Sunday, June 1, 2025

दुई साता अगावै भित्रियो मनसुन

१६ जेठ, काठमाडौँ ।

नेपाली भूभागमा मनसुन भित्रिएको छ ।

गत वर्ष भन्दा दुई साता अगावै भित्रिएको मनसुनी प्रभाव कोशी प्रदेशका अधिकांश भूभागमा फैलिएको छ । अन्य भेगमा विस्तार हुन केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति कोशी प्रदेशको झापा र इलाम भित्रिएको मनसुन अहिले कोशीका विभिन्न भेगमा विस्तार भइरहेको छ । पूर्वी भेगमा मध्यम र हल्का वर्षा जारी रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

नेपालमा मनसुन भित्रिने सरदर मिति (जेठ ३०/३१) हो । अङ्ग्रेजी महिनाको जुन १३ (जेठ ३०/३१) देखि अक्टोबर २ (असोज १५/१६) सम्म नेपालका लागि मनसुन क्यालेन्डर हो । गत वर्ष मनसुनी क्यालेन्डर भन्दा २ दिन छिटो नेपाली भेगमा मनसुन प्रवेश गरेको थियो ।

यसपटकको मनसुनमा देशभर सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । उच्च पहाडी र हिमाली भेगमा वर्षाको मात्रा केही बढी हुने मौसमविद्हरूको ठहर छ । लुम्बिनी प्रदेश, गण्डकी र कर्णालीका अझ धेरै वर्षा हुने आकलन यसअघि नै मौसम विभागले सार्वजनिक गरिसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार