Sunday, September 22, 2024

पत्रपत्रिकामा आज : तराईको समृद्धिको आधार चुरे , बाँदर आतंकले बसाइँ चिन्ता

काठमाडौं–आजका दैनिक पत्रपत्रिकामा वातावरणीय मुद्दा कम प्राथमितामा परेका छन् ।

राजधानी दैनिक
राजधानीमा ‘तराईको समृद्धिको आधार चुरे ’ शीर्षकमा समाचार प्रकाशित छ । सविन शर्माले लेखेको समाचारमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले स्थापना दिवस मनाउन लागेको उल्लेख छ । चुरे संरक्षणमा जोड दिँदै २०६८ असार २ गते समितिको स्थापना भएको थियो । ‘चुरे संरक्षण हाम्रो कार्यभार , बनाऔँ यसलाई समृद्धिको आधार ’ भन्ने नाराका साथ दिवस मनाइदैछ । कपिलवस्तुको वाणगंगामा १० बिघा क्षेत्रफलमा वृक्षारोपण गर्ने कार्यक्रम छ । तराईको सुरक्षा कवचका रुपमा रहेको चुरे क्षेत्रको संरक्षणमा सरोकारवाला निकायले चासो व्यक्त गरिरहेका छन् ।
महाभारत पर्वत शृंखलाको दक्षिणी सिमानाबाट तराई मैदानको उत्तरी सिमानाबीचको होचो डाँडा र पर्वत शृंखलालाई चुरे भनिन्छ । नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ । पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू चुरे क्षेत्र भई तराईतर्फ बग्ने भएकाले प्राकृतिक रूपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । पछिल्लो समय चुरेको वन विनाश, ढुंगागिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्रमा जोखिम बढेको छ ।
चुरे संरक्षणका लागि आर्थिक वर्ष २०६७÷६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको थियो । चुरेको ढुंगा र बालुवा भएको जमिनबाट भित्र छिरेको पानी भावरमा भएको चिम्ट्याइलो माटोले छेकेपछि बल्ल जमिनमाथि पानी आउने भएकाले तराईको सिँचाइ समस्या समाधानका लागि चुरे संरक्षण महत्वपूर्ण रहेको समितिका अध्यक्ष वीरेन्द्र यादव बताउँछन् । वातावरणीय सेवाका हिसाबले चुरेको सेवा पाउने र संरक्षणमा भाग लिने जिम्मा तराई मधेसदेखि चुरेको साथै महाभारतसम्मको मानिसले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
राजधानीमै दार्चुलाको शैल्यशिखर नगरपालिका –१ थलाशिखरस्थित मालिकार्जुन आधारभूत विद्यालयमा खानेपानीको हाहाकार भएको खबर नरेन्द्र कार्कीले लेखेका छन् ।

नयाँ पत्रिका
पूर्वी र पश्चिमी वायुको प्रभाव बढेसँगै केही दिनदेखि देशैभर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग पुर्वानुमान महाशाखाले जनाएको खबर नयाँ पत्रिकामा छ । बंगालको खाडीबाट जलवाष्पयुक्तहावा कमजोर रुपमा पूर्वी नेपालबाट प्रवेश गरेकाले देशैभर मनसुन भने सक्रिय हुन नसकेको मौसमविद् वरुण पौडेलले बताएका छन् । नयाँ पत्रिकामा शनिबार भएकाले विभिन्न पर्यटकीय स्थानहरुको बारेमा उल्लेख गरीएको जानकारी प्रकाशित छ ।

नागरिक दैनिक
नागरिकले ‘ बाँदर आतंकले बसाइँ चिन्ता ’ शीर्षकको समाचार प्रकाशित भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउँरीडाँडाका किसान खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि बसाइँ नै सर्नुपर्ने बाध्यतामा परेको कुरा खबरमा उल्लेख छ । सो खबर खोटाङबाट दमन राईले लेखेका हुन् । ‘विकासका नाममा विनाश ’ शीर्षकमा दाङबाट देवेन्द्र बस्नेतले लेखेको खबरमा खोलामा मनपरी गरेको पनि उल्लेख छ ।

अन्नपूर्ण पोष्ट
‘ डेढ सयको अक्सिजन ६० हजारसम्म बिक्री ’ शीर्षकमा अन्नपूर्णमा समाचार प्रकाशित छ । छेटु शेर्पाले लेखेको फलोअप समाचारमा ७ हजार २ सय लिटरको मेडिकल अक्सिजन पाँच सय ५० मा खरिद गरेर १ हजार २ सय लिटरका ६ वटा सिलिन्डरमा भरेर प्रतिसिलिन्डर ६० हजार रुपैयाँमा क्रिकी गर्ने गरेको पाइएको छ । मनसुन सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने क्षतिका क्रममा राहत तथा पुनःस्थापनाका लागि पीडितलाई उपलब्ध गराउन रकम अभाव भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले अर्थ मन्त्रालयसँग २ अर्ब माग गरेको खबर सागर पण्डितले लेखेका छन् । वर्षाको समयमा खहरे खोला नजिक बाढि–पहिरो जाने संभावना बढि हुने खबर छेटु शेर्पाले नै लेखेका छन् । यस्तै मेलम्ची पाइपलाइन परीक्षण आइतबारदेखि हुने खबर पनि अन्नपूर्णमा प्रकाशित छ ।

ताजा समाचार

सम्बन्धित समाचार