रूपा तालले पाउँदैछ नयाँ रूप

६ वैशाख, पोखरा।

अबको ३ वर्षमा रूपा ताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ ।

लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत् उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ ।

यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरूयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ । विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रूपा ताल संरक्षणमा गुरूयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए । ‘पर्यावरणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत् उत्पादनका दृष्टिकोणले काम भइराखेको छ’, उनले भने ।

एकै दिनमा पटक–पटक रूप फेरिनै भएकाले रूपा ताल नामकरण गरिएको रूपातालको समग्र रूप नै फेरिने लागेको छ । ७ तालको बगैँचा सिमसार सूचीमा सूचीकृत तालहरू मध्येको एक रूपातालको संरक्षण र विकासका लागि रूपा ताल संरक्षण एकीकृत विकास परियोजनाको सफलतासँगै यसको समग्र रूप फेरिने भएको हो ।

यसअघि रूपा ताल संरक्षण एकीकृत विकास परियोजना नाममा रहेको यो परियोजना अहिले भने सिँचाइ तथा जलस्रोत व्यस्थापन आयोजना अन्तर्गत छ । रूपाकोट, हंसपुरको सिरान र माझठाना–९ साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेपछि गुरूयोजनासहित संरक्षणका कामहरू थालिएको हो ।

आयोजनाका लागि विस्तृत योजना प्रतिवेदन तयार गरी त्यस अनुरूप काम निरन्तर अघि बढिरहेको जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए । उनका अनुुसार परियोजना सम्पन्न भएसँगै रूपा तालको स्वरूप नै परिवर्तन हुने छ ।

यसअघि २०७५–०७६ देखि काम थालिएको थियो । चरणबद्ध अघि बढ्ने आयोजनाको चार अर्ब ५२ करोड लागत रहेकामा हालसम्म २ अर्ब ७० करोड रूपैयाँको काम गरिएको छ । स्वीकृत गुरूयोजना अनुुसार यो आयोजना २०८५–०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कूल १ सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हालको निर्माणाधीन बाँध सम्पन्न भएसँगै क्षेत्रफल बढेर १ सय ८३ हेक्टर क्षेत्रफल हुने छ । परियोजना अन्तर्गत बाँध निर्माण ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ । बाँध निर्माणका लागि कूल २९ करोड रूपैयाँको ठेक्का सम्झौता भएकोमा कालिका नयाँ बाटो जेभिले निर्माण गरिरहेको छ ।

बाँध निर्माण कार्य आगामी २३ भदौसम्म सक्ने समयावधि निर्धारण गरिएको छ । निर्माण सम्झौता अनुसार तालमा ५ सय ९० मिटर माटाको बाँध रहने छ भने ४५ मिटर कंक्रिट बाँध रहने छ । बाँध निर्माणको काम ७० प्रतिशत सकिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

बाँध निर्माण कार्य सकिएसँगै हाल रहेको तालको गहिराइ ३ मिटरबाट बढेर ७ मिटर हुने छ । यस आयोजना अन्तर्गत रूपा तालको बायाँतर्फ ७/८ किलोमिटर पक्की सडक गत आर्थिक वर्षमा नै सम्पन्न भइसकेको छ ।

त्यस्तै परियोजना अन्तर्गत नै हालको लम्बाइ २ किलोमिटर रहेको ताल फैलिएर ३/३ किलोमिटर हुने छ । तालमा रहेको ८ लाख घनमिटर माटो निकालेर त्यसलाई व्यवस्थित गर्नै काम भइरहेको छ । यसका लागि ४० करोड रूपैयाँ विनियोजन भई काम भइरहेको र सम्झौता अनुसार आगामी २० फागुनसम्म सक्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य उमा एन्ड कम्पनीमार्फत भइरहेको छ ।

आयोजना अन्तर्गत नै तालको बिचमा टापु बनाएर त्यहाँ मन्दिर बनाउने योजना छ । १ सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइमा रहने उक्त टापुमा आकर्षक मन्दिर बनाउन लागिएको हो । त्यस्तै तालको दायाँ किनारामा ५ किलोमिटर दूरीको इको ट्रेल निर्माण गरिने छ ।

बाँकी काम गर्नका लागि ३ सय १७ वटा रूख काट्नुपर्ने छ । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि भइसकेको छ । त्यस्तै भोगाधिकारका लागि एक हेक्टर जग्गा लिन बाँकी छ । इआइए अनुुसार ३ सय १७ रूख काट्न स्वीकृति भए पनि फिल्ड भेरिफिकेसन गर्दा १ सय २८ वटा मात्रै रूख हटाउनुुपर्ने देखिएको जानकारी दिँदै श्रेष्ठले १० प्रतिशत तलमाथि भएमा पुनः पूरक इआइए गर्नुपर्ने भएकाले त्यसका लागि वन मन्त्रालयबाट स्वीकृति आउनुुपर्ने श्रेष्ठले जानकारी दिए ।

आयोजनाकै लागि १ हजार २ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा यसअघि ९ सय ११ रोपनी अधिग्रहण भइसकेको छ । त्यसका लागि १ अर्ब रूपियाँ मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी थप १ सय २६ रोपनी अधिग्रहण गर्नुपर्नेमा त्यसका लागि नयाँ दररेट कायम हुनुपर्ने भए पनि जिल्ला दररेट कायम भइनसकेको कारण उक्त कार्य पनि प्रभावित बनेको छ ।

यी सबै काम सम्पन्न भएसँगै तालको क्षेत्रफलसँगै थप ४ मिटर गहिराइ पनि बढ्ने जनाइएको छ । रूपातालको एकीकृत विकास आयोजनासँगै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गण्डकी प्रदेश भित्रका विभिन्न ५० भन्दा बढी आयोजना हेर्दै आएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

हालै सिँचाइ दिवस एवं ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाबाट सम्पादित कार्यप्रगति एवं समुदायमा पु¥याएको समग्र प्रभाव मूल्यांकनका आधारमा उत्कृष्ट आयोजनाका रूपमा पुरस्कृत समेत भएको उनले बताए । सूर्यको किरणसँगै रूपा तालमा पानीको रूपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रूपाताल रहन गएको यहाँका बूढापाकाको तर्क छ ।

पछिल्ला वर्षमा सौन्दर्य ह्रासका अतिरिक्त बढ्दो अतिक्रमणले तालको आकार पनि खुम्चँदै गएका अवस्थामा परियोजना सम्पन्न भएसँगै यसले तालको संरक्षण हुने विश्वास लिइएको छ । विगतमा अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रूपाताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्दै आइएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

रूपा ताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौँ पर्यटक रूपा ताल पुग्ने गरेका छन् । सार्वजनिक बिदाका दिनका साथै शनिबार ताल किनारमा माछा खान जानेको संख्या बढ्दै गएको स्थानीय बताउँछन् । प्रेमी–प्रेमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्विमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् । आयोजनाका लक्षित कामहरूले समग्र तालको रूपमा परिवर्तन आउने आयोजनाले जनाएको छ ।

मोती उत्पादन परीक्षण

रूपा तालमा मोती उत्पादनको परीक्षण पनि थालिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रूपा तालमा पनि मोती उत्पादनका लागि परीक्षण बढाइएको सहकारीका अध्यक्ष थापाले जानकारी दिए । मोती उत्पादन परीक्षण सफल भएमा यस ताललाई मोती उत्पादनका माध्यमबाट पनि उपयोग गर्न सकिने उनको भनाइ छ ।

तालमाथि झोलुुंगे पुल

रूपा ताल किनारका जंगललाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । प्राणी उद्यान केन्द्र पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ढकालले जानकारी दिए । आयोजना अन्तर्गत ताल किनारमा बनाउने भनिएको फुट ट्रयाकले यहाँको सौन्दर्यतालाई अझै उजागर गर्ने उनको भनाइ छ ।

केन्द्रमा अवलोकन गर्न आउने पर्यटकले रूपा तालको मनोरम दृश्यसँगै यहाँ राखिएका चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिंगर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । ढकालका अनुुसार रूपा ताल आसपासका क्षेत्रको जंगलमा तीन सय ६१ प्रजातिका वनस्पति, १ सय ७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिंगरजस्ता जनावर पाइन्छन् । यस क्षेत्रमा १ सय ३४ जातका वन्यजन्तु तथा चराचुरूंगी पाइन्छन् ।

रूपामाथिको झोलुंगे पुल यहाँको अर्को आकर्षण हो । २ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि यो पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पोखरा महानगरपालिका–३१ र रूपा गाउँपालिका–६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पछिल्ला समयमा तालमाथिको पुल हेर्न र टिकटक तथा भिडियो बनाउन आउने क्रम पनि बढिरहेको छ ।

रूपा तालमा सञ्चालत आयोजनाका काम सबै सम्पन्न भएसँगै यसको रूपमा नै आमूल परिवर्तन आउने ढकालले बताए । तालको रूपमा परिवर्तनसँगै रूपाताल यस क्षेत्रकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुने उनको विश्वास छ ।

चरा पर्यटन गन्तव्य

रूपा ताल चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । यस तालमा धेरै प्रजातिका विदेशी चरा चीन, साइबेरियालगायतका देशबाट आउने गरेका छन् । विशेषगरी हिउँदको समयमा साइबेरियालगायत स्थानबाट विभिन्न प्रजातिका चराहरू यो तालमा आउने गरेको पोखरा पक्षी समाजका निवर्तमान अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । रूपा तालसहित लेखनाथका तालहरू चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रूपमा रहेको उनको भनाइ छ ।

वासुदेव पौडेल/रासस

ताजा समाचार

सम्बन्धित समाचार