१८ माघ, नवलपरासी
नवलपुरको सदरमुकाम निर्माणस्थलका रूख काटिएका छन् ।
कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माणस्थलमा पर्ने ६ सय ४२ रूखमध्ये पहिलो चरणमा ४७ रूख काटिएको हो । सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जिनियर कुन्दन तिवारीका अनुसार पहिलो चरणमा भवन निर्माण हुने स्थलका ४७ रूख काटिएको छ ।
२०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमूना सदरमुकामको शिलान्यास गरेका थिए । उक्त स्थानमाका रूख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन । हालै मन्त्रिपरिषद्ले सदरमुकाम निर्माण स्थलका ६ सय ४२ रूख कटानका लागि स्वीकृत प्रदान गरेको थियो । उक्त निर्णयसँगै पहिलो चरणमा निर्माण हुन लागेको भवन रहने स्थानमा पर्ने रूख काटिएको तिवारीले बताए ।
नमूना सदरमुकाम निर्माणस्थलका लागि छुट्याइएको १ सय ८४ बिघा जग्गामा संघ र प्रदेशका सबै कार्यालय निर्माणको योजना छ । सोअनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र थप २ कार्यालयका लागि एकीकृत भवन निर्माण गर्नेगरी चौधरी कन्स्ट्रक्सन रौतहटसँग ठेक्का सम्झौता भएको इञ्जिनियर तिवारीले बताए । रूख हटाएसँगै केही दिनमा भवन निर्माणको काम सुरू हुनेछ ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले गत आर्थिक वर्षमा विनियोजित ५० करोड रूपैयाँ बजेटबाट पहिलो चरणमा भवन निर्माण थालेको छ । यस वर्ष थप ८० करोड रूपैयाँ विनियोजन भएको छ । यसबाट अन्य भवन निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको तिवारीले बताए । यसै वर्ष थप ४ अर्ब रूपैयाँको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएकाले क्रमशः अन्य भवन निर्माणका कामसमेत हुँदै जाने छ ।
नमूना सदरमुकाम निर्माणको गुरूयोजनाअनुसार यहाँ संघ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजाघरलगायत संरचना निर्माण हुनेछन् ।
प्रारम्भिक गुरूयोजनाअनुसार आयोजनाको कूल लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रूपैयाँ रहेको छ । यो लागत बढ्ने आयोजनाले बताएको छ । १ सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भू–भागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनअनुसार अन्य भू–भाग कंक्रिटविहीन राखिनेछ । आयोजना निर्माणस्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको १ लाख १८ हजार ९ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।
रासस