Thursday, September 19, 2024

सुत्केरीको शालनालबाट बायोग्यास

काठमाडौं–परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सुत्केरीको शालशानबाट बायोग्यास निकालेको छ।

नेपालमा अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन चुनौतीको विषय बन्दै गएका बेला प्रसूति तथा स्त्रीरोग अस्पतालले सुत्केरीको शालनालबाट बायोग्यास निकालेर फोहोरबाट आम्दानी पनि गरेको छ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी उपहस्पिटल प्रशासक रानु थापाले दुई महिनादेखि सुत्केरीको शालनालबाट उत्पादन गरेको ग्यास सञ्चालनमा ल्याइएकोे जानकारी दिइन्।

१२ लाखको लगानीमा सुत्केरीको शालनालबाट बायोग्यास निकालिएको हो। १ वर्ष अगाडि निर्माण कार्य सुरु गरेको अस्पतालले अहिले यसबाट आवासीय चिकित्सकलाई दैनिक खाना खुवाउने, चिया, पानी तताउनेका साथै अस्पतालका लागि आवश्यक परेको बेला प्रयोग गर्दै आएको प्रशासक थापा बताउँछिन्।

यसअघि अस्पताललाई सुत्केरीको शालनाल व्यवस्थापन गर्न कठिनाई हुने गरेको थियो। ‘पहिले सुत्केरी हुँदा निस्किएको शालनाललाई पशुपतिमा लगेर जलाउने कि त गाड्ने गरिएको थियो,’ उपहस्पिटल प्रशासक थापाले भनिन्, ‘अहिले शालनालबाट बायोग्यास बनाएपछि समस्या सामधान भएको छ ।’

परोपकार प्रसूति अस्पतालमा दैनिक ७० देखि ९० जना सुत्केरी हुने गरेको उनी बताउँछिन् । सुत्केरीको शाल र बच्चाको नाल गरी दैनिक ३० देखि ३२ किलोग्राम शालनाल निस्कासन हुने गरेको छ । दैनिक निस्कासन हुने शालनाललाई कुवाएर ग्यास निकालिन्छ।

त्यस्तै, फोहोरबाटै मासिक ४० हजार आम्दानी गर्दै आएको छ। अस्पतालबाट दैनिक २ सय ५० देखि ३ सय किलोग्रामसम्म फोहोर निस्कन्छ।

अस्पतालले जोखिमरहित फोहोरलाई कुहिने, नगल्ने, कागजजन्य, प्लास्टिक र बोतल तथा क्यान भनेर अलगअलग भाडोमा संकलन गर्दै आएको छ। कुहिने फोहोर काठमाडौं महानगरले लैजाने गरेको छ भने पुनःप्रयोगमा ल्याइने फोहोर मनिष पोदारको कवाडीले फर्मलाई अस्पतालले बेच्ने गरेको छ ।

‘बिरामीको चाप हुने ठाउँमा फोहोर बढी नै हुन्छ तर, सफा राख्ने प्रयास गरेका छौं,’ थापाले भनिन्, ‘दिनमा तीन पटक शौचालय सफा गर्छौं, पहिला जस्तो गुनासो आजभोलि आउन छाडेको छ ।’

ताजा समाचार

सम्बन्धित समाचार