Friday, October 25, 2024

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत, ६ लाख रुख काटिने

काठमाडौं–बाराको निजगढमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय हुँदै आएको इआइए रिपोर्ट स्वीकृत भएको वन तथा वातावरण मन्त्रालय, वातावरण महाशाखा प्रमुख महेश्वर ढकालले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने इआइए रिपोर्ट स्वीकृत भएसँगै विमानस्थल निर्माणको बाटो खुुलेको बताउँछन्। ‘चार किल्लाभित्र रहेको रुख हटाउने तथा अन्य आवश्यक कामको बाटो खुुलेको छ,’ सहसचिव लामिछानेले हाकाहाकीसँग भने, ‘यद्यपी इआइएमा उल्लेख भए अनुसारका रुख हटाउनु पर्ने छैन।’

विमानस्थल निर्माण क्षेत्रमा पर्ने साना र ठूला गरी २४ लाख रुख कटान गर्ने भनिएकोमा ६ लाख वटा ठूूला रुख पर्ने भएपपछि इआइए स्वीकृत गराउनुु परेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौमा राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका निम्ति रुख कटान गर्ने तथा विमानस्थल निर्माण क्षेत्रमा चक्रपथ निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइसकेको छ।

विमानस्थल निर्माणको लागि रुख कटानको जिम्मा सेनालाई दिन मन्त्रिपरिषद्बाट निर्णय भएको थियो, २०७४ जेठमा ।

सेनाले दुई वर्ष भित्रमा सवै काम सम्पन्न गर्ने छ। जसको लागि सरकारले यसवर्ष मात्रै १ अर्व ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

कोरियन कम्पनी एलएमडब्ल्यूले २०६६ फागुनमा तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा आयोजनाको लागत ३५ अर्ब ५१ करोड लाग्ने उल्लेख छ। तर, लागत बढ्ने अनुुमान गरिएको छ।

सन् २०११ को अन्त्यबाट निर्माण सुरु गर्ने र सन् २०१५ मा सम्पन्न गर्ने विगतमा लक्ष्य राखिएको भए पनि सरकारी चासोका अभावमा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन। ल्यान्डमार्कले रिपोर्ट तयार गरे बापत नेपाल सरकारसँग ६७ करोड रकम मागेपछि बल्झिएको विवाद गत १९ चैतमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयस्तरीय निर्णय गर्दै रकम दिने सहमतिमा सल्टाएको थियो।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लम्बाई पूर्वपश्चिम राजमार्गतर्फ १० किलो मिटर र चौडाई ८ किलो मिटर गरी ८० स्क्वायर किलोमिटरमा बन्न लागेको हो । ४ हजार मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुने छ।

उक्त धावनमार्गमा हाल विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाज उडान र अवतरण गर्न सक्छन। निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहने बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार