८ माघ, दाङ।
तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् ।
पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । २ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् ।
यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् ।
‘विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्,’ तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने, ‘यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।’
डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो ‘महामारी’ देखिएको बताए । ‘दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरू डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ’, उनले भने ।
वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा यस्तो समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उनको भनाइ छ । ‘यहाँका रूखमा चैत–वैशाखमा झैँ पात झरेको जस्तो देखिएका छन्, पानी पर्यो भने त पलाउँछ’, उनले भने, ‘पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठूला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।’
महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिठी पठाइएको चौधरीले बताए । ‘जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधनस्रोत पनि छैन’, उनले भने, ‘विभागमा चिठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।’
एउटा पुतलीले एकै दिनमा ३ सय जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताए ।
उनले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको बताए ।
जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताउँछन् । यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उनको विश्वास छ ।
दाङ जिल्लामा २ लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र १ लाख ९२ हजार ६ सय ८२ रहेको छ भने बुट्यान क्षेत्र ८ हजार ४३ रहेको छ । जिल्लामा ३ सय ६९ सामुदायिक वन रहेका छन्, जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् ।
यहाँ १ सय ५३ हेक्टर क्षेत्रफलमा फैलिएका ६ वटा धार्मिक वन छन् । यस्तै १ सय १२ हेक्टर क्षेत्रफलमा फैलिएका २ सय ४० वटा निजी वन छन् ।
हाल दाङका १५/२० वटा सामुदायिक वनमा सालका पातमा डढेलो लागेको जस्तो देखिने समस्या छ ।





