काठमाडौं– देशका विभिन्न स्थानमा जडान गरिएका वायु गुणस्तर मापन केन्द्रका मेसिनको सुरक्षा चुनौती देखिएको छ।
त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा रहेको वायु गुणस्तर मापन केन्द्रका ब्याट्री चोरी भएको महिनौं वित्दा समेत प्रहरीले यथार्थ पत्ता लगाउन नसकेपछि सुरक्षा चुनौती थपिएको हो।
वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीका अनुसार गत दसैंमा कीर्तिपुरको भौतिकशास्त्र विभाग नजिकै रहेको केन्द्रबाट ४ वटा ब्याट्री चोरी भएका थिए। सरकारी अधिकारीहरूका अनुसार चोरी भएका प्रति ब्याट्रीको मूल्य १५ देखि २० हजार पर्छ । तर, ब्याट्री चोरी भएको ९ महिना हुँदा समेत विभागले वैकल्पिक व्यवस्था गर्न सकेको छैन।
दुवाडी नयाँ ब्याट्री राख्न पनि सरकारी झमेला रहेको बताउँछन्। ‘सुरक्षा र हेरचाहको जिम्मेवारी लिने मान्छे भएपनि हु्न्थ्यो,’ उनले भने, ‘त्यहाँ त्रिवि विश्व विद्यालयले पनि चाँसो दिनुपर्यो, अनि प्रहरीले पनि सुरक्षा चोरी भएका ब्याट्री खोज्न प्रहरीले प्रयास गरेपनि भेट्टाउन नसक्दा विभागले त्यहाँ सुरक्षाको कारण देखाउँदै नयाँ ब्याट्री हालेर मेसिन फेरी चलाउन सकेको छैन।’
प्रहरीले ब्याट्री खोजी भइरहेको भनेकाले नयाँ ब्याट्री हालेर काम गर्न झमेला छ, महानिर्देशक दुवाडीले भने, ‘सुरक्षाको ग्यारेन्टी लिने पनि भएनन्।’
नेपाल प्रहरीले भने आफ्नो सम्पत्तिको सुरक्षा आफैँ गर्न सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीले कीर्तिपुरमा ब्याट्री चोरी भएको निवेदन पनि ढिलो गरी दर्ता भएको बताए। उनका अनुसार प्रहरीले ब्याट्रीको खोजी गरिरहेको छ। ‘हामीले अनुसन्धान गरिरहेका छौं, प्रवक्ता क्षेत्रीले भने, ‘सबै ठाउँको पहिलो सुरक्षा दिने हामी होइनौं ।’
उनले सम्पत्तिको रक्षा गर्न स्वयं हकदारलाई आग्रह गरे। ‘सार्वजनिक सम्पत्ति सबै हामीले मात्र सुरक्षा दिने होइन, सुरुमा सम्पत्तिको सुरक्षा गर्नु त्यसको स्थापनाकर्ता र समाजको दायित्व हो,’ उनले भने, ‘प्रहरीलाई चोरी भइसकेपछि खबर गर्ने हो, त्यस्तै चोरी हुने खतरा भएमा हामीले सक्दो सहयोग गर्ने हो।’
मुलुकका विभिन्न स्थानमा जडान गरिएका १२ मध्ये ४ वटा वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू काम नै नलाग्ने भएका हुन् । पोखराका ३ केन्द्रका मेसिन र कीर्तिपुरको एउटा मेसिनले काम गर्न छोडेपछि वायुको गुणस्तरको मापदण्ड नै जाँच गर्न समस्या भइरहेको छ।
यसैगरी, पोखरास्थित गण्डकी बोर्डिङ स्कूल, जल मौसम विभाग र पोखरा विश्व विद्यालयमा रहेका मेसिनमा पनि समस्या आएको विभागका महानिर्देशक दुवाडीले जानकारी दिए। नेपालमा पोखरा र कीर्तिपुर बाहेक चितवन सौराहा, लुम्बीनी, पाटनको पुल्चोक इन्जिनियरिङ कलेज, काठमाडौं विश्वविद्यालय धुलिखेल, वीरेन्द्र सैनिक आवासिय विद्यालय भक्तपुर, रत्नपार्क, शंखपार्क, भैंसीपाटी आवास क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र छन्।
सबै मापन केन्द्रको वायु प्रदूषणका पीएम १० र पीएम २ दशमलव ५ स्टान्टर्ड मापन गर्ने गरेका छन्। जुन वायुको गुणस्तर हो। इसिमोडको सहयोमा स्थापित चितवन र रत्नपार्कका मेसिनले वायु गुणस्तरका सक्स, नक्स र ग्यासबारेमा डाटामा देखाउँछ ।