Tuesday, April 22, 2025

नेपालको साढे ३३ हजार हेक्टर वन क्षेत्र घट्यो : अध्ययन

काठमाडौं– १६ वर्षको अवधिमा नेपालको साढे ३३ हजार हेक्टर वन क्षेत्र घटेको एक अध्ययनले देखाएको छ।

सरकारी तथ्यांकहरूले नेपालमा वन क्षेत्र बढेको  देखाइरहेका बेला  मे २९ २०१८ मा अन्तराष्ट्रिय जर्नल ‘पियरजे’ मा प्रकाशित एक अनुसन्धानले १६ वर्षको अवधिमा ३३ हजार ७ सय हेक्टर वन क्षेत्र घटेको देखाएको हो।

अमेरिका र अष्ट्रेलियाका दुई विश्वविद्यालयहरुमा कार्यरत दुई नेपालीसहित तीन अनुसन्धानकर्ताहरूले सन् २००१ देखि २०१६ सम्म १६ वर्षको वन तथ्यांकहरू विश्लेषण गरेर उक्त निश्कर्ष निकालेका हुन्।

अध्ययन अनुसार, संरक्षित क्षेत्र बाहेकका अन्य क्षेत्रहरूमा सन् २००० मा नेपालमा करिब ४७ लाख ४६ हजार हेक्टर वन क्षेत्र रहेकोमा १६ वर्षमा नेपालमा कुल ४६ हजार वन क्षेत्र विनाश भएको छ। सोही अवधिमा कुल १२ हजार ३ सय हेक्टर नयाँ वन क्षेत्र थपिएको छ। थपिएको नयाँ वनलाई कुल वन क्षेत्रमा कायम गर्दा बाँकी ३३ हजार ७ सय हेक्टर वन घटेको देखिन्छ।

क्षेत्रगत रुपमा विगत डेढ दशकमा सबैभन्दा बढी वन विनाश चुरे र तराई क्षेत्रमा भएको छ। चुरे र तराईमा क्रमश १३ हजार र १ हजार हेक्टर वन क्षेत्रको विनाश भएको छ। त्यसैगरी मध्यपहाडी भेगमा सबैभन्दा बढी वन क्षेत्र बढेको छ। कैलाली, दाङ, सर्लाही रौटहट र नवलपरासी जिल्लाले सबैभन्दा बढी वन क्षेत्र गुमाएका छन् भने तनहुँ र पाल्पा जिल्लामा सबैभन्दा धेरै वन क्षेत्र बढेको पाइएको छ।

वन तथा वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको ‘वन तथा वातावरण क्षेत्रको वर्तमान अवस्थाको स्थिति पत्र’ मा नेपालमा कुल ६६ लाख १० हजार हेक्टर वन क्षेत्र (संरक्षित क्षेत्रसहित) रहेको र उक्त वनमध्ये १ लाख हेक्टर अतिक्रमणमा परेको उल्लेख थियो।

अमेरिकी अन्तरिक्ष संस्था नासाको भूउपग्रह ल्याण्डस्याटबाट लिइएका लाखौं तस्वीरहरुलाई गुगल अर्थ इन्जीनले विश्लेषण गरेर विश्वभरका वनहरूको अवस्थाको तथ्यांक ल्गोवल फरेस्ट वाच नामक वेभसाइटमा सग्रंहित छ। उक्त अनुसन्धान ल्गोवल फरेस्ट वाचको सोहि तथ्यांकमा आधारित छ। यो किसिमको सम्पूर्ण नेपालको वन क्षेत्रको स्थानिक (स्पेसियल) र कालिक (टेम्पोरल) अवस्थाको यस्तो अध्ययन आफूहरुले पहिलो पटक गरेको उक्त लेखका प्रमुख अनुसन्धानकर्ता डा सुजाता श्रेष्ठले दावी गरिन ।

मध्यपहाडी भेगमा सबैभन्दा बढी वन क्षेत्र बढेको छ, भने सबैभन्दा बढी वन विनाश चुरे र तराई क्षेत्रमा भएको छ।

उक्त लेखका अर्का अनुसन्धानकर्ता डा उत्तमबाबु श्रेष्ठका अनुसार अध्ययनमा वन क्षेत्रको अवस्थामात्रै नभइ वन विनाशका १० विभिन्न सामाजिक, आर्थिक, भौगोलिक र नितिगत कारणहरु समेतको विश्लेषण गरिएको छ।

सामुदायिक वन समूह बढी रहेको जिल्लामा विनास पनि कम रहेको र थप नयाँ वन पनि सामुदायिक वन रहेको जिल्लामा बढेको उनले बताए। ‘त्यसकारण वन विनाश रोक्न र नयाँ वन हुर्काउन सामुदायिक वनहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । हाम्रो अध्ययनको अर्को प्रमुख निश्कर्ष यो पनि हो,’ श्रेष्ठले भने।

सुजाताका अनुसार वन विनाश र जोगाउन सामुदायिक वनको भूमिकासँगै जिल्लागत जनसंख्या, गरिब जनसंख्याको प्रतिशत, गाईवस्तुको संख्या, मानव विकास सूचांक, सडकको लम्वाई, वनमा लागेको आगोको संख्या, जिल्लामा वसाइसराइको अवस्था, जिल्लामा दाउरामा खाना पकाउने परिवार संख्यालाई पनि अध्ययनमा समेटिएको छ।

नेपाल सरकारले सन् २०१५ मा प्रकाशन गरेको नेपालको वनको अवस्थाको प्रतिवेदनले वन क्षेत्र बढेको वताइ रहँदा आफुहरुको अध्ययनले वन क्षेत्र घटेको देखाएको बताउँदै डा श्रेष्ठले भने, ‘भूउपग्रहको तस्विरलाई केलाएर वनको अवस्था पत्ता लगाउनु चुनौतीपूर्ण काम हो।’

वनको परिभाषा विभिन्न निकाय अनुसार र अध्ययन अनुसार नै फरक–फरक गरिएको हुन्छ। कुन क्षेत्रलाई वन भन्ने कुनलाई नभन्ने भन्नको लागि रुख छहारीले ओगटेको प्रतिशत, वन चक्लाको आकार र रुखको उचाई गरी तीन मापदन्ड अपनाइएको हुन्छ।

नेपाल सरकारले उक्त प्रतिवेदनमा अपनाएको मापदण्ड र आफूहरुको अध्ययनमा प्रयोग गरिएको मापदण्डमा थोरै फरक भएको स्वीकार्दे श्रेष्ठले भने, ‘दुई अध्ययनको नतिजामा केहि फरक त्यसले पनि पारेको हुनसक्छ।’

ताजा समाचार

सम्बन्धित समाचार