Thursday, October 24, 2024

चीन जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडक सेनाद्वारा हस्तान्तरण

काठमाडौं– नेपाली सेनाले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने १७ किलोमिटर मैलुङ–स्याफ्रुबेंसी सडक हस्तान्तरण गरेको छ।

स्याफ्रुमा आइतबार आयोजित कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले सडकको उद्घाटन गरे। मन्त्री पोखरेलले सडक सम्पन्न गरेकोमा मैलुङ-स्याफ्रुबेशी सडक निर्माण कार्यदल र कालीजंग गणलाई सम्मान स्वरुप कदरपत्र समेत प्रदान गरेका थिए।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख सुबोध देवकोटालाई निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गरे।

सुरुवातमा सेनालाई ७ किलोमिटर ‘सिङ्गल लेन’ को सडक निर्माणको जिम्मेवारी दिइएकोमा १२ वैशाख २०७२ भूकम्पपछि १० किलोमिटर थप गरी १७ किलोमिटरको डबल लेन सडक निर्माण थालिएको थियो। नेपाली सेनाका अनुसार सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको नेपाली सेनाले जनाएको छ।

हाल निर्माण भएको मैलुङ-स्याफ्रुबेशी सडक खण्डको दुरी बेत्रावती-धुन्चे-स्याफ्रुबेशी सडकखण्ड भन्दा करीब २५ किलोमिटर कम छ। जसले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनुको साथै उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्छ।

सडकखण्डमा घुम्ती नहुनुका साथै ग्रेडिएन्ट समेत मिलेकाले तुलानात्मक रुपमा बेत्रावती-धुन्चे-स्याफ्रुबेशी सडकखण्ड भन्दा सजिलो र सुरक्षित रहेको नेपाली सेनाले विज्ञप्तिमार्फत् दाबी गरेको छ ।

९ माघ २०७१ मा तत्कालीन अर्थमन्त्री रामशरण महतले शिलान्यास गरेको मैलुङ–स्याफ्रुबेंसी सडक नेपाली सेनाले १ वैशाख २०७२ बाट निर्माण थालेको थियो।

तस्बिर सौजन्य : नेपाली सेना

 

ताजा समाचार

सम्बन्धित समाचार