Sunday, September 22, 2024

मनसुनमा पश्चिमी वायुको अवरोध: पश्चिम तराईमा गर्मी, पहाडमा वर्षा

वर्षा हुनुअघि बादलले मडारिएको काभ्रेको बल्थलीस्थित आकाश। तस्बिर : यम

काठमाडौं– अरब सागरमाथिबाट आएको पश्चिमी वायुको प्रभाव कायमै रहँदा मनसुन नेपालको पुरै भुभागमा सक्रिय बन्न सकेको छैन।

सामान्यता नेपालमा मनसुन प्रवेश गरेकाे एक सातामा मुलुकभर सक्रिय बन्ने गरेपनि ताप्लेजुङ विन्दु भएर मनसुन प्रवेश गरेको ९ दिन पुग्दा समेत मुलुकको मध्य तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव कायमै छ। जसका कारण मनसुन पूर्वी नेपालमा मात्र केन्द्रित बनेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले औसतभन्दा २ दिन अघि अर्थात् २५ जेठ (८ जुन २०१८ ) मा नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुन नेपालभर सक्रिय हुन पश्चिमी वायु कमजोर हुनुपर्छ। तर, नेपालको मध्य र पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय हुँदा मनसुन पूर्वमा केन्द्रित छ।

‘मनसुनी हावा पूर्वबाट बग्नुपर्ने हुन्छ, जुन त्यति कडा मात्रामा छैन। पश्चिमी वायुले पूर्वी हावालाई पुनः पूर्वतिरै धकेलेका कारण पनि मनसुन सक्रिय हुन अवरोध सिर्जना भएको छ,’ उनले भने, ‘पश्चिमी वायु पुरै कमजोर भएर मनसुन सक्रिय हुन अझै केही दिन लाग्छ।’

उनका अनुसार मनसुन समयमा वायुमण्डलको माथिल्लो तहसम्म पुग्नुपर्ने हुन्छ। अहिले नेपालको मध्य र पश्चिम क्षेत्रको पहाडी क्षेत्रमा पश्चिमी वायुका कारण वर्षा भइरहेको भएपनि तराईमा गर्मी बढेको छ।

महाशाखाको पछिल्लो तथ्यांक अनुसार  तराई क्षेत्र नेपालगञ्जमा अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्रिसेल्सियस छ, भने धनगढीको तापक्रम ३५ दशमलव २ डिग्रिसेल्सियस पुगेकाे छ। पहाडी क्षेत्र दिपालय, डडेल्धुरासँगै राजधानी काठमाडौंमा क्रमशः ० दशमलव ५ मिलिमिटर, ६ मिलिमिटर र ११ मिलिमिटर वर्षा भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विराटनगरमा ४९ मिलिमिटर वर्षा भएको छ। त्यहाँको अधिकतम तापक्रम ३० दशमलव ६ डिग्रिसेल्सियस छ।

मौसमविद् श्रेष्ठका अनुसार तराई क्षेत्रमा फाट्टफुट्ट वर्षा भएपनि अन्य क्षेत्रमाझै ठूलो पानी पर्न सकेको छैन। उनी भन्छन्, ‘यसअघिका वर्षमा पश्चिम वायु कमजोर रहन्थ्यो। केही समय सक्रिय बनेपनि वर्षा हुन्थेन। तर, यो वर्ष पहाडी क्षेत्रमा वर्षा भइरहेको छ।’

यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू–भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ।

सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई औसत वर्षा मानिने गरिन्छ भने त्योेभन्दा कम वा बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षका रुपमा बुझ्ने गरिन्छ। नेपालमा वर्षभर मनसुनका कारण ८० प्रतिशत र प्रि–मनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ।

सामान्यतया नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन रहने अनुमान गरिन्छ। गत वर्ष नेपालमा मनसुन जुन १२ मा भित्रिएर अक्टोबर १६ सम्म रहेको थियो।

सम्बन्धित समाचार
वर्षासँगै धुलो मिश्रित लेदो खसेपछि
मनसुन प्रवेशको घोषणा, कुन वर्ष कहिले मनसुन भित्रियोेरु हेर्नुस् १० वर्षको तथ्यांक

ताजा समाचार

सम्बन्धित समाचार