काठमाडौं–दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ ले बुधबार आफ्नो प्रसारणको २१ वर्ष पूरा गरेको छ।
बिस २०५२ सालबाटै परीक्षण प्रसारण सुरु गरी २०५४ साल जेठ ९ गतेबाट बिधिवत रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा औपचारिक रुपमा नियमित प्रसारण शुरु गरेको रेडियो सगरमाथा २२औं प्रवेश गरेको हो।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) द्वारा सञ्चालित रेडियो सगरमाथा २२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। रेडियो सगरमाथामा सूचनामुलक, जानकारीमुलक तथा मनोरन्जनात्मक कार्यक्रम तथा समाचार प्रशारण भैरहेका छन्। २ वर्ष अघि रेडियोको २० औँ वार्षिकोत्सवबाट रेडियोको सञ्चालन भूकम्प प्रतिरोधि नयाँ भवन सुरु गरिएको छ।
समूहका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार राजेन्द्र दाहालले सकारात्मक सामाजिक परिवर्तनमा रेडियो सगरमाथाले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रसंशा गरे। उनले रेडियो पनि अब समाजसँगै बदलिनुपर्ने बताए। प्रविधिलाई आत्मसात गरेर रेडियोले प्रशारण गर्नुपर्ने उनले उल्लेख गरे। दाहालले रेडियो स्थापनाको २२ वर्ष भएपनि रेडियो खोल्ने अभियान भने २७ वर्ष अघि सुरु भएको स्पष्ट पारे। उनले समाज, समुदाय र रेडियोका निम्ति रेडियो सगरमाथाले ‘बेन्चमार्क’ को भूमिका निर्वाह गर्नुपर्ने बताए।
अर्का पूर्वअध्यक्ष विनोद भट्टराईले दक्षिण एसियाको पहिलो सामुदायिक रेडियोभन्दा पनि अहिले सगरमाथालाई सबैभन्दा राम्रो रेडियो भन्नुपर्ने बेला आएको उल्लेख गरे।
नेवापसका पूर्वअध्यक्ष एवं वर्तमान स्टेसन म्यानेजर सहजमान श्रेष्ठले रेडियो सगरमाथाले २१वर्ष सम्मको यात्रामा आफ्नो प्रशारणलाई स्वतन्त्र र निस्पक्ष बनाउन सफल रहेको बताए। स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै श्रेष्ठले रेडियो सगरमाथाको प्रशारण यात्राका सम्पूर्ण सहयात्री, सुभेच्छुक, बिज्ञापनदाता र संघसंस्थाप्रति आभार व्यक्त गरे।
रेडियो सगरमाथाका वरिष्ठ कार्यक्रम प्रस्तोता भैरव रिसालले समाज परिवर्तनमा सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताए। समयको बेगसँगै अझै अगाडि बढाउनुपर्ने उनको भनाई छ।
सुरुका दिनमा दैनिक २ घण्टा प्रसारण हुने रेडियो सगरमाथाले आफ्नो प्रसारणलाई दैनिक १८ घण्टासम्म पुर्याएको थियो। हाल १६ घण्टा प्रसारण भैरहेको छ। आफ्नो प्रसारणमा रेडियो सगरमाथाले जनताको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रताको हक, सामाजिक न्याय, प्रजातान्त्रिक अभ्यास र संस्कृति, सामाजिक खुला बहस, सुशासन र मानवअधिकारका लागि वकालत गर्दै आएको छ।
रेडियो सगरमाथाको प्रशारणमा तत्कालीन शाही सत्ताले हस्तक्षेप गर्दा प्रशारण अबरुद्ध भएको थियो। बीबीसी नेपाली सेवाको रिले प्रसारण गर्दै आएको रेडियो सगरमाथाले बीबीसीमा प्रशारित तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अन्तर्वार्ता पुनः प्रशारण गर्न खोजेको भनी शाही सरकारले रेडियो बन्द गर्न आदेश दिएको थियो।
रेडियो सगरमाथा बन्द गर्ने निर्देशनविरूद्ध बिभिन्न स्थानमा प्रदर्शन भएका थिए। रेडियो सगरमाथा बन्द गर्न सरकारले दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पश्चात झण्डै ४४ घण्टा पछि प्रसारण नियमित भएको थियो।
सुरुमा कालधारा त्यसपछि पाटनढोका, लामो समय बखुण्डोलमा रेडियो स्टेशन स्थापना गरी प्रशारण गरेको रेडियो सगरमाथाले अहिले ललितपुरको भनीमण्डलबाट आफ्नै भूकम्प प्रतिरोधात्मक भवनबाट प्रशारण सुरु गरेको छ।
दक्षिण एसियाकै पहिलो स्वतन्त्र प्रशारण सेवा रेडियो सगरमाथाको सञ्चालक संस्था नेपाल वाताबरण पत्रकार समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्द्याल हुन्।
रेडियो सगरमाथाको प्रबन्धक तथा तत्कालीन अध्यक्ष मुरारी सिवाकोटी रहेका छन्। त्यत्तिबेला रेडियो सगरमाथामा स्टेशन म्यानेजर पद कायम गरिएको थिएन। स्थापनाकालको कार्यसञ्चालन समितिमा भारतदत्त कोइराला अध्यक्ष, गोकुल पोखरेल, कनकमणि दीक्षित, आदित्यमान श्रेष्ठ र मुरारी सिवाकोटी सदस्य रहेका थिए।।
रेडियो सगरमाथाको पहिलो स्टेशन म्यानेजर विनोद भट्टराई, पहिलो कार्यक्रम निर्देशक रघु मैनाली, पहिलो प्राविधिक उपेन्द्र अर्याल र पहिलो प्रशारक प्रस्तोता घमराज लुइँटेल हुन्। रेडियो सगरमाथालाई लाइसेन्स दिनेबेला पूर्वप्रधानमन्त्री झलनाथ खनाल सञ्चारमन्त्री थिए। त्यत्तिबेला रकम चेम्जोङ सञ्चार राज्यमन्त्री थिए।
रेडियो सगरमाथाका स्टेसन म्यानेजरका रुपमा रघु मैनाली, पुष्प अधिकारी, युवाकर राजकर्णिकार, प्रतिक भण्डारी, हेमबहादुर विष्ट, मोहन विष्ट, घमराज लुइँटेल, टीकाराम राई, सरोज काफ्ले, प्रविण अधिकारीले काम गरिसकेका छन्।