बेनी – म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो ।
रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले घर पुरिए पनि बिहानपख पहिरो गएकाले भागदौड गरी स्थानीयले ज्यान जोगाएको स्थानीय व्यवसायी काशीराम पुनले जानकारी दिए। पहिरोले चार घरभित्र रहेका खाद्यान्न, लत्ताकपडालगायत सबै सामान पुरिएको उनले बताए।
बिलबाङमा साना ठूला पहिरोबाट ११ घरधुरी थप उच्च जोखिममा परेका छन्। काशीराम पुन, बुद्धिराम पुन, दलबहादुर पुन, मनमान पुन, तमबहादुर पुन, हर्कलाल रोका, तुलबहादुर रोका, तुलप्रसाद पुन, बलबहादुर घर्ती, जुद्धमान पुन, महेन्द्र पुनको घर जोखिममा परेका छन्।
पहिरोमा परेर घाइते भएका आमा छोरा मीराकुमारी पुन र वसन्त पुनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको र क्षतिको अवस्थाबारे गाउँपालिका र सुरक्षा निकायलाई जानकारी गराइएको वडाध्यक्ष नरबहादुर पुनले बताए।
पहिरो प्रभावित भएका स्थानमा नजीकका पोष्टबाट प्रहरी परिचालन गरी क्षतिको विवरण सङ्कलन र उद्धारमा खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। रासस