Sunday, September 22, 2024

भद्र र रुपसी गैंडालाई चीन पठाउने अन्तिम तयारी

काठमाडौं– नेपालले चीनलाई उपहार दिने एक जोडी गैंडाको नामकरणसँगै अन्य प्राविधिक तयारी पनि अघि बढाइएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार १४ असारमा चीनबाट साइटिस टोली नेपालमा गैंडाको अवस्था बुझ्न आउनेछन्। विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार पहिलो चरणमा चीनलाई उपहार दिने एक जोडी गैंडाको नाम भद्र (भाले) र रुपसी (पोथी) राखिएको छ। ‘यो जोडी गैंडा यहि आर्थिक वर्षमा चीन जान्छ,’ उनले भने, ‘अर्को चाहाँ अर्को आर्थिक वर्षमा जाने तयारी छ।’

भालेलाई चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए। अर्यालका अनुसार यी गैंडाको स्वास्थ्य अवस्थाबारे बुझ्न केही दिनमा चीनबाट आउने साइटिस टोलीले वैज्ञानिक र व्यवस्थापकीय परमिटका बारेमा निर्णय लिनेछ । ‘अहिले निकुञ्जमा रहेका ४ वटै गैंडा स्वस्थ छन्,’ उनले भने।

वन तथा वातावरण मन्त्रालयले भाले र पोथी गैंडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाइसकेको छ। आगामी असार १४ गते चीनमा रहेको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि साइटिस टोली नेपाल आउने विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए। ‘चिनियाँ अधिकारीले खोर बनाउन भनेका छन्, त्यसैले गैँडालाई राखेर पठाइने ४ थान खोर बनाउने काम सुरु गरिएको छ,’ उनले भने, ‘एक हप्ताभित्र खोर बनिसक्ने बताइएको छ। ’

सरकारले चीनलाई २ जोडी गैंडा दिने भनिए पनि एक आर्थिक वर्षमा एक जोडीभन्दा बढी गैंडा दिन मिल्दैन। त्यसकारण अर्काे जोडी गैंडा आगामी साउनमा दिइने भट्टराईले जानकारी दिए। ‘चीन लैजानका लागि प्रक्रिया सुरू भइसकेको छ,’ उनले भने, ‘गैंडा लैजाने सवालमा परराष्ट्र मन्त्रालय, दुतावास लगायतबाट कुटनीतिक तवरले पत्र आउनुपर्छ।  गैंडा  अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि साइटिसको टोली २७ जुनमा नेपाल आउनेछ।

गैंडाले मानिसलाई आक्रमण नगरोस् र रोग नलागोस् भनेर बुमामामा राखेर निगरानी गरिएको निकुञ्जका भेटेरिनरी चिकित्सक डा कमल गैरेले जानकारी दिए। बुमा एक प्रकारको संरक्षित खाडल हो। ३ मिटर गहिरो हुन्छ, भने चारैतिर बारले घेरिएको हुन्छ,गैंडालाई पिँजडा भित्र राखेर विमानमार्फत् चीन लगिनेछ।

 प्राकृतिक वासस्थानमा एकसिंगे गैंडा नरहेपछि चीनले नेपालसँग गैंडा मागेको थियो। त्यसअनुसार चिनियाँ टोली गैंडा, तीनकाे वासस्थान र व्यवस्थापनलगायत प्राविधिक पक्षबारे बुझ्न एक महिना अघि नै नेपाल आइसकेको थियो।

नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन। त्यतिबेला शाहीकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो। नेपालले २ जोडी गैंडा दिएबापत चीनले वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने वचन दिइसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार