चितवन– अति संकटापन्न जनावर सालकको गणना सम्पन्न भएको छ।
दुर्लभ स्तनधारी जनावरको संरक्षण गर्ने उद्देश्यले चितवन, गोरखा र मकवानपुरका १६ वटा समुदायिक वनमा सालक गणना गरिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७४ फागुन ९ गतेदेखि सालकको गणना शुरु गरेको थियो। चितवनका पाँच, गोरखाका चार र मकवानपुरका सातवटा सामुदायिक वनमा सालकको गणना गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टरार्ईले लजालु स्वभाव रहेको जनावर सालकको अवस्था पत्ता लगाई संरक्षण क्षेत्र बनाउने उद्देश्यले सालकको गणना गरिएको बताए। चितवनको कंकाली सामुदायिक वनबाट शुरु गरिएको गणना सकिएको भए पनि तथ्यांक संकलन गरी असार १५ सम्ममा सार्वजानिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
विश्वमा आठवटा प्रजातिका सालक रहेका छन्। नेपालमा कालो र तामे सालक मात्रै पाइएको तथ्यांक छ । सालक संरक्षण अभियानमा सबै सरोकारवालाको सहयोग आवश्यक रहने बताउँदै उनले गणनापश्चात् सालकको संरक्षणमा थप सहयोग पुग्ने बिश्वास व्यक्त गरे।
जिल्ला वन कार्यालयका प्रमुख केदार पौडेलका अनुसार समुन्द्री सतहदेखि ६०० मिटरदेखि एक हजार ५०० मिटर उचाइसम्म सालक पाइन्छ।
यसको संरक्षण आवश्यक रहेको र संकलन संकलन गर्नु अपरिहार्य छ। हरेक वन क्षेत्रमा क्यामेरा जडान गरी एक हप्ताको समय लगाएर सालक गणना गरिएको हो। क्यामेरा ट्रापिङ विधिबाट अध्ययन भएको र हरेक वनमा प्राविधिकसहित १० जनाको टोली खटिएको थियो।
स्तनधारी जनावर सालकको मासु र खपटा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखेको छ।
यो ऐनको दफा, २६ को उपदफा, २ मा सालक मारेमा वा यसको अंगको व्यापार गरेमा रु ४० हजारदेखि रु ७५ हजार जरिवाना तथा एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। रासस