Thursday, February 6, 2025

कार्बन उत्सर्जनमा धनीमानीहरू दोषी

राम खत्री
२२ माघ, मोरङ
मानवीय क्रियाकलापले जलवायुजन्य घटना बढिरहेका तथ्य सार्वजनिक भइरहेका बेला कार्बन उत्सर्जनमा विश्वका धनीमानीहरूको भूमिका बढी देखिएको छ ।

संसारका १ प्रतिशत धनी मानिसहरूले विश्वका ५० प्रतिशत गरिबहरूले उत्सर्जन गर्ने हरितगृह ग्यास भन्दा धेरै उत्सर्जन गर्छन् । १ प्रतिशतभित्र समाजले ‘आदर्श’ मानेका व्यापारी, कलाकार, खेलाडी, राजनेता लगायत पर्दछन् । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था अक्सफार्म र वातावरण तथा दिगो विकासका क्षेत्रको अनुसन्धानमा क्रियाशील स्विडीस संस्था ‘स्टकहोम वातावरण प्रतिष्ठान’ (एसइआई)को अध्ययनमा यस्तो पाइएको हो ।

धनी मानिसहरूकै कारण जलवायु परिवर्तन जस्तो समस्या ९९ प्रतिशत मानिसले प्रत्यक्ष भोगिरहेका यी संस्थाहरूको ठहर छ । सन् १९९० देखि २०१५को अवधिमा यस्तो तथ्य पाइएको, धनीमानीहरूले आफ्नो जीवनशैली नबल्दा पछिल्ला वर्षहरूमा कार्बन उत्सर्जन झनै बढेको यी संस्थाहरूले उल्लेख गरेका छन् । सेलिब्रेटीहरूले थरीथरीका महंगा सवारी प्रयोग गर्दा प्रत्यक्ष/परोक्ष सवारी साधनले कार्बन उत्सर्जन गराउने विज्ञहरूको तर्क छ ।

विदेशमा छोटो यात्राका लागि पनि हवाइ जहाज चढ्ने धनीहरूले निजी जेट विमान समेत खरिद गर्ने गरेकाले सवारीको बढ्दो प्रयोग जलवायु परिवर्तनका घटनासँग जोडिने जलवायुविज्ञ राजु पण्डित क्षेत्री बताउँछन् । ‘विश्वका एउटा निश्चित वर्गका मानिसहरू जोसँग सम्पति छ, दाम छ र पुस्तौंलाई पुग्ने सम्पति छ, उनीहरूलाई जलवायु परिवर्तन र वातावरणको मुद्दा समस्या नै लाग्दैन’, उनी भन्छन्, ‘आफ्नो महंगो जीवनशैली कायम राख्न उनीहरूबाट बढी कार्बन उत्सर्जन भइरहेको छ ।’

नेपाल जस्ता पर्वतीय देशहरूले भोग्न थालेका, भोगिरहेका हिमपात विस्फोट, बाढी, पहिरो, खडेरीजस्ता घटनाले धनीहरूलाई नसताएकाले उनीहरू यस्ता विषयमा बोल्न नचाहने क्षेत्रीको तर्क छ । समाजका आदर्श व्यक्तिहरूले जलवायु र वातावरणीय समस्याका मुद्दाबारे आफ्ना विचार, वहस जनसमक्ष पु-याएको खण्डमा आम सर्वसाधारण यस्ता विषयबारे जागरूक बन्ने उनी बताउँछन् ।

समाजमा ‘हुने खाने’ र ‘हुँदा खाने’ बीचको खाडलले जलवायु समस्या बढ्न थालेको भारतका सामाजिक अभियन्ता आचार्य प्रशान्तको ठहर छ । मानव अस्तित्वको हित र कल्याणका लागि खर्च हुनुपर्ने सम्पत्ति केही व्यापारी पुँजीपति, कलाकार र खेलाडीको हातमा पुग्दा त्यसले विनाशको रूप लिएको उनको आरोप छ ।

खेल हेर्न, फिल्म हेर्न आम सर्वसाधारणले हजारौँ रूपैयाँ खर्च गर्न तयार भए पनि मानिसको जीवन बचाउन अनुसन्धानरत वैज्ञानिकहरू प्रति वेवास्ता हुने गरेको प्रशान्त बताउँछन् । उनी भन्छन्, ‘भोलीको दिनमा तापक्रम ५०/५५ डिग्री पुग्दा त्यसले सबैभन्दा पहिले मजदुर, सडकमा तरकारी बेच्ने, रिक्सा चलाउने र मध्यमवर्गीय मानिसलाई गम्भीर असर पार्छ । धनीहरू त १ लिटर पानीको मूल्य १ हजार तिरेर पनि खान्छन् । तर, आम सर्वसाधारणको त्यो अवस्था हुँदैन ।’ आम सर्वसाधारणले केही व्यक्तिहरूलाई ‘रोलमोडल’ बनाउदा जलवायु परिवर्तनको गम्भीर समस्या आएको प्रशान्तको विश्लेषण छ ।

ताजा समाचार

सम्बन्धित समाचार