Monday, November 25, 2024

‘हर्वल भिलेज’ गुर्जा

म्याग्दी– घुम्म बादल अनि सिमसिम झरी । बाक्लो घुम अर्थात स्याखु (चोयामा पात या प्लास्टिक उनेर बनाइएको छत्री) ओढेका गाउँलेहरू निगालाको झाडीले ढाकेको जंगलभित्र रहेका रुखका मुढा (काटेको/ढलेको तर, पुरानो भइसकेको रुख/काठ) चाहर्न व्यस्त छन् ।

गाउँघरको जंगलमा खेर गइरहेको च्याउको माग बढेपछि गुर्जाबासीलाई च्याउ खोज्न हतारो भएको हो । गुर्जामा मात्र होइन लुलाँ र कुइनेमंगले समेत लेकाली जंगलमा रातो च्याउ खोज्नेको भीड नै लाग्न थालेको छ । जेठ–भदौ जंगली च्याउ टिप्ने उपयुक्त मौसम हो ।

असंख्य खोंच र गल्छीका विकटतासँगै धौलागिरी हिमश्रृखलामा पर्ने चुरेन, पुथा र गुर्जा हिमालको जरोमा अवस्थित गुर्जावासीको जीवनशैली रोचक छ । गुर्जाबासीको मुख्य आम्दानीको श्रोत यार्चागुम्बा, जंगली च्याउ समेतका जडिबुटीको व्यापार हो । यार्सागुम्बा, रातो च्याउ, सतुवासहित जडिबुटी र वनस्पतीको उत्पादन, निकासी गरी जीविकोपार्जन गर्ने हुुँदा गुर्जालाई ‘हर्वल भिलेज’ पनि भनिन्छ ।

‘हामीलाई च्याउ टिप्ने हतारो छ । हिमाली क्षेत्रको च्याउ किन्न व्यापारी दैलोमै आउँछन,’ धौलागिरी गाउँपालिका, १ गुर्जाका नवनिर्वाचित वडाअध्यक्ष समेत रहेका जडिबुटी व्यापारी झकबहादुर छन्त्यालले भने,‘जंगलका मुढामा पैसा फलेको छ, जति टिप्न सक्यो उति राम्रो ।’

धौलागिरी गाउँपालिका, १ वडाको एउटै गाउँ गुजुमुञ्च परेको गुर्जालाई लुकेको वस्ती (हिँडेन भिलेज) पनि भनिन्छ । परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति र अल्पसंख्यक छन्त्याल जातिको वस्ती भएकोले गुर्जालाई पर्या वस्तीको रुपमा पर्यटकबीच परिचित छ । प्रशस्त जडिबुटी र खनिजतत्व पाइने भएकोले धौलागिरी गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत गुर्जामा जडिबुटीको व्यावसायीक खेती प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तामा, फलाम, सीसा जस्ता खनिजजन्य खानी उत्खनन गर्न परिचित छन्त्याल समुुदाय खानी बन्द भएपछि जडिबुटी संकलन र निकासी गरी जीविकोपार्जन गर्दै आएको छ ।

नेपाली समाजमा परापूर्वकालदेखि रैथाने खानाको रुपमा उपयोग गरिँदै आएको जंगली रातो च्याउ पछिल्लो समय व्यावसायीक बन्न थालेको छ । वर्षाको मौषममा हिमाली क्षेत्रका खर्सुु, सल्लाका डलेपडेका मुढामा उम्रने स्वादिलो र पौष्टिक च्याउ खान योग्य र विषालु भनी छुट्टाउने ज्ञान गुर्जाबासीले एक पुस्ताबाट अर्कोमा हस्तान्त्रण हुुुँदै आएको स्थानीय बताउँछन् ।

जिल्ला वन कार्यालयको तथ्यांक अनुसार जिल्लाको जंगलबाट उत्पादन हुने ३० क्वीन्टल रातो च्याउमध्यै २० क्वीन्टल गुर्जाबाट मात्र हुन्छ । गुर्जाबाट साधारण (रातो र खुत्ते) च्याउ जिल्ला बाहिर निकासी गर्न यस वर्ष ८ क्वीन्टलको संकलन पुर्जी जारी भएको छ । वन कार्यालयले जिल्लाभित्र खपत हुने च्याउको संकलन र छोडपुुर्जी दिने गरेको छैन । त्यसैले व्यापारीहरु थोरै मात्रामा पुर्जी लिएर धेरै परीणाममा निकासी गर्ने गरेको बताइन्छ ।

गुर्जाको रुखाचौर, इङ्ले, खोलाखर्क, लगवाङ, ताम्जा, फेसताङ लगायतका जंगलमा रातो, गुच्ची र खुत्ते च्याउ पाइन्छ । यार्चागुम्बु भने चुरेन, पुथा, गुर्जा र धौलागिरी हिमाल फेदीका बुक्यान क्षेत्रमा पाइन्छ ।

गुर्जाको जंगलमा यार्चागुम्बु, रातो, गुच्ची र खुत्ले जातका च्याउ व्यापारिक प्रयोजनमा संकलन गरिन्छ ।

छन्त्यालका अनुसार गुर्जामा अघिल्लो वर्ष यार्चागुम्बु प्रतिकेजी ५ लाख, गुची च्याउको प्रतिकेजी २० हजार, खुत्के च्याउको ८ हजार र रातो च्याउको १ हजार ५ सयमा बिक्री भएको थियो । यार्चागुम्बु, रातो, गुची, खुत्के च्याउ बाहेक गुर्जाबाट कटुकी, पदमचाल, पाँच औले, सिलाजित, विष, सतुवा समेत ३ दर्जनबढी जडिबुटी निर्यात गरी वार्षिक सरदर ८० लाखबढी भित्रिने गरेको तथ्यांक छ । यार्चागुम्बु र खुत्के च्याउ चीन निर्यात हुन्छ, भने गुची च्याउको माग दक्षिण भारतमा बढी छ । रातो च्याउको मुख्य बजार बेनी, पोखरा र काठमाडांैमा बिक्री हुन्छ ।

सुकाएको रातो च्याउ गाउँमै प्रतिकेजी १२ सयमा खरिद गरी वेनीमा १६ सय, पोखरा २ हजार र काठमाडौं पुर्याएर २२ सयमा बिक्री हुन्छ । खुत्ते च्याउ वार्षिक २५–३० केजी उत्पादन हुन्छ, जंगलमै ६ हजार प्रतिकेजीमा खरिद गरी काठमाडांै पु¥याएर ८ हजारमा र गुच्ची च्याउ जंगलमा २० हजारमा संकलन गरी २५ हजारमा बेच्ने गरेको ब्यापारी छन्त्यालले बताए । उनका अनुसार गुर्जाको जंगलमा गुच्ची च्याउ वार्षिक ४–५ केजीसम्म संकलन हुन्छ । गुर्जाका प्रायः व्यक्ति जडिबुटी व्यापारमा संलग्न भै कम्तीमा २५ देखि २ लाखबढीसम्म कमाउँछन । गुच्ची च्याउको राजश्व मात्र प्रतिकेजी ३ सय रुपैयाँ छ ।

च्याउमा भिटामिन ए, बी, सी, खनिज र क्याल्सियमसहित प्रोटिन पनि पाइन्छ ।

सहायक वन अधिकृत राजकुुमार ठाकुर म्याग्दीको रातो च्याउ कोसेलीको रुपमा आफन्तलाई पठाउने प्रचलन रहेको सुनाउछन् ।

म्याग्दीका लेकाली वस्तीका कृषकले जंगली च्याउ संकलन आम्दानी गर्छन भने वेशींका कृषकहरुले घरमै वा प्लाष्टिक टनेल बनाएर च्याउ खेती गर्न थालेका छन् । कृषि कार्यालयका अनुसार जिल्लामा च्याउको वार्षिक उत्पादन १७ मेट्रिक टन छ ।

अन्नपूर्ण गाउँपालिका, ८ नागी स्थित सिताके च्याउ उत्पादन समूूहकी अध्यक्ष टकमाया तिलिजा च्या खेतीबाट गत वर्ष १ लाख बचत भएको र यो वर्ष पनि च्याउ खेती गरिएको बताउँछिन् ।

हिमालमुनीका खोंचका घना जंगलभित्र लुकेको वस्ती गुर्जा भौगोलिक रुपमा विकट भएपनि खाद्यान्न उत्पादनमा आत्मनिर्भर छ । सानो तर, समथर हिमाली उपत्यका गुर्जा पुग्न कठिन भएपनि पुगेपछि भने मनोमोहक छ । धान खेती नभएपनि गुर्जावासीले आलु ताकममा ल्याएर चामल वा नगद नै बिक्री गर्ने गरेका छन् । गुर्जाबासीको अर्को आम्दानीको स्रोत भेडा÷बाख्रा हो । पशु सेवा कार्यालयले गुर्जालाई भेडाको पकेट क्षेत्र घोषणा गरेको छ । गुर्जामा रहेका २५–३० भेडा गोठमा कम्तीमा १० हजार भेडाबाख्रा रहेको पशुु कार्यालयको तथ्यांक छ ।

तर, पछिल्लो समय यहाँका स्थानीय वैदेशिक रोजगारीमा जान थालेपछि खेती तथा पशुपालन व्यवसायमा असर परेको स्थानीय बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार