Wednesday, April 23, 2025

राष्ट्रिय सरसफाइ सप्ताह मनाइँदै, ‘९४ प्रतिशतमा आधारभूत सरसफाइको पहुँच’

काठमाडौं– १९औं राष्ट्रिय सरसफाइ सप्ताह मंगलबारदेखि सुरु भएको छ।

दीगो विकासको मुख्य आधार, स्वच्छ खानेपानी र सरसफाइयुक्त व्यवहार’ भन्ने नाराका साथ सरसफाई सप्ताह मनाइँदैछ।

सन् २००० देखि मनाउन थालेको सरसफाइ सप्ताह जिल्लाका स्थानीय तहमा सरसफाइ गरी मनाइन्छ। यसअघिका वर्षहरूमा केन्द्रलाई लक्षित गरी कार्यक्रम गर्ने गरिए पनि सन् २ हजार पछिका वर्षमा जिल्ला केन्द्रित कार्यक्रम हुन थालेका छन्। विश्व वातावरण दिवसका दिन सरसफाई सप्ताह सुरु भइ एक सातासम्म मनाइन्छ।

खानेपानी र सरसफाई क्षेत्रमा उपभोक्ताहरूको संलग्नताले गर्दा सरसफाइमा यो उपलब्धी हासिल भएको हो। अहिलेसम्ममा ७७ जिल्लामध्ये ५३ जिल्लाले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका छन्।

यसैगरी ललितपुर र रामेछाप लगायतका ९ जिल्लाले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको खानेपानी तथा ढल निकास विभागले जनाएको छ।

सन् २ हजार पछिका वर्षहरुमा सरकारसँगै सरोकारवाला निकाय संघसंस्थाहरु मिलेर अघि बढेकाले यो उपलब्धी हासिल भएको सरसफाई विज्ञहरुको ठम्याई छ ।

नेपालमा सन् १९९० मा ६ प्रतिशत सरसफाईको पहँुच थियो। सरकारले सन् २०१७ सम्म सबैमा खानेपानी र सरसफाईको पहँुच पुर्याउने लक्ष्य लिएपनि हासिल गर्न सकेन । हालै जारी आर्थिक सर्वेक्षण अनुसार ९४ प्रतिशतमा आधारभूत सरसफाइको पहुँच पुगेको छ।

सन् १९९० मा ४६ प्रतिशतमा खानेपानीको पहुँच पुगेको थियो। सन् २०१७ को अन्त्यमा ८७.९ प्रतिशतमा मात्र खानेपानीको पहुँच पुगेको खानेपानी मन्त्रालयको तथ्यांक छ। यद्यपी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अनुसार धारा रहेपनि पानी पुगेकोे छैन ।

खानेपानी तथा ढल निकास विभागका अनुसार अब ३ प्रतिशत परिवारमा आधारभूत स्तरको सरसफाइ पुग्न बाँकी छ।

सन् २०१७ को लक्ष्य हासिल गर्न नसकेपछि सरकारले फेरि सन् २०३० सम्म पूर्ण सरसफाईयुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य लिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार