Sunday, September 22, 2024

निजगढ विमानस्थल : यी हुन् वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव

काठमाडौं– बारा जिल्लाको निजगढमा प्रस्तावित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणका लागि वातावरण प्रभाव मूल्यांकन (ईआईए) गत १० जेठमा वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरिसकेको छ।

ईआईए प्रतिवेदन अनुसार प्रतावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५ लाख ८५ हजार ४ सय ९९ रुख र १८ लाख ६४ हजार ८ सय २० रुखका पोल (खम्बा आकारका रुख) गरी २४ लाख ५० हजार ८ सय २१ रुख कटान गर्नुपर्ने देखिन्छ। त्यसबापत ६ करोड २७ लाख ५ हजार २५ विरुवा रोप्नुपर्ने छ।

८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रफलमा निर्माण हुने विमानस्थलका लागि तत्कालीन वन तथा वातावरण मन्त्रालयले २७ माघ २०६७ मा क्षेत्र निर्धारण प्रतिवेदन र कार्यक्षेत्र प्रतिवेदन स्वीकृत गरेको थियो।

सिवाललिकसँग जोडिएको मिश्रित भावर क्षेत्रमा पर्ने प्रस्तावित विमानस्थल निर्माण क्षेत्र नजिकै पसाहा र लालबकैया नदी रहेका छन्। पर्सा राष्ट्रिय निकुञ्जको छेउमै रहेको एवं टँगिया वृक्षरोपण क्षेत्र तथा सहजनाथ र ताभागढी साझेदारी वन क्षेत्रले ओगटेको विमानस्थल निर्माण क्षेत्रको वनमा २३ प्रजातीका वन्यजन्तु, ५ सय प्रजातीका चराचुरुङ्गी पाइन्छन्। सो वन क्षेत्रमा साल, सिसौं, खयर जातका वनस्पती पाइन्छन्।

विमानस्थल निर्माणले सो क्षेत्रको वातावरणमा कस्तो प्रभाव पार्छ? ईआईए प्रतिवेदनमा औंल्याएका विषयको केही अंश जस्ताको त्यस्तै:

 –प्रतिकूल प्रभाव
भौतिक वातावरण:  निर्माणसँगै जमिनको प्रयोग परिवर्तन, वायु प्रदूषण, ध्वनी प्रदूषण, खानीको सञ्चालन, ढल सञ्चालन भौतिक वातावरण अन्तर्गत सम्भावित प्रतिकूल प्रभाव हुनसक्छ। सतही हाइड्रोलोजी, जमिन मुनीको पानीको हाइड्रोलोजी, भूक्षय, सुक्ष्म वातावरणमा परिवर्तन, वायु प्रदूषण ध्वनी प्रदूषण र ग्रिन हाउस प्रदूषण सञ्चालनसम्बन्धी प्रभावहरू हुन्।

जैविक वातावरण
आयोजना निर्माण स्थलमा प्रतिहेक्टर ३ हजार ९ सय वोटविरूवा रहेको देखिन्छ। यसले आयोजना क्षेत्रभित्रको जम्मा ५ लाख ८५ हजार ४ सय ९९ गोटा रुख र १८ लाख ६४ हजार ८ सय २० गोटा पोल आकारका वनस्पतीलाई असर गर्छ। यसबाट निस्कने काठ, दाउराको मूल्यांकन गर्दा बजार मूल्यमा ५ सय ९६ अर्ब, सरकारी रोयल्टीमा १५ अर्ब आँकलन गरिएको छ।

आयोजना क्षेत्रमा दुईवटा साझेदारी वनहरू सहजनाथ साझेदारी वन र तामागढी साझेदारी वन पनि पर्दछन्। ठूलो जंगल क्षेत्र खाली गरिने हुँदा जंगली जनावरको वासस्थान पर्सा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण हुने आँकलन गरिएको छ।

हवाई जहाजहरूको उडान र अवतरणको समयमा आवाजले गर्दा पर्सा निकुञ्जका जनावरहरू विमानस्थल क्षेत्रबाट भित्री भागतिर जानेछन्। विमानस्थल पर्सा राष्ट्रिय निकुञ्जसँग नजिक रहेता पनि विमानस्थल वरीपरी यदि ठूलाठूला चराहरू जस्तै चिल गिद्धलाई आकर्षित हुने वस्तुहरू नभएमा चराहरूको आतंक हुने देखिदैन।

–आर्थिक, सामाजिक र सांस्कृतिक वातावरण
टाँगिया वस्ती, मतियानी र काठघाट लगायत ३ वस्तीहरूका १ हजार ४ सय ९४ जग्गाधनी दर्ता प्रमाणपूर्जाविहीन घरधुरीहरु प्रभावित हुनेछन्। तिनीहरुले ५ सय ३ हेक्टर जमिनमा खेतीपाती गर्दै आएका छन्। जम्मा ७ हजार ४ सय ८७ जना मानिसहरू विस्थापित हुनेछन्।

त्यस क्षेत्रमा रहेका मानिसहरूले १२ वटा डीप बोरिङ प्रयोग गरेर नगदेबाली जस्तै गोलभेँडा र अन्य तरकारीखेती गरिरहेका छन्। त्यस क्षेत्रमा १ हजार ४ सय ८४ घर रहेका छन्। जसमध्ये काठ र दाउराबाट बनेका १ हजार ४ सय ४५ घरहरूलाई कच्चीघरमा वर्गीकरण गरिएको छ। र, ४९ घरहरूलाई पक्की घर भनि वर्गीकरण गरिएको छ। त्यसका अलावा आयोजना क्षेत्रमा ६ वटा विद्यालय रहेका छन्।

ठूलो क्षेत्रमा रहेको वन फडानीले त्यस क्षेत्रका नालाहरूमा आउने पानीमा असर पर्न सक्नेछ। प्रस्तावित आयोजना क्षेत्रमा रहेका सांस्कृतिक मूल्यमान्यता बोकेको सहजनाथ मन्दिर रहेको छ। सो मन्दिर उत्तरी भागमा अवस्थित रहेको छ। सो मन्दिरमा शिवरात्रि र श्रावण महिनामा नेपाल तथा भारतबाट धेरै भक्तजनहरू दर्शन गर्न आउँछन्।

–बैैकल्पिक विश्लेषण
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वसम्भाव्यताको अध्ययन सन् १९९५ मा गरिएको थियो। धेरै सम्भाव्य स्थानको अध्ययन गरिएकोमा बारा जिल्लामा अवस्थित प्रस्तावित सबैभन्दा उपयुक्त पाइयो। र, सरकारले यो स्थानलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा अघि बढाएको छ।

बैकल्पिक विश्लेषणको एउटा विकल्पका रुपमा उत्तरतर्फ विमानस्थलका संरचनाको पुनरावृद्धि गर्नु र विमानस्थल सहर दक्षिणतर्फ विकास गर्ने योजना बनाउन सकिन्छ। यो विकल्पले विमानस्थलको धावनमार्गमा पर्सा राष्ट्रिय निकुञ्ज नजिकै पर्न जान्छ। र, पर्सा राष्ट्रिय निकुञ्ज धरै नै नजिक हुने भएकाले सो निकुञ्जमा विमानको ठूलो आवाजले नकारात्मक असर पर्न जान्छ। अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइसीएओ) को निर्देशिका अनुसार वन्यजन्तु आरक्षणको धेरै नजिक विमानस्थलको मार्ग हुनु हुँदैन भन्ने उल्लेख गरिएको छ।

अतः दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल देशको हवाई यातायातको क्षेत्र एवं आर्थिक विकासका लागि अति आवश्यक मेरुदण्ड भएको हुनाले ‘डू नोथिङ’ को विकल्प मान्न सकिन्न।

–प्रभाव अधिकतम तथा न्यूनीकरण उपायहरू
निर्माणका दौरान प्राथमिकताको आधारमा एसपीएफएस (कउबाक) तथा स्थानीय जनतालाई रोजगारीको अवसर प्राप्त हुनेछ। सो रोजगारीले ती परिवारहरूको आयस्तर वृद्धि हुनेछ।

निर्माण व्यवसायीसँग गरिएको सम्झौतामा दक्ष र अर्धदक्ष कामदारको माग गर्दा एसपीएफएस र स्थानीय जनतालाई पहिलो प्राथमिकता हुने र जिल्लाले तोकेको ज्यालाको दरभन्दा कम ज्याला दिन पाइने छैन। यस आयोजनाले प्रभावित १ हजार ४ सय ९४ घरधुरीबाट हरेक एक सदस्यलाई प्राविधिक ज्ञान वा आयआर्जन गर्ने तालिम प्रदान गर्नेछ।

अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले सो क्षेत्रमा ठूलो संख्यामा रोजगारीको सृजना हुनेछ। विमानस्थल सञ्चालनका दौरान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोग गर्न धेरैको संख्यामा सेवा तथा सुविधाहरू स्थापना हुनेछ।

यस आयोजनाले आयोजना प्रभावित क्षेत्र काटघाट, टाँगियावस्ती तथा मतियानीका जनताहरूलाई परिचयपत्र प्रदान गर्नेछ। यसले के जनाउँछ भने सो परिचयपत्र बाहकलाई आयोजनाले विस्थापित गरेको परिवारको सदस्य हो, जसलाई आफ्नो स्थानबाट दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विस्थापन गरेको हो भन्ने चिनाउछ। यी परिचयपत्र बाहकलाई विमानस्थल सञ्चालन अवधिमा रोजगारीमा प्राथमिकता दिन अनुरोध गरिने सुझाव राखेको छ।

यस आयोजनाले प्रभावित नगरपालिकाहरू (विशेषगरी कोहल्वी नगरपालिका, निजगढ नगरपालिका तथा जितपुर–सीमरा उपमहानगरपालिका) लाई समेत निर्माणका चरण तथा सञ्चालनका क्रममा सहयोग गर्नेछ।

–भौतिक वातावरण
वायुको गुणस्तरको सम्भावित परिवर्तन नियन्त्रण गर्न कच्ची सडक र माटोको सडकको एक वर्षमा सुख्खायामका चार महिनामा (फ्रेबअरीदेखि मे) दिनको एक पटक पानी छर्कने कार्य गरिनेछ। आयोजनामा प्रयोग भएका सम्पूर्ण सवारीसाधनहरूले राष्ट्रिय उत्सर्जन मापदण्डको पालना गर्दछ। र, हरेक २ हजार किलोमिटरमा सम्पूर्ण सबै सवारीसाधनको नियमित (मासिक) जाँच तथा मर्मत गरिनेछ। निर्माण क्षेत्रमा काम गर्ने कामदारका लागि धुलोमुक्त क्षेत्रमा काम गर्दा श्वासप्रवास गर्न मास्क उपलब्ध गराइनेछ।

ध्वनी कम हुने विस्फोटकको प्रयोग कम गरिनेछ। निर्माण क्षेत्रलाई बाक्लो प्लाइउडबाट बार लगाइनेछ। निर्माण कामदारलाई कानमा लगाउने गियर उपलब्ध गराइनेछ। ठूलो ध्वनी उत्सर्जन गर्ने इञ्जिनहरू जस्तै एयर कम्प्रेशरहरूमा ध्वनी कम गर्ने उपकरण प्रयोग गरिनेछ। निर्माण क्षेत्रमा गुड्ने सवारीसाधनको मर्मत, सम्भार उत्पादनकर्ताको सिफारिस अनुसार नियमित रुपमा जाँच गरिनेछ।

काम नलाग्ने र प्रयोगविहीन चिज निश्चित स्थानमा उचित तरिकाले राखिनेछ। निकास गर्ने नालाको निर्माण स्थायी पानीको स्रोतमा जोडिनेछ।

निर्माण सामग्रीको सम्भावित स्थान पसाह नदी तथा लालवकैया नदीमा पहिचान गरिएको छ। नदीहरूबाट निर्माण सामग्री निकाल्दा योजनावद्ध तरिकाले गरिनेछ। आवश्यक नदी नियन्त्रण कार्यको खर्च आयोजनाको संरचना निर्माण खर्चको अंश हुनेछ। ग्राउन्ड वाटर रिचार्जको लागि आयोजनाभित्र ठूलाठूला खाल्डा खनी यसमा बालुवा तथा इँटाको तुक्रोले भरिनेछ।

सञ्चालनका दौरानमा विमान तथा सवारीसाधन सञ्चालनबाट हुने वायु प्रदूषण तथा ध्वनी प्रदूषण हटाउन सकिदैन तर, यस राष्ट्रको उत्सर्जन मापदण्ड पास गर्ने विमान तथा सवारीसाधनलाई मात्र यस विमानस्थलमा प्रवेश गर्न दिइनेछ।

नोट : (हाकाहाकी अनलाइनले सूचनाको हकसम्बन्धी ऐन–२०६४ को दफा ३ र ७ प्रयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्राप्त गरेको छ। यसका विभिन्न अंशहरू हामी प्रकाशित गर्दै जानेछौं)

सम्बन्धित समाचार
निजगढ विमानस्थलस् रुख काट्ने निश्चित, विरुवा रोप्ने जमिनको अत्तोपत्तो छैन
निजगढ विमानस्थल २४ लाख रुख काटे बापत ६ करोड विरुवा रोप्नुपर्ने, १३ अर्ब ९७ करोड रुपैयाँ लाग्ने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः साना-ठूला २४ लाख रुख काटिने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत

ताजा समाचार

सम्बन्धित समाचार