बैतडी – भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ। सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ। झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताए। उनले भने, “सीमा क्षेत्रका धेरै पर्यटक बैतडी आउन चाहे पनि सीमाक्षेत्रमा पक्की पुल नहुँदा उनीहरूलाई भित्र्याउन सकिएको छैन।”
झुलाघाट भारतसँग सीमा जोडिएको नाम चलेको पुरानो नाका हो। प्रदेश ७ का पहाडी जिल्लाबाट भारत जाने प्रमुख नाकाको रुपमा समेत चिनिने गरिएको छ। झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको स्थानीय कैलाश जोशीको भनाइ रहेको छ।
झुलाघाटमा पक्की पुल बनाउने बिषयमा अहिलेसम्मका सरकारले आश्वासन दिएको भए पनि पूरा भने कसैले गर्न सकेका छैनन्। झुलाघाटमा करीब डेढ सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ। उक्त पुल जीर्ण अवस्थामा रहेको छ। भारत भ्रमणको एजेन्डामा पनि नेपालको तर्फबाट झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरेको भएपनि पक्की पुल नभएकै कारण करोडौंको व्यापार घाटा व्यहोरिरहेका यहाँका व्यवसायीको भनाइ छ।
झुलाघाटमा पक्की पुल नहुँदा नेपालमा उत्पादित तरकारी, महलगायतका वस्तुहरु निर्यात गर्न कठिनाइ भएको लघु उद्यमी समूह सङ्घ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए। उनले भने, “झुलाघाटमा पक्की पुल नभएका कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको छ ।” यो पुल निर्माण भएपछि नेपालसँग मित्रता अझ प्रगाढ हुन्छ भारतीय सञ्चारकर्मी राजेश पञ्गरीयाको भनाइ रहेको छ । यो झोलुंगे पुल मात्र नभइ दुई देशको सम्बन्ध जोड्ने पुल भएको बताए। उनले भने, “पक्की पुल त टाढाको विषय भयो पुल जीर्णोद्वारका विषयमा समेत चासो दिइएको छैन ।”
झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि सरकारले तदारुकता नदेखाउँदा समस्या भएको हो । झुलाघाट नाकामा पुल निर्माणका लागि ०५५ सालदेखि सर्भे मात्रै हुने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन्। सर्भेअनुसार भारत जोड्ने पुलको लम्बाइ ९० मिटर छ । विसं ०५६ मा पुलको डीपीआरसमेत बनेको थियो। उक्त डीपीआरअनुसार पुल निर्माणका लागि रु ६ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको थियो।
पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारत जाने गर्छन्। सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहुँदा बिरामीलाई उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता रहेको छ।
पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नबन्दा झुलाघाट पक्की पुल निर्माणको विषय पनि अन्योलमा परेको बैतडी प्रदेश ‘ख’ का सांसद लिलाधर भट्टले बताए। झुलाघाट पञ्चेश्वरको प्रभावित क्षेत्रमा पर्दछ उनले भने, “पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भएपछि झुलाघाटमा पुल बन्न असम्भव छ।” पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रमा ठूला संरचना निर्माण नगरिने बताइएको छ। रासस