Monday, November 25, 2024

छतमै लटरम्म मुस्ताङे स्याउ

तस्बिर : चन्द्रमणि भट्टरार्इ।

काठमाडौं– घरको कौसी (छत) मा लहरै गमला छन्।  गमलामा मुस्ताङे स्याउ लटरम्म फलेको छ। आँप, लिची, नासपति, अनार, सुन्तला लगायतका फलफूलले भरिएका छन्।  तरकारीले कौसी नै हराभरा छ।

झट्ट सुन्दा कुनै खेत वा बारीमा लगाइएको तरकारी खेतीझैं लाग्ने यो खेती काठमाडौंको गल्कोपाखा, देवु टोलको धेवु मार्गमा रहेको, बद्रीनाथ गौलीले बद्री गौलीले घरको कौसीमा लगाएका हुन्।

गौली ५ वर्षदेखि आफ्नो ३ तले घरको छतमा फलफूलसँग मौसमी तथा बेमौसमी तरकारीको खेती गरिरहेका छन्। गौली भन्छन्, ‘कौसीको उपयोग गरेर अर्गानिक फलफूल फलाएको छु।’

उनले २०६९ मा कौसीमा रोपेको मुस्ताङे कलमी स्याउ १ वर्षमै फल्न थालेको थियो। अहिले गौलेको घर पुग्दा पनि स्याउका बोटमा लटरम्मै फल छन्। त्यो पनि पाकेका।

तस्बिर : चन्द्रमणि भट्टरार्इ।

२०६५ मा नेपाली सेनाबाट सेवा निवृत्त भएपछि घर बनाएका उनलाई लाग्यो ‘मुस्ताङमा फल्ने स्याउ यहाँ (काठमाडौं) पनि फल्छ होला।’ लगाएको अर्काे वर्षमै मुस्ताङे स्याउ काठमाडौंको छतमै फल्न थालेपछि अहिले उनले छतभर हरियाली बनाएका छन्। स्याउका बोट ५ वटा पुर्याएका छन्।

‘विषादी प्रयोग नभएको फलफूल बजारमा पाउनै मुस्किल भइसक्यो,’ उनी भन्छन्, ‘छतमै फलाएको अर्गानिक रसिला स्याउ खान क्या मज्जा।’

गौलीको कौसीमा फर्सी, करेला, रामतोरिया, सागपातजस्ता तरकारी मात्र फल्दैनन् अदुवा, घ्युकुमारी, पुदिनी, टिमुर पनि लगाएका छन्। लालीगुरास, गुलाब, लालुपता, रातोरानी, असारे, जापनिज असारे, पनि गौलीको घरको छतमा छन्।

रुखविरुवाविहीनझै देखिने काठमाडौंको घना बस्तीमा  गौलीको घरको कौशीमा मनमोहक वातावरण रहन्छ। उनी भन्छन्, ‘घरको छतमै बसेर स्वच्छ हावा लिन पाइन्छ। डाँडामा बसेको जस्तो लाग्छ।’

गौलीका छोराछोरी विदेशमा छन्, भने श्रीमतिको आफ्नै पेशा छ। तर, उनी बिहान, दिउँसो र बेलुका कोसीको रेखदेख, गोडमेलमै रहन्छन्। अवकाश प्राप्त जीवन कसरी बिताउँ भनेर चिन्ता पनि छैन। बोटविरुवामा कुखुराको मलसँगै घरको  फोहोर पनि मलको रुपमा प्रयोग गर्छन, उनी ।

तस्बिर : चन्द्रमणि भट्टरार्इ।

ताजा समाचार

सम्बन्धित समाचार