Friday, September 20, 2024

पहिरोको जोखिम न्यूनीकरण गर्न भूगर्भविद् सुबोध ढकालका ११ टिप्स

काठमाडौँ – विश्वका विभिन्न राष्ट्रहरूमा पहिरो जानुअघि साइरन बज्ने जस्ता संयन्त्र जडान गरिए पनि नेपालमा भने त्यस्तो कुनै पनि उपकरणको प्रयोग हुन सकिरहेको छैन। नेपालमा मौसम तथा बाढीको पूर्वानुमान गरिए पनि अहिलेसम्म पहिरोको पूर्वानुमान गर्ने संन्यत्र केही पनि नभएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशन ऋषिराम शर्माले बताएका छन् ।

बर्खायाम शुरुभएसँगै देशका विभिन्न भाग पहिरोको उच्च जोखिम रहने गर्दछन् । बर्सेनि पहिरोबाट ठूलो धनजनको क्षति हुँदै आएको छ ।

गृहमन्त्रालय अन्तर्गतको आपतकालीन केन्द्रको तथ्यांक अनुसार पछिल्लो सात वर्षमा मात्र पहिरोका कारण ७ सय ३० जनाले ज्यान गुमाएका छन् ।

तर भूगर्भविदहरू सरकार तथा सम्बन्धित निकायले आफैँले पनि पहिरोको पूर्वानुमान लगाउन सकिने बताउँछन् । सरकारका साथै सर्वसाधारणले सामान्य भन्दा सामान्य कुरालाई वास्ता नगर्दा पहिरो गइरहेको भूगर्भविद सुबोध ढकालको धारणा छ ।

उनी विकास निर्माणका नाममा भइरहेको सडक निर्माण, उत्खनन् जस्ता कुरामा भूउपयोग नीति नअपनाउनाले नेपालमा पहिरो जाने दाबी गर्छन् । उनका अनुसार हामीले निम्न कुराहरूमा ध्यान दिन सक्यौँ भने आफैँले पनि पहिरोको पूर्वानुमान लगाउन सकिन्छ । साथसाथै पहिरो रोकथाम र त्यसबाट हुने क्षतिबाट बच्न र बचाउन सकिन्छ।

  • कुनै पनि बस्तीभन्दा माथि वा तलको भूभागमा कतै चिरा परेको छ कि छैन् त्यसलाई हेरेर पहिरोको पूर्वानुमान गर्न सकिन्छ । यदि कतै चिरा परेको छ भने त्यस्तो स्थानमा पहिरो जान सक्ने उच्च सम्भावना रहेको हुन्छ ।
  • बस्तीको तल खोला छ भने खोलाको घुमाइका अनुसार पनि पहिरो जाने नजाने पत्ता लगाउन सकिन्छ । जहाँ खोला घुमेको हुन्छ त्यहाँ पानीले खोलिरहेको हुन्छ त्यहाँ पहिरो जानसक्छ । खोला घुमेर फर्किएको भागमा पहिरो जानसक्ने सम्भावना बढी हुन्छ घुमेको छ कि छैन हेर्नुपर्यो, जहाँ घुमेको हुन्छ त्यहाँ पानीले खोलिरहेको हुन्छ र त्यहाँ पहिरो जानसक्छ ।
  • हामी बसेको बस्ती वरपर वा बस्तीमा पहिला पहिरो गएको थियो कि थिएन त्यसको आधारमा पनि पहिरोको पूर्वानुमान लगाउन सकिन्छ । यदि पहिल्यै पहिरो गएको ठाउँ हो भने त्यस्तो स्थानमा ४०–५० वर्षसम्म माटो स्थिर भएर पनि फेरि पहिरो जानसक्छ ।
  • यदि कुनै पहाड कुप्रेको छ भने पनि त्यस्तो स्थानमा बर्खायाममा पहिरो जानसक्छ ।
  • यदि कुनै रुखहरू उम्रिदा सिधा तर पछि बाङ्गिदै वा ढल्किँदै गएको छ भने त्यस्तो स्थानमा पनि पहिरो जान सक्ने उच्च सम्भावना हुन्छ । साथै बिजुलीका पोलहरू पहिला सिधा थियो र पछि ढल्किँदै गएको छ भने त्यहाँ पनि पहिरो जान सक्छ ।
  • बस्तीको तलमाथि सबै ठिक छ तर हाम्रो घर आँगनमा चिरा परेको छ । अथवा बर्सेनि चिरा परिरहेको हुन्छ भने त्यहाँ पनि पहिरो जान सक्छ ।
  • चट्टानी भूभागमा चट्टानहरू टुक्रिएको छ भने त्यहाँ पनि पहिरो जान सक्छ ।
  • सडकहरू खनेको स्थानमा पनि पहिरो जान सक्छ ।
  • साना साना खोल्सा भएको स्थानमा पनि पहिरो जानसक्छ ।
  • बर्खायाममा पानी जथाभावी बगेको छ त्यसको कुनै व्यवस्थापन गरिएको छैन भने त्यस्तो स्थानमा पहिरो जान सक्छ।
  • कतै मूल फुटेको छ भने त्यस स्थानको जमिनमुनी प्रशस्त पानी रहेको हुन्छ र पानीले धकेलेर पहिरो निम्त्याउन सक्छ ।

माथि भनिएका बुँदाहरूमा यदि हामीले राम्रोसँग ध्यान दिने हो भने पहिरोबाट हुने क्षति न्यूनीकरण गर्नुका साथै धनजनको क्षति कम गर्न सकिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार