काठमाडौं–संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रपत्रिकाले बिहीबारको अंकमा पनि वन, वातावरण, वन्यजन्तु, जलस्रोतका विषयलाई प्राथमिकता दिएका छन्।
–कान्तिपुर दैनिक
कान्तिपुरले अनधिकृत डीप बोरिङ, जग्गा सम्याउने बहानामा माटो उत्खनन्, मापडण्ड मिचेर खोट संकलन गरेको लगायतका समाचार सम्प्रेषण गरेको छ।
‘अनधिकृत डीप बोरिङबारे छानबिन समिति’ शीर्षकमा ललितपुरको समाचार छापिएको छ। गोमति सामुदायिक वन अतिक्रमण गरी होटल मोनास्टरीले डीप बोरिङ गरेको घटनामा जिल्ला वन अधिकृत (डीएफओ) को संलग्नताबारे छानबिन हुने खबरमा उल्लेख छ। वन तथा वातावरण मन्त्रालयले वन विभागका उपसचिव प्रेमप्रसाद शर्मा र विभागकै कानुन अधिकृत हरिसिंह धामी सदस्य रहेको छानबिन समिति गठन गरेको हो।
ललितपुरका डीएफओ जयमंगलप्रसाद गुप्ताले होटल व्यवस्थापकसँग आर्थिक लाभ लिएर डीप बोरिङ गर्न मौखिक अनुमति दिएको भन्दै सो सामुदायिक वन उपभोक्ता समूहले छानबिनका लागि वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको ध्यानाकर्षण गराएको खबर कान्तिपुरमा उल्लेख छ।
जग्गा सम्याउने बहानामा माटो उत्खनन् भएको खबर पनि कान्तिपुरमा छ। शिल्पा कर्णले लेखेको समाचारमा सुन्दरीजल जाने बाटोबाट देब्रेतिर शिवपुरी राष्ट्रिय निकुञ्जको मुनितिर गोर्कणेश्वर नगरपालिकाका २–३ ठाउँमा डोजरले माटो खनिरहेको उल्लेख छ। जग्गा मिलाउने र सम्याउने बहानामा माटो ओसारीरहेको स्थानीयको भनाई छ। उनीहरूले जिला प्रशासन कार्यालयमा उजुरी समेत गरिसकेको समाचारमा उल्लेख छ।
यसैगरी, ‘मापदण्ड मिचेर खोटो’ शीर्षकमा सल्यानबाट विप्लव मर्हजनले कान्तिपुरमा समाचार लेखेका छन्। शारदानगरपालिका–११ पेदीखोलास्थित सामुदायिक वनमा मापदण्ड मिचेर खोटो निकाल्ने गरेको पाइएको छ। ३ फिटभन्दा कम गोलाइका रुखबाट खोटो निकाल्न नपाइने भए पनि निजी कम्पनीले मनपरी संकलन गरिरहेको पाइएको छ।
–नागरिक दैनिक
नागरिक दैनिकमा वायु प्रदूषण नियन्त्रण गर्न भारतले त्यागेका युरो–३ मापदण्डका सवारीसाधन भित्रिएको र काठ प्रशोधनका लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको समाचार छ।
‘नेपाल युरो–३ गाडीको डम्पिङ साइट’ शीर्षकमा नागरिक दैनिकमा बसन्त खड्काले समाचार लेखेका छन्। भारतले तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न १ अप्रिल २०१७ बाट युरो–३ मापदण्डका सवारीसाधन निषेध गरेपछि यस्ता सवारी साधन नेपाल भित्रने क्रम बढेको समाचारमा उल्लेख छ। भारतको सुप्रिम कोर्टले युरो– ३ मापदण्डका गाडी बिक्री तथा दर्तामा समेत रोक लगाएपछि त्यहाँ हाल यस्ता गाडीको उत्पादन पनि बन्द भएको छ। भारतले सन् २०२० देखि युरो–६ मापदण्ड लागू गर्ने तयारी गरेको नागरिकले लेखेको छ।
काठ प्रशोधनका लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको समाचार नागरिकमै छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको समाचारमा जनाइएको छ।
यसैगरी, महानगरपालिकाको कार्यालयसँगै जोडिएको सडकमा अस्तप्यस्त पार्किङले सवारीसाधन भरिने गरेको समाचार छ।
–अन्नपूर्ण पोस्ट
‘घर वरपर सफा नराखे ढोकामा बिल’ शीर्षकमा अन्नपूर्णमा समाचार छ। छेटु शेर्पाले लेखेको समाचारमा आफ्नो क्षेत्रको सरसफाइ आफैँले नगरे सरकारले त्यसलाई सफा गरेर घरघरम बिल लगेर रकम असुली गर्ने तयारी थालेको उल्लेख छ।
‘बाढीले बगायो बन्दै गरेको पुल’ शीर्षकमा ईश्वरकाजी खाइजूले लेखेका छन्। अन्नपूर्णका अनुसार हनुमन्ते खोलामा आएको बाढीले निर्माणाधिन पुलको संरचना बगाएको छ। थिमी नगरपालिका –४ र सूर्यविनायक नगरपालिका वडा नम्बर ३ र ४ जोड्ने निर्माणाधीन पुलको संरचना लगातार परेको वर्षाका कारण आएको बाढीले बगाएको समाचारमा उल्लेख छ।
यस्तै, काठ र गाडी नियन्त्रणमा, फुङलिङ ताप्लेजुङमा ठेकेदारको लापरबाहीले ठूला आयोजनाको काम लम्बिँदै गएको र चितुवाको आक्रमणबाट राजविराजमा एक जना घाइते भएको समाचार पनि अन्नपूर्णमा छ।
–नयाँ पत्रिका
नवलपरासीको कावासोती नगरपालिकाको पिठौलीमा अवस्थित जटायु रेस्टुरेन्टमा गिद्धको संख्या बढेको खबर नयाँ पत्रिकामा छ। ज्ञानु पंगेलीले ‘जटायु रेस्टुरेन्ट’ मा गिद्धको संख्या बढ्यो’ शीर्षकमा प्रकाशित समाचारमा रेस्टुरेन्ट स्थापनाकालमा ७२ वटा गिद्ध रहेकोमा अहिले झण्डै २ सय पुगिसकेको उल्लेख छ। विश्वमा २३ प्रजातीका गिद्ध रहेकोमा नेपालमा ८ प्रजाती यहाँ पाइन्छ।
मापदण्ड विपरीत रहेका र मानविय स्वास्थ्यमा असर पुर्याउने खालका पानी बिक्री गर्ने पाँच पानी उद्योगमा शिलबन्दी गरिएको खबर नयाँ पत्रिकामा छ। उक्त खबर अजित अधिकारीले लेखेका हुन्।
–राजधानी दैनिक
राजधानी दैनिकले ‘वरपरको वातावरण पनि सफा गरौँ’ भन्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सभामुख कृष्णबहादुर महराको भनाईलाई समाचार बनाएको छ। साताव्यापी वातावरण दिवसको सुरुवात र नेपाल स्वच्छ वातावरण महाभियान २०७५ सुरु भएको उल्लेख छ।
गत मंगलबार संसदमा प्रस्तुत भएको संघीय सरकारको बजेटमा वन तथा वातावरणको बजेट घटेको समाचार प्रकाशित छ। आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५८ करोड ७५ लाख छुट्याएको र भए पनि चालू आर्थिक वर्षमा वातावरण र वन दुई छुट्टाछुट्टै शीर्षकमा गरी करीब २३ अर्ब रुपैयाँ बजेट रहेको समाचारमा उल्लेख छ।
यसैगरी हनुमन्ते बाढीले निर्माणाधीन पुल बगाएको समाचार पनि राजधानीमा छ। त्यसैगरी रौतहटमा वृक्षारोपणका लागि विरुवाको अभाव हुने भएको समाचार पनि राजधानीमा छ।