Sunday, February 23, 2025

जलवायु परिवर्तनको बढी असर महिलालाई

५ फागुन, काठमाडौं
सरोकारवालाहरूले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको उल्लेख गर्दै उनीहरूलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

‘लैंगिक समानता र वन तथा जलवायु परिवर्तनमा नेतृत्वको प्रवद्र्धन’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन सत्रमा सरोकारवाालहरूले जलवायुजन्य संकटको चपेटामा महिलाहरू परिरहेको बताएका हुन् ।

पूर्वमन्त्री तथा जलवायु लैंगिक अभियन्ता डा. विमला पौड्याल राईले जलवायु परिवर्तनको मुख्य असर कृषि, ऊर्जा, खानेपानीलगायत क्षेत्रमा पर्दै गइरहेको उल्लेख गरिन् । असर न्यूनीकरण तथा अनुकूलनका लागि मुख्यगरी महिलाहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिइन् ।

जलवायु प्रभावका क्षेत्रहरूमा धेरै महिला प्रत्यक्ष रूपमा जोडिएका उल्लेख गर्दै पौडेलले भनिन्, ‘जलवायुले पारेको प्रत्यक्ष असर महिलालाई पनि परेको हुन्छ, पानीको मुहान सुक्दा महिलाहरू टाढा–टाढासम्म पानी लिन जानुपर्ने हुन्छ ।’

सरकारका आगामी नीति तथा कार्यक्रमहरु जलवायु लैङ्गिक उत्तरदायी हुनुपर्ने बताएकी उनले जलवायु परिवर्तनका असरका कारण अपांगता भएका व्यक्तिहरूलाई पनि असर परिरहेको बताउँदै जलवायु अनुकूलनमा उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने विचार व्यक्त गरिन् ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले वन तथा जलवायुको क्षेत्रमा महिलाहरूको नेतृत्वदायी भूमिका बढाउन सकेमा लैंगिक जलवायु न्याय सुनिश्चित गर्न सम्भव हुने बताए ।

नेपालका लागि स्वीडेनका महावाणिज्यदूत मौसमी श्रेष्ठले जलवायु लैंगिक न्यायका लागि नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता जरूरी रहेको बताइन् । जलवायुविद् डा. सिर्जना बरालले प्राकृतिक स्रोत व्यवस्थापनको नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिइन् ।

जलवायु परिवर्तनसम्बन्धी लैंगिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना (२०७७–२०८७) ले पनि व्यक्ति, परिवार वा समुदायको अनुकूलन क्षमता स्रोतमाथिको पहुँच, जीविकोपार्जनको रणनीति तथा निर्णय प्रक्रियामा रहने सहभागिताले निर्धारण गरेको छ ।

कार्ययोजनाअनुसार नेपालमा जलवायु परिवर्तनको असर र प्रभाव विशेषगरी महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक र सीमान्तकृत समुदाय तथा भौगोलिक विकटताका क्षेत्रमा बढी परेको छ । ‘प्राकृतिक स्रोतहरूको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास एवं क्षतिका कारणले ती समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ’, कार्ययोजनामा उल्लेख छ, ‘साथै जीविकोपार्जनका वैकल्पिक अवसरहरूको अभावका कारण उनीहरू परिवर्तित प्रतिकूल परिस्थितिको सामना गर्न असमर्थ हुने गरेका छन् ।’

रासस

ताजा समाचार

सम्बन्धित समाचार