Sunday, September 22, 2024

जुलाई २९ मा बाघको संख्या सार्वजनिक गरिँदै : पूरा हुँदै दोब्बर पार्ने लक्ष्य

तस्बिर स्राेत : राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग।

काठमाडौं– नेपालमा रहेका बाघको संख्या छिट्टै सार्वजनिक गरिने भएको छ। विश्व बाघ संरक्षण दिवसको अवसरमा आगामी जुलाइ २९ मा सो संख्या सार्वजनिक गरिने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा भइरहेको गणनाको पछिल्लो संख्या सार्वजनिक गर्ने तयारी भैरहेको विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलले जानकारी दिए। ‘बाघ पाइने विभिन्न निकुञ्जबाट आएको डाटाहरुको अन्तिम विश्लेषण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘विभिन्न निकायका विज्ञहरुको सहभागीतामा यसको विश्लेषण भइरहेको छ ।’

विज्ञ समूहमा विभागका इकोलोजिष्ट , नेपाल राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी,डब्लुडब्लुएफ नेपालका शिवराज भट्ट र कञ्चना थापा,जेडएसएलका भगवान दाहाल लगायतका विज्ञहरु रहेका छन्। नेपालका चितवन राष्ट्रिय निकुन्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ।

सन् २०१३ मा सार्वजनिक भएको तथ्यांक अनुसार नेपालमा १ सय ९८ वटा बाघ रहेको छ। चितवन राष्ट्रिय निकुन्जमा मात्र १ सय २० बटा बाघ रहेका छन्। यसैगरी पर्सामा ७, बाँकेमा ४, बर्दियामा ५०, शुक्लाफाँटा आपसमा १७ वटा बाघ रहेको तथ्यांक छ । सन् २०१० मा १ सय २१ वटा बाघ रहेको थियो ।

दोब्बर पार्ने लक्ष्य नजिक
नेपाल बाघको संख्या दोब्बर पार्ने लक्ष्य नजिक पुगेको छ। सन् २०२२ सम्ममा २ सय ५० को संख्यामा बाघ पुर्याउने लक्ष्य नजिक पुगेको नेपालमा करीब २ सय ३५ भन्दा बढी बाघ रहेको अनुमान गरिएको छ।

विभिन्न निकुञ्जहरुले दिएको उनीहरुको आन्तरिक गणना अनुसार बाघको दोब्बर पार्ने लक्ष्य पुर्याउन नेपाल सफल हुने देखिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीदेखि लिएर अरु साझेदार संस्थाका विज्ञ पनि बाघ दोब्बर हुनेमा लगभग ढुक्क छन्। सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको सहमति अनुसार नेपालले बाघको संख्या दोब्बर पार्ने लक्ष्य राखेको थियो।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सरकारका पालामा सो लक्ष्य लिइएको हो। सन् २०१० मा १ सय २१ वटा बाघ रहेको थियो। लक्ष्य अनुसार २ सय ५० वटा बाघ पुर्याउने छ। सन् २०१६ को विभिन्न निकुञ्जको तथ्यांक अनुसार पर्सामा १९, शुक्लाफाँटामा १७, बर्दियामा ६२ र बाँकेमा १३ वटा बाघ छन्। चितवनमा बाघ बढेको अनुमान गरिएपनि त्यहाँ अघिल्लो वर्ष कुनै आन्तरिक गणना भने भएको छैन। चितवनको १ सय २० संख्या जोड्दा २ सय ३१ भन्दा बढी बाघ देखिएको छ ।

चितवनको क्षेत्रफल ठूलो भएको र बाघको संख्या पनि धेरै भएकाले त्यसरी गणना गर्न नसकिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए। ‘त्यहाँ खिचेका तस्बिर र द्धन्द्धका अवस्था हेर्दा पक्के पनि बाघ बढेको अनुमान छ, उनले भने ‘बफर जोनमा पनि बाघ देखिएको छ, बाघहरु जुधिरहेका दृश्य कैद भएका छन् र वरपरका स्थानमा बाघले मान्छेलाई आक्रमण गरेको घटना पनि देखिएको छ । ’

पर्सा राष्ट्रिय निकुञ्जका चिफ वार्डेन हरिभद्र आचार्यका अनुसार पर्सामा बाघको संख्या बढेको अनुमान गरिएको छ । उनका अनुसार सन् २०१६ मा गरेको आन्तरिक गणनामा १३ वटा बाघ भेटिएको छ । पर्सा र चितवनका सिमाना जोडिएको छ । त्यसैगरी शुक्लाफाँटाका निमित्त चिफ वार्डेन गोपाल घिमीरेका अनुसार त्यहाँ १७ वटा बाघ रहेको अनुमान छ ।

‘सन् २०१३ मा यहाँ गणना भएको जत्ति नै बाघ अघिल्लो वर्ष रहेको अनुमान छ’, उनले भने, ‘क्यामेरा ट्रयापीङ लगायतका कुरा बाट आएको तथ्यांक अनुसार बाघ बढेको हुनसक्छ । ’

यस्तै बर्दियामा दोब्बर पार्ने लक्ष्य लिँदा ३७ रहेको संख्या अहिले आएर ६२ को हाराहारीमा रहेको अनुमान गरिएको छ । वार्डेन मनोज साहका अनुसार सन् २०१६ मा गरिएको आन्तरिक गणनामा यहाँ ६२ वटा बाघ रहेको अनुमान गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा जति नै १३ वटा बाघ रहेको आन्तरिक गणनामा देखिएको त्यहाँका बार्डेन दिल पुनले जानकारी दिए । ‘अघिल्लो वर्षको हाम्रो गणनामा स्थीर देखियो तर हामीले यहाँ बाघ बढेको अनुमान गरेका छौ’ ,उनले भने ।

सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको सम्मेलनले बाघ संरक्षणमा जोडदिदै आउने सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य तय गरेको थियो ।

विश्वमा ६ प्रजातीका बाघ
विश्वमा ६ प्रजातीका बाघ पाइने भएपनि पाटे बाघ धेरै मात्रा पाइएको छ । बाघका अन्य प्रजातीहरु अमुर , इन्डो चाइनिज, मलायन , बेङ्गाल , सुमात्रन रहेका छन् ।बाघ वातावरण संरक्षणको सुचक हो । बाघ रहे वनजंगल , तराई चुरे र जलाधार पनि संरक्षण हुने विज्ञहरुको भनाई छ ।

१३ देशमा बाघ
विश्वका १३ देशमा मात्र बाघ पाइने विज्ञहरुले बताएका छन् । एसियामा भारत , बंगलादेश , थाइल्याण्ड , इन्डोनेसिया , नेपाल, भुटान, लाओस्, म्यानमार, उत्तर कोरिया लगायतका देशमा बाघ पाइन्छ । विश्वमा सबैभन्दा धेरै भारतमा बाघ पाइन्छ भने उत्तर कोरियामा बाघ पाइएपनि त्यहाँ गणना भएको छैन । १ सय वर्ष अघि १ लाखको हाराहारीमा रहेको बाघको संख्या विभिन् कारणले सो संख्या घटेर ३ हजारको हाराहारीमा पुगेको सम्बन्धित विज्ञहरुको भनाइ छ ।

बाघ बढ्दाको चुनौती
राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्धि भएसंगै चुनौती पनि उत्तिकै थपिदै गएको विज्ञहरु वताउँछन् । बाघको संख्या बढ्दै गयो भने बाघ वन क्षेत्रबाट बाहिर जानसक्ने चुनौती पनि उत्तिकै बढ्ने बाघविज्ञ डा चिरन्जीविप्रसाद पोखरेल बताउँछन्। ‘बढेको बाघको संख्यालाई हामी कत्तिको थेग्न सक्छौँ ’ उनले भने, ‘यदि हामीले वासस्थान सुधारको क्रियाकलाप गर्न सकेनौं भने बाघलगायत अरू बन्यजन्तुको संख्या घट्ने सम्भावना पनि उत्तिकै रहनेछ । ’

बाघ गणनामा हात्तीको प्रयोग
३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गरेको हो। जसमा चितवन १५वटा हात्ती, पर्सा र शुक्लाफाँटामा ७–७ वटा हात्तीको प्रयोग गरिएको छ भने बाँके र बर्दिया ४–४ वटा हात्तीको प्रयोग गरिएको विभागले जनाएको छ ।

गणनाको विधि
बाघ गणनाका लागि एक हजार ८ सय ८७ ग्रिड बनाई एक हजार २०० क्यामरा ट्रयापको प्रयोग गरिन्छ। यस्तै सन्टो कम्पास, रेन्ज फाइन्डर, जिपिएस, रेकर्डफमको समेत प्रयोग गरिएको विभागले जनाएको छ। बाघ गणनाका लागि डब्लुडब्लुएफ नेपाल र जेड एसएल नेपाल लगायतका संस्थाले आर्थिक सहयोग गरेका छन्।

विभागले बाघ गणनाका लागि ६६ दिनसम्म दैनिक २ सय ५० कर्मचारी र तीन करोड २० लाख खर्च हुने अनुमान गरेको छ। बाघ गणनाका लागि विभागले गणना गर्ने व्यक्तिलाई तालिमसमेत दिएको छ।

यसमा सदर चिडियाखानाको जोडिएको छैन। यसैगरी सन् २००८-०९ को गणनामा सुरुमा चितवन नजिकको चुरिया क्षेत्रलाई गणना नगरिएको र पछि गणना गर्दा त्यहाँ थप ३०–३५ वटा बाघ भएको अनुमान गरिएको तत्कालीन समयमा विभागका इकोलोजिष्ट रहेका हालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । उनका अनुसार गणनाका क्रममा देशभर १ सय ५५ वटासम्म बाघ आएपनि त्यत्तिबेला चुरीयाको गणना आधार नमान्ने भन्दै १ सय २१ बाघलाई सदर गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार