Saturday, September 21, 2024

गोदावरीमा बर्डफ्लू भेटिएपछि तीन महिनासम्म पंक्षी पाल्न रोक

काठमाडौं– बर्डफ्लू भेटिएपछि स्थानीय प्रशासनले ललितपुरको गोदावरी नगरपालिकाकाे गोदावरी र वडिखेल क्षेत्रमा तीन महिनासम्म कुखुरा लगायत पंक्षी पालनमा रोक लगाएको छ।

ती क्षेत्रमा रहेका चार वटा कुखुरा फार्ममा बर्डफ्लूको संक्रमण भएको पुष्टि भएपछि ‘बर्डफ्लू संकटग्रस्त क्षेत्र’ घोषणा गरेर तीन महिनासम्म पंक्षी पालनमा रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।बर्डफ्लू अन्यत्र पनि फैलन सक्ने जोखिम रहेको भन्दै ललितपुर प्रशासनले २५ जेठमा संक्रमण देखा परेको स्थानलाई केन्द्र विन्दु मानेर करीब ३ किलोमिटर टाढासम्म ३ महिनालाई कुखुरा लगायत अन्य पंक्षी नपाल्न भनेको हो।

जिल्ला पशु सेवा कार्यालय ललितपुरका वरिष्ठ पशु विकास अधिकृत डा. मोगलप्रसाद साहका अनुसार बर्डफ्लूको जीवाणु भेटिएको गोदावरीमा पूर्वमा गोदावरी जाने नयाँ बाटो, पश्चिममा ललित घुम्ती सडक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा डल्फिन स्कुलको पर्खालसम्मको स्थानलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

यसैगरी, बडिखेलमा पूर्वमा डेक्लेको डिल, पश्चिममा लेले जान बाटो, उत्तरमा हाबे जाने बाटो र दक्षिणमा ब्लक फ्याक्ट्रीसम्मको स्थानसम्म बर्डफ्लू संटग्रस्त क्षेत्र तोकिएको छ।  बर्डफ्लूको जीवाणु एच फाइभ एन वान् नामक भाइरसकेही दिन अघि गोदावरी र बडिखेल क्षेत्रका पशुपालकले पालेको ब्रोइलर र लोकल कुखुरामा देखिएको थियो । केही दिन पहिले काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नम्वर ६ लामावगर र धर्मस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको थियो।

पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र पशु सेवा कार्यालय ललितपुरबाट खटिएका संयुक्त टोलीले कुखुरा र हाँस गरेर ४ हजार ४ सय ८० वटा नष्ट गरिसकेको छ। टोलीले बडिखेल र गोदावरीमा गरेर ४ हजार ४ सय ८० वटा पन्छि नष्ट गरेको थियो। जसअनुसार बडिखेलमा ९ सय २० र गोदावरी महादेव डाँडामा ३ हजार ४ सय ४४ ब्रोइलर कुखुरा नष्ट गरेको कार्यालयले जनाएको छ।

यसैगरी बडिखेलमा ७५ वटा र गोदावरीमा ४१ वटा लोकल कुखुरा नष्ट गरेका हुन्  । महादेव डाँडामा ५ वटा हाँस पनि नष्ट गरिएको डा. साहले बताए। दुवै क्षेत्रमा गरेर १ हजार ९ सय ७२ केजी दाना पनि नष्ट गरिएको छ। बर्डफ्लूको भाइरस मानव स्वास्थ्यका लागि निकै खतरनाक भएकाले यसबाट जोगिन बर्डफ्लु संक्रमण भेटिएको ठाँउमा सकेसम्म नजान चिकित्सकहरुले सुझाव छ।

उनका अनुसार कुखुराको खोरको मलसँगको सम्पर्क र ओसारप्रसारमा प्रयोग गर्नाले पनि बर्डफ्लू सर्न सक्ने खतरा रहन्छ। बर्डफ्लू लागेमा फोक्सोमा संक्रमण हुने, ज्वरो आउने, छिनछिनमा वाकवाकी लाग्नेजस्ता लक्षण देखा पर्छन् । श्वासप्रश्वासमा कठिनाइ भई मृत्यु हुनेसमेत सम्भावना हुनसक्छ । पशु कार्यालयका अनुसार रोग लागेको फर्मका कृषकले ७५ प्रतिशत क्षतिपूर्ति पाउने ब्यवस्था छ।

कुखुरा फार्मको खोरमा प्रवेश गर्नुअघि छुट्टै पोसाक, जुत्ता, पन्जा, माक्स लगाउन पशु चिकित्सकले अनुरोध गरेका छन् । खोर वरपर चुना छकर्ने, बिरकोन औषधि प्रयोग गर्ने,कुखुराको प्रत्यक्ष सम्पर्कमा आएपछि साबुनपानीले हात धुने बानी बसाल्न पनि पशु चिकित्सकको सुझाव छ।

ताजा समाचार

सम्बन्धित समाचार