Sunday, September 22, 2024

अब बिहान ७ बजेभित्र फोहोर उठाइसक्नुपर्ने, उल्लंघन गरे १ लाख जरिवाना !

काठमाडौं– अब काठमाडौंमा बिहान ७ बजेभित्र फोहोर संकलन गरिसक्नुपर्ने भएको छ।

फोहोर संकलनको जिम्मा पाएका कम्पनीहरूले आफू अनुकूलसंकलन गरिरहेका बेला काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि बिहान ७ बजेभित्र वा बेलुका ८ बजेपछि मात्र फोहोर उठाउन पाउने नियम लागू गर्न लागेकोे हो।

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरका ती कम्पनीहरूले सातामा कम्तिमा पनि २ दिन फोहोर उठाउनुपर्नेछ। ‘सामान्यतया फाहोरमैला व्यवस्थापन दैनिक रुपमा गरेको राम्रो हो। यदि सकिँदैन भने यसलाई हप्ताको कम्तीमा पनि २ पटक त उठाउनै पर्छ,’ उनले भने। आगामी असारदेखि लागू हुने नयाँ नियमको उल्लंघन गरे कारबाही हुने उनले चेतावनी दिए।

अचेल काठमाडौं महानगर क्षेत्रमा फोहोर संकलन कतिखेर हुन्छ टुंगो हुँदैन। ‘फोहोर संकलन गर्ने गाडी कतिखेर आउँछ भनेर कुरेर बस्नुपर्छ,’ अन्नपूर्णमार्ग चप्पलकारखानामा बस्दै आएकी यमकुमारी ठकुरी भन्छिन्, ‘घरमा फोहोरको डंगुर लागेको हुन्छ। तर, फोहोर उठाउनेहरू कुनदिन आउँछ कति बेला आउँछ थाहै हुन्न।’

बाँसबारीकी पार्वती न्यौपाने फोहोर उठाउन आउनेको निश्चित समय नहुनाले फोहोर बाहिर निकाल्न पनि अन्यौल हुने बताउँछिन। ‘फोहोर संकलन गर्ने गाडी आज आउँछ भनेर सबै फोहोर सडकमा निकाल्यो। फोहर कुकुरले कताकता पुर्याउँछ उठाउने आएका हुन्नन्,’ उनले भनिन् ।

फोहोर उठाउने समय निश्चित नहुँदा जनताले पाएको सास्तीलाई कम गर्न महानगरले यस्ताे नियम लागू गर्न लागेकाे बताउँदै कुँवर भन्छन्, ‘जुनसुकै समयमा पनि फोहोर उठाउनाले वातावरण र मानवीय स्वास्थ्यमा धेरै नै नकारात्मक प्रभाव परिरहेको छ।’

जुनसुकै समयमा पनि फोहोर उठाउँदो सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले निश्चित समय तोकिएको महानगरका सूचना अधिकारी बसन्त आचार्य बताउँछन्। ‘जथाभावी रुपमा फोहोर उठाउँदा स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ। सहरको स्वच्छता र सौन्दयर्ता बढाउन पनि सूर्योदयभन्दा पहिले वा रातको समयमा फोहोर उठाउने नियम ल्याइएको छ,’ उनले भने।

उनका अनुसार महानगरले लागू गर्न लागेको नियम उल्लंघन गरेमा फोहोरमैला व्यवस्थापन ऐन २०६८ र फोहोरमैला व्यवस्थापन नियमावली २०७० अनुसार कसुर हेरेर १५ हजार देखि १ लाखभन्दा बढीसम्मको जरिवाना तथा जिल्ला प्रशासन कार्यालयको सहयोगमा कैद सजाय समेत गरिने छ। ‘पहिला चेतावनी दिन्छौँ, टेरेनन् भने महानगरको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत् कैद सजाय समेत हुन्छ,’ उनले भने।

हाल काठमाडाैं महानगरभित्र ३३ कम्पनी र उपत्यकामा ६० भन्दा बढी निजी कम्पनीहरूले फोहोरमैला संकलन गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार