काठमाडौं– बदलिदो परिवेश एवं सूचना, प्रविधिमा भएको तीव्र विकाससँगै एफएम, रेडियोलाई पनि मल्टिमिडियामा लैजानुपर्नेमा रेडियो अभियन्ताहरूले जोड दिएका छन्।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) द्वारा सञ्चालित रेडियो सगरमाथा २२औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो सगरमाथा कार्यसञ्चालन समितिका अध्यक्ष कुन्द दीक्षितले रेडियोमा पनि मल्टिमिडियाको प्रयोग गरिनुपर्नेमा जोड दिए। ‘अब इन्टरनेटबाट रेडियो चलाउने दिन सुरु भयो,’ उनले भने, ‘स्रोता भनेको २५ किलोमिटरसम्म बस्ने मात्र होइनन् अब संसारभरकै हुन्।’
उनले काठमाडौंमा अहिले देखिएका वायु प्रदूषण, बामतीको विनास, पानीको अभाव, धुलो र धुँवा, अव्यवस्थित सहरीकरण जस्ता समस्या २१ वर्ष पहिलादेखि नै नाजुक अवस्थामा रहेको बताए। ‘अहिलेसम्म पनि त्यस्ता समस्या समाधान हुनको साटो विकराल हुँदै गएको छ,’ उनले भने, ‘वातावरणसँग सम्बन्धी समाचार वातावरणको मात्र होइन, यो स्वास्थ्यसँग जोडिएको छ।’
रेडियो सगरमाथाको नयाँपन भनेकै वातावरणसँग सम्बन्धीत समाचार, सूचना सम्प्रेषण गरेर नागरिकमा सचेतना जगाउनु र नीति निर्मातालाई झकझक्याउनु रहेको उनले बताए। अध्यक्ष दीक्षितले स्थानीय सरकारले प्राकृतिक स्रोतको दोहन, प्रदूषण घटाउन भुमिका नखेलेकोे आरोप लगाए।
रेडियो सगरमाथाका स्टेसन म्यानेजर सहजमान श्रेष्ठले वातावरण र दीगो विकासका विषयलाई महत्वका साथ प्रशारण गरिँदै आएको बताए।
रेडियोका अग्रज अभियन्ता उपेन्द्र अर्यालले रेडियो सगरमाथा स्थापनाकालदेखि हालसम्मको संघर्षलाई स्मरण गरे। उनले रेडियो सगरमाथा स्थापना गर्दा धेरै चुनौतीको सामना गर्नुपरेको बताए।
राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले सामुदायिक रेडियो अन्य रेडियोको तुलनामा महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले रेडियो सगरमाथाले अरु रेडियो खोल्न प्रेरित गरेको बताए। वार्षिकोत्वमा शुभकामना दिँदै अध्यक्ष खतिवडाले सामुदायिक रेडियो ग्रामीण क्षेत्रहरूमा समेत स्थापना गर्दै जानुपर्नेमा जोड दिए।
रेडियो अभियन्ता मधु आचार्यले उपयोगी एवं उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्न सके रेडियोको लोकप्रियतामा कमी नआउने बताइन्।आचार्यले पनि बदलिदो परिवेशसँग एफएम, रेडियाले पनि प्रविधिको उपयोग गरेर जानुपर्ने बताए।
रेडियो सगरमाथाका संस्थापक अध्यक्ष भारतदत्त कोइरालाले रेडियो सगरमाथा स्थापना गर्न धेरै संघर्ष गर्नुपरेको स्मरण गरे।
त्यसैगरी नेपाल वातावरण पत्रकार समूहका महासचिव रमेश भुसालले रेडियोले सही सूचना सम्प्रेषण गरेको छ भनेर स्रोतालाई महसुस गराउनुपर्ने बताए।
कार्यक्रममा शैली थीएटरका नारायण न्यौपाने र विद्यार्थी सिकुमा राईले युवाहरूलाई कस्तो कार्यक्रम मन पर्छ, कस्ता कार्यक्रम उत्पादन गर्न र कसरी जान सकिन्छ भनेर आफ्नो प्रस्तुती राखेका थिए।