नवीन लुईटेल
काठमाडौं– जैविक विविधता कायम राख्न मद्धत गर्ने साना स्तनधारी प्राणी संरक्षण र खोज अनुसन्धानको हिसाबले कम प्राथमिकतामा पर्ने गरेको पाइएको छ।
जैविक विविधता कायम राख्न ठूलोसँगै साना स्तनधारी प्राणीको पनि उत्तिकै भूमिका रहने संरक्षणकर्मी बताउँछन्। तर, कुल १ सय प्रतिशतमा ६० प्रतिशत साना स्तनधारी प्राणी रहेपनि संरक्षणमा खासै प्राथमिकतामा नपरेको उनीहरूको भनाइ छ।
साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका अनुसार कुल ६० प्रतिशत साना स्तनधारीमध्ये ९ प्रतिशत खतराको सूचीमा रहेका छन् भने बाँकी ४३ प्रतिशत सामान्य अवस्थामा रहेका छन्। फाउन्डेसनका अनुसार विश्वव्यापी रुपमा १ देखि २ केजीसम्मका स्तनधारी प्राणीलाई साना स्तनधारी भनेतापनि नेपालमा ५ केजी सम्मका स्तनधारी जनावरलाई साना स्तनधारीमा राखिएको छ।
करीब ४८ प्रतिशत साना स्तनधारीको तथ्यांक समेत नरहेको फाउन्डेसनका अनुसन्धानकर्ता हेम बहादुर कटुवाल बताउँछन्। ठूला वन्यजन्तुको संख्या समय समयमा अद्यावधिक हुने गरिए पनि साना स्तनधारी जनावर प्राथमिकतामा पर्न नसकेको उनको भनाई छ।
बाघ, भालु, चितुवा, गैंडा, हात्ती, अर्ना लगायत ठूला स्तनधारी प्राणीको तुलनामा साना स्तनधारी प्राणी प्राथमिकतामा नपर्नु दुखद पक्ष रहेको फाउण्डेसनकी अध्यक्ष तुलसी लक्ष्मी सुवाल बताउँछिन्। ‘ठूला जीवजन्तुको तुलनामा सानाको अध्ययन, अनुसन्धान भएको पाइँदैन,’ उनले भनिन्, ‘४८ प्रतिशत साना स्तनधारीको त तथ्यांक समेत छैन, जुन ढंगमा अध्ययन अनुसन्धान हुनुपर्ने हो त्यत्ति भएको पाइँदैन। ’
साना स्तनधारी प्राण्ीामा सालक, हाब्रे, चमेरा, खरायो, मुसा, छुचुन्द्रा, आसामी खरायो, न्याउरी मुसा, लोखर्के, विरालो, मलसाप्रो, दुम्सी, संगुरे भालु, पुड्के बदेंल, लघुकर्ण खरायो, हिमाली मुसा लगायत पर्छन्।
नेपालमा दुर्लभ प्राणी सालक, हाब्रे आदि पाइने गरेको अनुसन्धानकर्ता कटुवालले बताए। उनका अनुसार आइयुसीयनको अति संकटापन्न सूचीमा रहेको पुड्के बदेंल सन् १९७० देखि नेपालमा देखा परेको छैन। मध्यपहाडमा पाइने कालो सालक अति संकटापन्न छ भने तराईमा भेटिने तामे सालक संकटापन्न छ। सरकारी तथ्यांकअनुसार नेपालमा विभिन्न २ सय ८ प्रजातिका वन्यजन्तु फेला परेका छन्। गोर्खाली मुसा र सोर्वाको मुसाकाने चमेरो नेपालमा मात्रै फेला परेको विज्ञहरूको भनाई छ।
वासस्थानको विनास, वनजंगल फडानी, घाँसै मैदानको अतिक्रमण, चोरीशिकारका कारण साना स्तनधारी जनावरको संख्या घट्दै गएको अनुसन्धानकर्ता बताउँछन्। मानव र प्राणीबीचको द्वन्द्वका कारण पनि साना स्तनधारी प्राणीको अस्तित्व संकटमा परेको छ। ‘यी प्राणीले पारिस्थितिक प्रणाली र खाद्य चक्र सन्तुलनमा पनि अहम भूमिका खेलेका छन्,’ कटुवालले भने।
एसियाली मुलुकमा ५ सय ३२ प्रजातिका स्तनधारीजन्तु रहेको विज्ञहरूको ठहर छ। त्यसमध्ये करिब ६० प्रतिशत वन्यजन्तुको उपस्थिति दक्षिण एसियाली मुलुकमा रहेको अनुमान गरिएको छ।
नेपाल वन्यजन्तुको प्राकृतिक वासस्थान सम्पन्न भएको देश मानिए पनि फरक भौगोलिक विविधताका कारण पनि विस्तृत अध्ययन अनुसन्धान हुन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का बताउँछन्। ‘पक्कै पनि साना वन्यजन्तुबारे पर्याप्त अध्ययन हुन सकेको छैन, कति वन्यजन्तु त लोप हुने अवस्थामा पनि पुगेका हुन सक्छ,’ उनले भने, ‘अब ठूला वन्यजन्तुसँगसँगै साना प्रजातिबारेको अनुसन्धानमा प्राथमिकता दिनुपर्छ।’
यद्यपि सालक, रेडपाण्डा (हाब्रे), मलाहा बिरालोजस्ता प्रजातिबारे अध्ययन अनुसन्धान भइरहेको खड्काले बताए। जलवायु परिवर्तनले साना जन्तुको संख्या र बासस्थान प्रभावमा पारिरहेकाले त्यसबारेको अध्ययन अनुसन्धान अपरिहार्य रहेको उनको भनाइ छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ले संरक्षित सूचीमा सूचीकृत गरेका लोपोन्मुख जनावरको संख्या २७ छ। साना स्तनधारी जन्तुहरूमध्ये सालक तुलनात्मक रूपमा अझ बढी जोखिममा रहेको जन्तु हो।
कृषि, भूमि व्यवस्था तथा सहकारी सचिव डा युवकध्वज जिसीले जैविक विविधताको कुरा गर्दा साना प्राणी, कीट पतङ्गका ओझेलमा परेर आउने बताउँछन्। उनले केही दिन अघि ललितपुरमा आयोजित कार्यक्रमा ठूला प्राणीको संरक्षण बढी प्राथमिकतामा परेपनि साना प्राणी, कीट पतङ्गलाई विर्सन नहुने बताएका थिए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, केन्द्रीय प्राणीशास्त्र विभाग, यूएसएड÷डव्लू डव्लू एफ. हरियो वन कार्यक्रम, जेडएसएल–नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, रेड पाण्डा नेटवर्क, आयूसिएन नेपाल, डव्लूसिएन लगायतले साना स्तनधारी प्राणिको संरक्षण, खोज अनुसन्धानमा काम गरिरहेका छन्। यद्यपी, ती प्रयास पर्याप्त नभएको विज्ञहरूको भनाई छ।