काठमाडौँ – यस वर्षको नागपञ्चमीको अवसर पारेर नक्सालस्थित नागपोखरीमा बुधबार सरसफाइ गरिएको छ ।
काठमाडौँ महानगरपालिका–१ नक्सालमा बिहीबार हुने नागपञ्चमी तथा मेलाका लागि स्थानीयवासीले पोखरी तथा त्यसवरपर सफा गरी फोहर व्यवस्थापन गरेका हुन्। पोखरीको मध्यबिन्दु तथा केन्द्रमा नागसहितको ठूलो खम्बा गाडिएको छ। नागको प्रतिमा निर्माण गरिएको उक्त पोखरीको लम्बाइ १२५ र चौडाइ ६५ फीट रहेको छ।
नागपञ्चमीका दिन यहाँ नागको विशेष पूजा गरिन्छ। पोखरीमा ध्वजापताकासहित भजनकीर्तन, डुङ्गासयर र विभिन्न पसल सञ्चालन गरिने नागपोखरी मेला व्यवस्थापन समितिका सदस्य रोशन श्रेष्ठले जानकारी दिए। विसं २०३३ मा जीर्णोद्धार गरिएको नागपोखरीको नक्साल युवा मण्डल र नक्साल संरक्षण गुठीले संरक्षण गर्दैआएको छ। रासस