए। कोठाबाट बाहिर निस्किन लागे। घरको झ्यालबाट बाहिर चियाउँदा सबैतिर पानीमात्रै देखे । आफू बस्ने घरको भुइँतलासमेत जलमग्न भइसकेको थियो। चारैतिर डुबान देखेपछि उनले छिमेकी गुहारे । बिजुलीबत्ती नभएकाले सबैतिर अन्धकार थियो । कराइरहेका गाईलाई बचाउने आशामा उनी छिमेकीको सहारामा गोठतर्फ लागे । आधा शरीर डुबाएर गोठमा पुग्दा एउटा गाई मरिसकेको थियो। अन्य ७ वटा गाईको टाउको मात्रै देखिन्थ्यो । हत्तपत गोठको ढोका फोडे । त्यसपछि गाईलाई पानी नभरिएको ठाउँतर्फ सारे। ‘बाढी कसरी आयो थाहै भएन, यत्तिको पानी त वर्षायाममा परेकै हुन्थ्यो,’ बुधबार बिहान नागरिकसँग कुरा गर्दै घिमिरेले भने, ‘धन्न गाई कराएको आवाजले उठियो, नत्र सबै गाई मर्नेरहेछन् ।’ एक लाख रुपैयाँ हालेर किनेको गाई पानीमा डुबेर मरेपछि उनी निरास देखिन्थे।
तीनकुनेमै ‘वासिङ सेन्टर’ (ग्यारेज) चलाउँदै आएकी लक्ष्मीदेवीको टहरो पनि डुबानमा पर्यो। बागमतीको भेल टहरोभित्रै पसेपछि राति तीन बजेपछि उनको परिवार सुत्न सकेन। बागमतीछेवैमा आधा टहरोमा बास र आधामा ग्यारेज सञ्चालन गर्दै आएकी देवीको परिवार सुतिरहेको ठाउँमा पानी पसेपछि ब्युँझिएका थिए। ‘टहरोभित्रै पानी भरियो, सबै डुब्ने हो कि भन्ने आसमा बाल्टिनले पानी बाहिरतिर फालेर बस्यौं,’ उनले भनिन्, ‘अहिलेसम्म यस्तो भएको थिएन।’
बुधबार बिहानपख काठमाडौंको बागमती, विष्णुमती, टुकुचा, धोबीखोला, च्यानेखोलालगायतमा आएको बाढीले वितण्डा मच्चायो। तीनकुने, अनामनगर, घट्टेकुलो, शान्तिनगर, थापाथलीलगायत क्षेत्र डुबानमा परे। खोला किनारमा बस्दै आएका सुकुम्बासी र अन्य स्थानीयका घरटहरा डुबे। हिउँदयाममा सुक्खा देखिने काठमाडौंका खोलाको पानी करिडोर पार गर्दै घरभित्रै छिरेपछि स्थानीय त्रसित बने। भुइँतलामा पानी पसेपछि स्थानीयले प्रहरी र जनप्रतिनिधि गुहारे। बाढीले मानवीय क्षति नभए पनि सरसामानमा क्षति पुगेको छ। ‘राति सुतिरहेका थियौं, एक्कासि कोठामा पानी पस्यो, डेरामा भएको खानेकुरा सबै भिज्यो,’ देवीनगर बस्ने कुमार राईले भनेको समाचारमा उल्लेख छ ।
त्यस्तै सिक्टा सिँचाइमा अनियमितताःकमसल निर्माणले ६ गाउँ जोखिममा शिर्षकमा रुद्र खड्का र अर्जुन ओलीको समाचार छापिएको छ । गुणस्तरहीन निर्माणले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट आसपासका आधा दर्जन बढी गाउँ जोखिममा परेका छन्।
कमसल निर्माण सामग्री प्रयोेग गरी बनाइएको मूल नहर जुनसुकै बेला भत्कने सक्ने भएकाले ती गाउँ जोखिममा परेका हुन्। ५० क्युमेक्स पानी चढाउने गरी बनाइएको मूल नहरमा साउन ७ गते राप्ती नदीको ४ क्युमेक्स पानी पठाउँदा चंगाई नालाको मूल नहर भत्किएपछि सर्वसाधारण झनै आत्तिएका छन्।
४५ किलोमिटरमध्ये लामो मूल नहरमध्ये आधाजति मूल नहर बाँके राष्ट्रिय निकुन्जभित्र पर्छ भने आधाजति मूल नहरको आसपासमा आधा दर्जन बस्ती पर्छन् । राप्तीसोनारी गाउँपालिका–८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले साउन ७ गते परीक्षणको क्रममा सिक्टाको मूल नहर भत्केपछि विगतदेखि नै गाउँ जोखिममा छन् भन्ने अनुमान पुष्टि भएको बताए। ‘मूल नहर निर्माण हुँदाताकाको गुणस्तरहीन काम देखेर राप्ती नदीको पानीले गाउँ बगाउँछ भन्ने लागेको थियो,’ उनले भने, ‘नभन्दै साउन ७ गते चंगाई नालामा मूल नहर भत्कियो ।’ चंगाई नालाको विपरीततिरको मूल नहरको भाग भत्किएको भए बालापुर गाउँ बगिसक्ने उनको भनाइ छ।
४५ किलोमिटरमध्ये सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको ४२ किलोमिटर मूल नहर गुणस्तरहीन रहेको स्थानीय बताउँछन्। ठेकेदारको गुणस्तरहीन कामका कारण सिक्टाको मूल नहर अलपत्र त परेको छ नै आसपासका गाउँलाई कसरी सुरक्षित गर्ने भन्ने पनि समस्या थपिएको स्थानीय बताउँछन्। राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री कमसल निर्माण सामग्रीले सिक्टाको २४ किलोमिटर नहर जीर्ण भइसकेको बताउँछिन्। उनले सिक्टाको मूल नहरलाई टालटुले शैलीले मर्मत र सुधार गरेर पानी चलाउने हो भने जुनसुकै बेला ठूलो मानवीय क्षति हुने बताइन्। मूल नहरका कारण राप्तीसोनारी गाउँपालिकामा आधा दर्जन गाउँका करिब १२ हजार बासिन्दा निकै जोखिममा रहेको वडा अध्यक्ष बस्नेतले बताए।
राप्रपाका नेता तथा पूर्वकृषिमन्त्री प्रेमबहादुर भण्डारी सिक्टाको मूल नहर आसपासका गाउँलाई जोखिमबाट बचाउन आयोजना कार्यालयले अब नयाँ ढंगबाट मूल नहरको डिजाइन गरी काम थाल्नुपर्ने बताउँछन्। ‘अहिलेको डिजाइन अनुसार नै पुनः सिक्टाको मूल नहर मर्मत गर्ने हो भने आसपासका गाउँ सुरक्षित रहने छैनन्,’ भण्डारीले भने, ‘सिक्टा चलाउन र आसपासका गाउँ बचाउन उत्तरतिरबाट आउने पानीलाई मूल नहरमा पस्न नदिने गरी खाका तयार पार्नुपर्छ ।’ त्यस्तै, उनले सिक्टाको बाँधस्थलदेखि कचनापुरसम्म पनि तटबन्ध निर्माण गर्न आवश्यक रहेको बताएको समाचारमा उल्लेख छ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा धोबीखोला बस्तीमा पस्यो शिर्षकमा अर्जुन पौडेलको समाचार छापिएको छ । ‘कोठामा बाढी पस्यो, छिटो उठ,’ छिप्पिएको रातमा आमा चिच्याउँदा सुबिना भुजेल मस्त निद्रामै थिइन् । आमाको अत्यासलाग्दो चर्को आवाज सुनेपछि उनी झसंग भइन् । उठेर हेरिन्, खाटमुनि ताल बनिसकेको थियो । भित्ताको घडीमा नजर पु(याइन्, रातको २ बजेको थियो ।
आमाछोरी मिलेर पानी सोहोर्न थाले । तर, घन्टौँसम्म पनि कोठामा पानी रित्तिएन । बुधबार दिउँसो ४ बजे हामी पुग्दा पनि सुबिना र उनका बाआमा कोठामा जमेको पानी बाल्टीमा उठाएर फाल्दै थिए ।
‘बाढीले पानी मात्र होइन, हिलो पनि ल्यायो,’ सुबिनाले सुनाइन्, ‘घरमा भएको सरसामान र खानेकुरा मात्र होइन, किताब–कापी पनि नास्यो ।’ घट्टेकुलो बस्ने उनी नजिकैको ओरिएन्टल स्कुलमा कक्षा १० मा पढ्छिन् । तर, बाढीकै कारण उनी बुधबार स्कुल गइनन्, दिनभर घरको पानी र हिलो सोहोर्नमै व्यस्त भइन् ।
मध्यराति उर्लिएको धोबीखोलाले अनामनगर, घट्टेकुलो र आसपासका सयौँ घर डुबायो । करिडोरआसपासका घरमा बढी क्षति पुग्यो । स्थानीय क्लबले बाढी प्रभावितलाई बिहान खाना खाने व्यवस्था मिलाएको थियो । तर, कयौँ पीडित घर–कोठा सफा गर्न छाडेर खाना खान जान पनि सकेनन् । ‘घरको यो हालत छ, खाना कसरी निलिन्छ र ?’ सुबिनाले भनिन् ।
घट्टेकुलो चोकमा भाडामा बस्दै आएका कृष्ण ठाकुर र उनकी श्रीमती धनवन्तीदेवीले पनि सडकको हिलो छामेर दिन बिताए । बाढीले उनको कोठाका सम्पूर्ण सामान मात्र भिजाएन, सिरानीमुनि राखेको पाँच हजारसमेत हरायो । ‘भएभरको रासन हिलोमा पुरियो । नयाँ किनौँ भने भएको पैसा पनि हिलोमै हरायो,’ हिलोमा डुबेको चामल बाल्टीको पानीमा छान्दै गरेकी धनवन्तीले पीडा पोखिन् । उनको कोठामा खाटको प्लाई फुलेर काम नलाग्ने भएको छ भने सिरक डस्नालगायत लत्ताकपडा हिलोमा डुबेका समाचारमा उल्लेख छ ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा सडक निर्माणमा दुर्दशाः बनेन चोभार–दक्षिणकाली सडक शिर्षकमा सुरेश तामाङको समाचार छापिएको छ। थप गरेको म्याद गुज्रे पनि चोभार–दक्षिणकाली–सिस्नेरी सडक विस्तारको काम अझै सकिने छाटकाट छैन।
संघीय राजधानीसँग प्रदेश नम्बर ३ को राजधानी जोड्ने यस सडक खण्डको चोभार–दक्षिणकाली–सिस्नेरी २१ किलोमिटर सडक खण्ड चौडा गरी दुई लेनको बनाउन २०७२ असारमा सम्झौता भएको थियो ।
सम्झौता अनुसार दुई वर्षभित्र सडक चौडा गर्ने, नाली खोल्ने, पर्खाल लगाउने, ग्राबेलिङ गर्नेलगायतका काम सम्पन्न गरिसक्नुपर्ने थियो । विभिन्न बाधा व्यवधानले गर्दा सम्झौता अनुसार समयमै काम सम्पन्न नभएपछि गत जेठसम्म म्याद थप गरिएको थियो ।
थप गरिएको म्याद गुज्रिसक्दा समेत सन्तोषजनक काम हुन नसकेपछि ठेकेदार पक्षले आफैँले दशैँभित्र काम सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएको डिभिजन सडक कार्यालय काठमाडौं १ का इन्जिनियर अशोक शाक्यले बताउनुभयो ।
‘काम लगभग अन्तिम चरणमा पुगेको छ । ८० प्रतिशतसम्म काम सम्पन्न भयो होला,’ इन्जिनियर शाक्यले भन्नुभयो– ‘लिखित सहमति अहिलेसम्म भएको छैन । म्याद पनि सकिएको र काम पनि अन्तिम चरणमा पुगेकोले दशैँसम्म काम सम्पन्न गर्ने ठेकेदारबाट प्रतिबद्धता आएको छ ।’
काठमाडौंबाट हेटौँडा हुँदै वीरगञ्ज, सिमरा, कलैयालगायतका मध्य तराई जाने सयौँ टाटासुमो दैनिक यही बाटो आवत जावत गर्ने गरेका छन । सडक विस्तारको काम सुस्त बन्दा यो सडक हुँदै जाने यात्रुले सास्ती ब्यहोर्नु परेको छ ।
धुलो, हिलो, खाल्टाखुल्टी, जामले गर्दा यात्रु दैनिक हैरानीमा पर्ने गरेकाछन । छैमले खण्डलगायत केही खण्डमा स्थानीयको अवरोधकै कारण सडक विस्तारको काम अघि बढ्न सकेको छैन ।
‘जग्गा, घर सडकमा परेकाले लगातार अबरोध पुर्याइरहेका छन्,’ इन्जिनियर शाक्यले भन्नुभयो– ‘त्यही अवरोधले गर्दा अहिलेसम्म केही ठाउँमा त सडक कटिङसमेत गर्न समेत सकिएको छैन ।’
चोभारदेखि दक्षिणकाली १५ किलोमिटर खण्डमा सडक चौडा गरेर केही खण्डमा ग्राबेलिङ गरे पनि दक्षिणकालीदेखि सिस्नेरीसम्म ग्राबेलिङस गर्ने कार्य असोज पछि हुने आयोजनो जनाएको समाचारमा उल्लेख छ।