Sunday, September 22, 2024

यसरी बाँझिदैछ खेतीयोग्य जमिन

काठमाडौं– कृषि प्रधान देश भनेर चिनिने नेपालमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गएको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार पहाडबाट तराईमा बसाइँसराइ बढ्नु, पानीको मुहान सुक्दै जानु, सिंचाइको उपलब्धता नहुनु जस्ता कारणले खेतीयोग्य जमिन बाँझो बन्दै गएको हो।

मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्याल कृषियोग्य जमिन बाँझो रहने क्रम बढ्नुमा बालीको उत्पादनमा कमी, युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुने पनि कारक हुन्। ‘पहाडी तथा ग्रामीण क्षेत्रको खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ,’ उनले भने, ‘पहाडी क्षेत्रका मानिस जमिन बाँझै राखेर भएपनि तराई तथा सहरी क्षेत्रमा बसाइँसराइ गरिरहेका छन्।’

मन्त्रालयको तथ्यांक नेपालमा कुल ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३० लाख ९१ हजार हेक्टर जमिनमा मात्र खेती गरिँदै आएको छ। बाँकी १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको मन्त्रालयको तथ्यांक छ। छैटौँ कृषि गणना २०६८ का अनुसार ६५ दशमलव ६ प्रतिशत मानिस कृषि पेशामा संलग्न छन्।

२०४८ सालको राष्ट्रिय जनगणनाअनुसार कृषिमा संलग्न जनसंख्या ८१.२ प्रतिशत थिए। तर २०६८ सालमा भएको पछिल्लो जनगणनाको तथ्यांकअनुसार ६५.६ प्रतिशत जनसंख्या मात्रै कृषिमा संलग्न छन् ।

मन्त्रालयका अनुसार खेतीयोग्य उर्वर जमिन गैरकृषि अर्थात् बसोबास, औद्योगिक लगायतको क्षेत्रमा प्रयोग गर्ने क्रम बढ्दो छ। ‘कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको रूपान्तरणको मार्गचित्र २०७५’ मा भनिएको छ, ‘कृषि योग्य जमिनलाई व्यवसायिक प्लटिङ्ग र बाँझो राख्न नपाउने व्यवस्था गर्न आगामी ६ महिनाभित्र भूमि नीति र भू–उपयोग ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ।’ यसैगरी, कानून तर्जुमा र कार्यान्वयनका लागि उच्च स्तरीय विज्ञ समूह गठन गरिने मन्त्रालयले जनाएको छ।

सूचना अधिकार अर्यालका अनुसार जमिन बाँझो राख्नेलाई कानून बन्नसाथ कारबाहीको दायरामा ल्याइनेछ। ग्रामीण तथा पहाडी क्षेत्रमा सिंचाइको अभाव, पानीको मुहान सुक्दै जानु, आधुनिक कृषि प्रणालीको अभाव, युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न नसक्नु जस्ता कारण मानिसहरू आफ्नो खेतीयोग्य जमिन बाँझै राखेर सहरमा बसाइँसराइ गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार