वार्षिक एक खर्बको काठ बेच्ने सरकारको लक्ष्य

१३ जेठ, काठमाडौँ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा १ खर्ब रूपैयाँको काठ बेच्ने बताएकी छिन् ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले वन क्षेत्रबाट आर्थिक विकासमा काम गर्ने लक्ष्य राखेको बताइन् । नेपाल काठमा पूर्णरूपमा आत्मनिर्भर हुने दावी गर्दै मन्त्री चौधरीले स्वदेशी काठ उत्पादनलाई प्राथमिकता दिन सरकारले निर्णय गरिसकेको संसदलाई अवगत गराइन् ।

नेपालमा सबै प्रकारका वनबाट वार्षिक ३ करोड घन फिट हाराहारी काठ उत्पादन हुने गरेको छ । वन मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा निजी र राष्ट्रिय वन मार्फत कूल ३ करोड ९९ लाख ८५ हजार क्यूविक फिट गोलिया काठ उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार ६ सय ११ चट्टा दाउरा उत्पादन भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म २३ हजार २ सय ७९ चट्टा दाउरा उत्पादन भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वन क्षेत्रबाट १ अर्ब ८९ करोड रूपैयाँ राजस्व संकलन भएको छ ।

पछिल्लो सरकारी अभिलेख अनुसार नेपालको कूल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ । त्यसमध्ये कूल भू–भागको ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत क्षेत्र झाडी तथा बुट्यानले ढाकेको छ ।


नेपालको वन संरक्षणमुखी मात्रै भएको, वनको संरक्षणमा जुटेका उपभोक्ता समूहहरूले पनि वनबाट यथोचित लाभ लिन नसकेको भन्दै वन विज्ञहरूले आलोचना गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार