काठमाडौं–बागमती सफाइ महाभियानको ५ वर्ष अर्थात् २ सय ६२ औं साता शनिबार पूरा भयो। महाभियानको १ हजार ८ सय २५ दिनको अवधिमा करीब ८ लाख नागरिक सहभागी भए, बागमती र सहायक नदीबाट १८ हजार मेट्रिक टन फोहर निकालियो।
लगभग बग्न नै बन्द भएको बागमतीको पानी अहिले केही बग्न थालेको छ। तर, बामतीको पानीमा ढल मिसाउने क्रम अझै रोकिएको छैन, किनारमा जाँदा नाक थुन्नुपर्ने बाध्यता कायमै छ।
बागमती सफाइ महाभियानका अभियन्ता डा. राजु अधिकारी भन्छन्, ‘बागमतीलाई स्वच्छ रूपमा बग्ने स्थितिमा पुर्याउन सबैको मन र भावबाटै सोचमा परिवर्तन आउन जरूरी छ। फोहर फ्याँक्नु हुँदैन भन्ने चेतना नभएको होइन, सोचमा परिवर्तन नभएको हो।’
‘बागमतीको पानी प्रदूषित हुँदा कतिपय जातका माछा बाच्न सक्दैनन् नै सिंचाइको लागि समेत उपयुक्त छैन’
तत्कालीन मुख्यसचिव (हाल चीनका लागि नेपाली राजदूत) लिलामणि पौड्यालको नेतृत्वमा ५ जेठ २०७० मा बागमती सफाइ महाभियानको सुरुवात भएको थियो। त्यसको सुरुवात तीलगंगा अस्पतालदेखि आधा किलोमिटर तल २० मिटर चौडाइ र १ सय मिटर लम्बाइको नमूना बगैंचा बनाएर सुरु गरिएको थियो।
अभियानमा नेपाल सरकार, विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्था मात्र जोडिएनन् महाभियानलाई ‘रोलमोडल’ मान्दै मुलुकका ४५ बढी स्थानमा अभियान थालिएको छ। हाल विष्णुमती, रुद्रमती, नख्खु हनुमन्ते लगायतका नदीको सफाइ अभियान पनि भइरहेको छ।
बागमती एकीकृत सभ्यता समितिका सदस्य सचिव आशिष घिमिरे पनि बागमतीमा फोहरको समस्या ढल मुख्य कारण रहेको बताउँछन्। उनी भन्छन्, ‘बागमतीमा फोहरका फोका फ्याँक्ने क्रम रोकिएको छ। तर, ढल व्यवस्थित नगरिँदा नदीमै बगाइन्छ।’तर, बागमती सफाइ महाभियान सुस्ताउन थालेको हो कि भन्ने भान हुन थालेको कतिपय टिप्पणी गर्छन। अभियन्ता रामशरण कार्की सरकारी निकायसँगको समन्वयको कमीले एउटाले सफा गरिरहने, अर्कोले ढल मिसाइरहने भइरहेको बताउँछन। उनी भन्छन्, ‘सफा गर्यो, फोहर फाल्ने अनि बगैंचा बनायो त्यही माथिबाट बाटो, ढल बनाउने भन्दै खन्दै हिँडेपछि कसरी काम गर्न सकिन्छ?’
सफाइ अभियान पशुपती, गुह्येश्वरीसहित तल्लो तटीय क्षेत्रमा हुने गरेको छ। बागमतीको मुहान सुन्दरीजल, गोकर्ण क्षेत्रमा पनि फोहर बढिरहेका बेला सदस्य सचिव घिमिरे ‘समिति मुहानबाटै सफा गर्ने अभियानमा लागेको’ बताउँछन्। उनी भन्छन्, ‘विष्णुमती, रूद्रमती, धोवीखोला, हनुमन्ते लगायतका नदीको पनि सफाइ आवश्यक छ।’
विभिन्न अध्ययन अनुसार बागमतीको पानी प्रदूषित हुँदा कतिपय जातका माछा बाच्न सक्दैनन्, भने सिंचाइको लागि समेत उपयुक्त छैन ।
‘सर्वोच्चले बागमती नदीको पानीमा रहेको प्रदूषण हटाउन र सफाइ कायम राख्न आदेश दिएको थियो’
अभियन्ता डा. अधिकारी अबको मुख्य चुनौती बागमतीले चर्चेकोे जग्गामा भएको अतिक्रमण हटाउनु र ढलको व्यवस्थापनलाई लिन्छन्। उनी भन्छन्, ‘अतिक्रमण गरेर नदीका दुबैतिर बसेका छन्। वर्षाैदेखि बसेकालाई व्यवस्थापन गरेर अतिक्रमण हटाउन राजनीतिक प्रतिवद्धताको कमी देखिन्छ।’ कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोरको व्यवस्थापन सहरभित्रै गर्न सके बागमतीमा फ्याँक्ने क्रम घट्ने उनको विश्वास छ।
अधिवक्ता प्रकाशमणि शर्माले २०६७ मा दायर गरेको रिटमा ११ फागुन २०७० मा सर्वाेच्च अदालतले बागमती नदीको पानीमा रहेको प्रदूषण हटाउन र सफाइ कायम राख्न आदेश दिएको थियो। साथै सर्वाेच्चले चौमासिक रुपमा एकीकृत प्रगति प्रतिवेदन पेश गर्ने व्यवस्था गर्न महान्यायाधिवक्ताको कार्यालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएपनि कार्यान्वयन हुन सकेको छैन।
कुनै बेला बागमती र त्यसका सहायक नदीमा सङ्लो पानी सलल बग्थ्यो। तर, उपत्यकाका उद्योग, अस्पताल, सहरबासी सबैले बागमती प्रदूषण गरिरहेका छन्।
अभियन्ता कुल भट्टराई ढल व्यवस्थापनमा सरकारीस्तरबाट पहल नहुँदा महाभियानमा धक्का लागेको महसुस गर्छन। उनी भन्छन्, ‘हामी सफाइ अभियानमा छौं। यो निरन्तर रहन्छ। तर, नदीमा सोझै ढल मिसाइन्छ। कसले रोक्ने?’
सफाइ अभियान अन्तर्गत २०७१ मा एक सयाँैं हप्ता पुगेको अवसरमा सुन्दरीजलदेखि चोभारसम्म करिब एकलाख मानिसको सहभागितामा मानव साङ्लो अभियान सफल पारिएको थियो।
सुस्त एकीकृत विकास समिति
थुन्से र बेल्चा बोकेर बागमती सफाइ महाभियान सुरु भयो, २०७० मा। तर, सरकारले त्यसघि नै २०५१ सालमा गठन गरेको पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समितिको ‘नाम फेरिएर’ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा परीणत हुँदा पनि काम सुस्त नै छ।
तत्कालीन सरकारले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समितिलाई अर्काे वर्ष नाम परिवर्तन गरेर अधिकारसम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति बनायो।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै बागमती सफाइको विषयले पनि चर्चा पायो। सरकारले २०६४ मा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनायो।
उक्त समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत हुन्। उनले ११ औं अध्यक्षका रुपमा बागमती सभ्यता एकीकृत विकास समितिको नेतृत्व सम्हाल्दा पनि अपेक्षाअनुरुप काम हुन सकेको छैन।
बागमती किनारामा बगैचा बनाउने र ढल व्यवस्थापनको काम भइरहेको बताउने बस्नेत भन्छन्, ‘अब अभियानमा असर नपर्ने गरी काम हुन्छ।’ उनका अनुसार रुद्रमतीमा गोपीकृष्णसम्म ढल बिच्छ्याइएको छ, भने थप ३ किलोमिटरमा ढल बिछ्याउने काम भइरहेको छ। नख्खु र हनुमन्तेमा ढल बिछ्याउन टेण्डर आह्वान भइसकेको र विष्णुमतीमा चरणवद्ध रुपमा काम भइरहेकोे उनले बताए।
‘महाभियान जीवन्त’
बागमती सफाइ महाभियानको २६२औँ हप्तामा शनिबार शंखमूल क्षेत्रमा सफाइ गरी ७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।
महाभियान ५ वर्ष पुगेको अवसरमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा शनिबार बागमती र मनोहराको संगमस्थल शंखमुलमा १ हजार ८ सय २५ दीप प्रज्वलन पनि गरियो।
महाभियान अब कसरी अगाडि बढ्छ? अभिन्यता डा.अधिकारी भन्छन्, ‘यो स्वस्फूर्त अभियान हो। सामाजिक संस्था होइन। जुन ठाउँमा समस्या छ, त्यहाँ सर्दै जाने अभियान हो। जीवन्त रहन्छ।’
बागमती बचाऊ अभियन्ता हुतराम वैद्य जीवनभर बागमती बचाऊ अभियानमा लागेका थिए। उनको निधन ९४ वर्षको उमेरमा २०७० सालमा भएको थियो।
तस्बिरहरू : अमिष रेग्मी