Thursday, September 19, 2024

प्रम ओलीको निर्देशनपछि पनि चाबहिल-जोरपाटी सडक हिलाम्य

काठमाडौं–‘चाबहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधारसँगै काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी यथाशीघ्र पुर्नू,’ २७ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सोही मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितलाई बोलाएर प्रधानमन्त्री ओलीले चाबहिल–बौद्ध–जोरपाटीसँगै कलंकी–थानकोट सडकलाई तत्काल सुधार गर्न निर्देशन दिएका थिए।

तर, प्रधानमन्त्रीको निर्देशनको ११ दिन वित्दा समेत चाबहिल–बौद्ध–जोरपाटी सडकको दुरावस्था उस्तै छ। सडकमा खाल्डाखुल्डी मात्र होइन। हिलाम्य बनेको छ। सडकका विभिन्न खण्ड ताल जस्तै बनेका छन्।

कपनमा बस्दै आएका कृष्ण बुढाथोकी भन्छन्, ‘फुटपाथमा हिँड्ने ठाउँ छैन। सडकमा हिँडौं हिलाम्य छ।’ अहिले सो सडकखण्डको चुच्चेपाटीबाट महांकालसम्मको खण्ड सुधारको काम भइरहेको छ। तर, झन ठूलाठूला खाल्डा बनेका छन्। ‘खाल्डा पुर्न बालुवा र गिट्टी हाल्छन्, फेरि उस्तै हालत हुन्छ,’ बुढाथोकीले भने।

सोही सडक भएर दैनिकजसो मोटरसाइकलमा हिँड्ने अमृत भट्ट भन्छन्, ‘बर्खामा सडकभर पानी भरिएको हुन्छ। मोटरसाइकल कतिखेर खाल्डामा फस्छ भन्ने डर हुन्छ।’

प्रधानमन्त्री ओलीको निर्देशनअनुसार भौतिक मन्त्रालयले सडकको सुधार गर्न तथा खाल्डाखुल्डी पुर्न विभागलाई निर्देशन दियो। तर, के कति काम भयो भनेर ‘रिपोर्ट’ प्राप्त नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा बताउँछन्। ‘प्रधानमन्त्रीज्यूले निर्देशन दिएको भोलिपल्टै हामीले सडक विभागलाई सबै खाल्डाखुल्डी पुरेर सडक राम्रो बनाउन निर्देशन दिइसकेका छौँ,’ उनले भने।

सडक विभागका प्रवक्ता मुक्ति गौतम बर्खामा सडकका खाल्डाखुल्डी पुर्न समस्या हुने गरेको बताउँछन्। ‘निर्देशनअनुसार चाबहिल–जोरपाटी सडकखण्ड सुधार गर्न लागिपरेका छौं। तर, बर्खाका कारण पनि समस्या भइरहेको छ,’ उनले भने।

त्यसैगरी, खानेपानीका पाइपबाट पानी चुहिदा (लिकेज) हुँदा सडकमा फेरि खाल्डा बन्ने समस्या रहेको उनले बताए। ‘खानेपानी संस्थानलाई पाइप बदल्न अनुरोध गरिरहेका छौँ तर कहिलेसम्म बन्छ थाहा छैन,’ उनले भने। चाबहिल–जोरपाटी सडकखण्डमा ढल निर्माणको काम भइरहेको र आगामी चैतभित्र सडक निर्माणको सम्पूर्ण काम सम्पन्ने हुने उनले दाबी गर्छन्।

चाबहिल–जोरपाटी सडक मात्र होइन काठमाडौं उपत्यकाका भित्री सडक खाल्डाखुल्डीमय बनेका छन्। असार मसान्त आएर कालोपत्र गरिएका कतिपय सडकमा फेरि खाल्डा पर्न सुरु भइसकेको छ। तर, ती सडकको मर्मतको काम भएको छैन। गौतम भन्छन्, ‘भित्री सडक हाम्रो सडक विभाग) को मातहत पर्दैनन्। स्थानीय तहले हेर्छन।’

काठमाडौंमा बर्खा लागेसँगै प्रधानमन्त्रीले सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिने तर, कार्यान्वयन नहुने पुरानै ‘रोग’ हो। गत वर्ष पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘१५ दिनभित्र सडकका खाल्डाखु्ल्डी पुर्न’ निर्देशन दिएका थिए। तर, कार्यान्वयन भएन।

ताजा समाचार

सम्बन्धित समाचार