Sunday, September 22, 2024

अछाममा सुक्दै पानीका मुहान, जहिल्यै खानेपानी अभाव

मंगलसैन नगरपालिका १२ बान्नातोली र १४ कालागाउँको सीमानामा रहेको ऐर बण्ड पानीको कुवा। जुन कुवाबाट पानीको मात्रा घट्दै गएको स्थानीय बताउँछन्।

अछाम–अछाम जिल्लाको बान्निगढी जयगढ गाउ“पालिकाको सुगालीको वीरखम्म गाउ“मा पानीको एउटा मात्र पानीको नाउलो (कुवा) छ। बर्खा  होस् या हिँउद, जहिले पानी भर्न आउनेको घुइँचो हुन्छ। विहान उठ्ने बित्तिकै महिलाहरू खानेपानीको जोहो गर्न थाल्छन्।

‘पालो कुर्दाकुर्दै घरको अरु काम गर्न समय नै हुँदैन,’ स्थानीय पशुपती रावलले भनिन्, ‘धारो छैन, कुवाको पानी सबैले भर्दाभर्दै धमिलो हुन थाल्छ।’ सुगालीमा जहिल्यै खानेपानीको अभाव हुने गरेको स्थानीय बासिन्दा बताउँछन्।

सदियौ‌देखिका खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएपछि ५० घरको टोलमा पानीको सास्ती भएको हो। गाउँमा पानी अभाव हुँदा खुल्ला दिसामुक्त भएको अछामलाई नै चुनौती थपिएको छ। पानीको अभावले शौचालय प्रयाेगविहीन भएका छन्।

स्थानीय बिन्द्रा रावल भन्छिन्, ‘जताबाट पनि महिलालाई मात्र दुःख छ। घरायसी काम, केटाकेटीको हेरविचार, गाइबस्तुको झन्झट एकातिर हुन्छ, मुहानमा पानी सकियो कि भन्ने चिन्ता अर्को पट्टी हुन्छ।’ महिनावारी हुँदा नुहाउनका लागि पनि २ घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता रहेकाले कयौं दिन स्कुल नै छुट्ने गरेको अन्नुर्ण माध्यमिक विद्यालयकी छात्रा सुनिता रावलले बताइन् ।

मंगलसैन नगरपालिकामा पनि पानीको उस्तै समस्या छ। पानीका कतिपय मुहान सुकेको र भएका धारामा पनि निकै कम मात्रामा पानी आउने गरेको मंगलसैन ५ की रमिला विकले बताइन्। ‘विस्तारै धारामा पानी आउन छोडेको छ । एक गाग्री पानी भर्न १ घण्टा लाग्छ,’ रमिलाले भनिन्, ‘मंगलसैन तल्लो धाराको पानी बन्द नै भइसक्यो। झारफुंगा धाराको पानी पनि वर्षेनी घट्दैछ।’

बान्निगढी जयगढ र मंगलसैन नगरपालिका मात्र होइन, जिल्लाका बाँकी ८ स्थानीय तहमा पनि पानीको समस्या छ। मंगलसैन, जयगढ, ठूलासैन, बिनायक, कमलबजार लगायतका बजार क्षेत्रमा खानेपानीको चरम अभाव हुने गरेको छ।
कुनै बेला कुवामा पानी भरिभराउ हुने गरेकोमा पछिल्लो समय वनजंगल फडानी, तीव्र गतिमा मानववस्ती विस्तार हुनुका साथै पानीका स्रोत मास्दा मुहान नै सुक्न थालेका हुन् ।

पछिल्लो एक अध्ययन अनुसार अछाममा जलवायु परिवर्तनको उच्च जोखिममा छ। जिल्ला भु संरक्षण कार्यालय अछामका प्रमुख विनोद शाह पनि जलवायु परिवर्तनका साथै जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट डोजरको प्रयोग गरी सडक निर्माण हुने क्रम बढेसँगै पानीका मुहान सुक्न थालेको बताउँछन्। पानीका स्रोत जोगाउन वृक्षरोपण र पानीका मुहान संरक्षणका लागि कार्यक्रम लागू गरिनुपर्ने उनको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार