Friday, October 25, 2024

नेपालमा मनसुन ढिलो भित्रिने

काठमाडौं – यो बर्ष नेपालमा ढिलो मनसुुन भित्रिने पूर्वानुमान गरिएको छ ।

नेपालमा मौसम भित्रिने औषत समय जुन १० तारिख अर्थात् जेठ अन्तिम साता भएपनि यो वर्ष जुन १५ पछि अर्थात् असार पहिलो साता मात्र भित्रिने पूर्वानुमान गरिएको हो।

पछिल्लो समय दक्षिण भारतको केरला र बंगलादेशको चटगाउँमा मनसुन ढिलो गरी भित्रिन थालेपछि नेपालमा पनि धकेलिन थालेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए।

भारतीय मौसम विज्ञान विभागले यस वर्ष केरेला तटीय क्षेत्रमा मे २९ वा जुन पहिलो साता मात्र मनसुन भित्रिने पूर्वानुमान गरेपछि नेपालमा पनि ढिलो गरी भित्रिने अनुमान गरिएको हो।

पानी पार्ने प्रणाली बंगालको खाडीबाट ढिलो गरी सक्रिय हुने भएकाले मनसुन सक्रिय नहुन्जेलका दिन सुख्खा नै रहन्छ।

श्रेष्ठका अनुसार नेपालको पूर्वी क्षेत्र ताप्लेजुङमा भित्रिएको मनसुन देशभर फैलिन ७ देखि १० दिन लाग्ने गछ । उनी भन्छन्, ‘पानी पार्ने प्रणाली बंगालको खाडी ढिलो गरी सक्रिय हुँदा नेपालमा मनसुन पनि ढिलो हुने गरेको छ।’

मनसुन ढिलो गरी भित्रिने मात्र होइन ढिलोसम्म सक्रिय रहने क्रम पनि बढेको छ। सामान्यतया नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन रहने अनुमान गरिन्छ। गत वर्ष नेपालमा मनसुन जुन १२ मा भित्रिएर अक्टोबर १६ सम्म रहेको थियो।

भारतले यस वर्ष औषत वर्षा हुने बताएका बेला नेपालमा पनि मनसुन सक्रिय रहने अनुमान गरिएको छ। मौमसविद् श्रेष्ठ भन्छन्, ‘प्रि–मनसुन र मनसुनको वर्षासँग कुनै सम्बन्ध हुँदैन। राम्रो पानी पर्ने आँकलन गरिएको छ।’

प्रशान्त महासागर र हिन्द महासागरमा समुद्र सतहको तापमान अधिक हुनु र ग्रीष्मकालीन मनसुनको प्रबल रुपलाई प्रभावित गर्नाले पछिल्लो समय वर्षाको स्थिर भइरहेको मौसमविद्हरू बताउँछन्।

मौसमविद् श्रेष्ठका अनुसार पछिल्लो समय मौसम प्रक्रियामा देखिने ‘इलनिनो’ प्रभावका कारण औसतभन्दा कम वर्षा हुने गरेको छ । प्रशान्त महासागर तात्ने र तातो हावा र पानीले मनसुन प्रक्रियामा पार्ने प्रभाव नै इलनिनो हो।

तर, ‘लानिना’ देखिँदा नेपालमा मनसुनी वर्षा राम्रो हुन्छ। प्रशान्त महासागरको पूर्व तथा मध्यभागको पानीको सतहको तापमान औसतभन्दा चिसो हुने बेला दक्षिण एसियामा मनसुन राम्रो हुन्छ। जुन प्राकृतिक प्रक्रियालाई लानिना भनिन्छ।

साधारणतया जुन महिनादेखि सेप्टेम्वरको ४ महिना सम्मको समयलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। नेपालमा सामान्यतया एक सय पाँच दिन मनसुनी वर्षा हुन्छ। उक्त अवधिमा ८० प्रतिशत पानी पर्छ।

सन् २०१० देखि हरेक वर्ष मनसुन सुरु हुन अगावै विश्व मौसम संगठनको अगुवाईमा दक्षिण एसिया क्षेत्रका मौसमविद्हरुको साझा मञ्च दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप) ले मनसुन सम्बन्धि दृष्टिकोण तयार गर्ने परिपाटी रहेको छ। उसले गत अप्रिल १३ मा दक्षिण एसियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार पर्दा नेपालको वर्षा औसतका हाराहारीमा रहने ठहर गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार