Saturday, November 15, 2025

पाखो बारीमै झुल्यो धान

२८ कात्तिक, धनकुटा।

धनकुटा नगरपालिका–९, बेलहराका किसान वेदप्रसाद रोइलाले यो वर्षबाट पाखोबारीमा धान खेती गरे ।

धान खेती कहिल्यै नहुने, मकै, कोदो मात्रै हुने बारीमा पानी अभावमै पनि सधैँ सिँचाइ हुने खेतमा जस्तै धान फलेपछि उनी अहिले निकै खुसी छन् ।

राइला भन्छन्, ‘अब अलि अलि पानी भए पनि धान खेती गर्न सकिने रहेछ, खासै समस्या नहुँदो रहेछ । सिँचाइ गरेर रोपेको खेतमा र पाखो बारीमा धान बराबरी नै फल्ने रहेछ ।’

धनकुटा नगरपालिका–९ वडाकार्यालयको ५० प्रतिशत अनुदानमा यो वर्षबाट उनले सुक्खा स्थानमा हुने धान खेती सुरू गरेका हुन् ।बेलहरा सुक्खाग्रस्त क्षेत्र हो । यहाँ तल्लो क्षेत्रमा धान खेती भए पनि माथिल्लो क्षेत्रमा धन खेती हुँदैनथ्यो । तर यो वर्षबाट माथिल्लो क्षेत्रमा समेत धान खेती सुरू भएको छ ।

वडा कार्यालयको ५० प्रतिशत अनुदानमा वडाका ५ सय ५२ परिवारलाई यो धानको बिउ वितरण गरिएको वडाध्यक्ष टंक रोइलाले जानकारी दिए । ‘हाम्रो माथिल्लो क्षेत्र सुक्खा ग्रस्त क्षेत्र हो पानी अभावमा यहाँ धान खेती हुँदैनथ्यो तर यो वर्ष सुक्खामा हुने धान खेती सुरू ग-यौँ, राम्रो फलेको छ’, उनी भन्छन् ।

छथरजोरपाटी गाउँपालिका–४ का किसान रूद्रबहादुर ओझाले ४ रोपनी पाखो बारीमा यो साल मनग्गे धान फलाएका छन् । सामान्य पानीकै भरमा पाखोमै धान खेती गर्दा पनि यो साल धान राम्रै फलेको उनको भनाइ छ ।

अरू धानको तुलनामा यो धानलाई स्याहार सम्भारसमेत कम गर्दा हुने उनी बताउँछन् । ‘अर्को धानलाई जस्तो पटक पटक पानी पनि लगाइरहनु पर्दैन रहेछ, धान रोपेर एक पटक गोडेपछि अरू केही गर्नु नपर्ने रहेछ’, ओझा भन्छन् ।

योसँगै धनकुटामा बर्खे धान रोप्ने बेला सधैँ किसानलाई सिँचाइका लागि पानी नहुँदा सास्ती भोग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अब किसानले सिँचाइ सुविधा नभएको पाखो, सुक्खा र भिरालो जमिनमा समेत धान खेती गर्न सक्ने छन् । बेलहराबाहेक चौबिसे गाउँपालिकाको कुरूले र छथरजोरपाटीको तेलियामा पनि कृषक यो धानतर्फ आकर्षित भएका छन् ।

पाखो बारीमा लगाइने यो धान हाइब्रिड उपज र संखर जात हो । यो धान खेतीका लागि नियमित रूपमा सिँचाइ गरिरहनु पर्दैन । सुक्खायाममा पनि धान फल्ने भएकाले किसानका लागि विकल्प हुन सक्ने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाको भनाइ छ ।

जिल्लामा यो धान अहिले अनुसन्धानकै क्रममा रहेको तर उत्पादनको अवस्था हेर्दा निकै राम्रो रहेको उनको दाबी छ । ‘अहिलेको अवस्था हेर्दा धनकुटाका धेरै स्थानमा बर्खामा सिँचाइ अभावका कारण धान खेती हुने क्रम घट्दो छ । यो धानले त्यो समस्या केही हदसम्म कम गर्न सहयोग गर्छ’, उनी भन्छन् ।

जिल्लामा करिब ४ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बर्खामा पानी राम्रो पर्दा यो तथ्यांक बढ्ने पानी कम परेको वर्ष घट्ने गरेको छ । पछिल्लो समयमा सुक्खा क्षेत्रमा पनि उत्पादन हुने भएकाले किसानलाई पाखो बारीमा उत्पादन हुने धान खेती उपयुक्त हुने भनेर केन्द्रले सल्लाह दिने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सिँचाइको पानी नलाग्ने र धान खेती असम्भव ठानिएका स्थानमा समेत राम्रो उत्पादन देखिएपछि किसानको चासो बढ्दै गएको कार्यालयको भनाइ छ ।


गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार