Friday, January 24, 2025

जलवायु परिवर्तन र मासु उद्योगको सम्बन्ध

राम खत्री
१० माघ, विराटनगर
विश्वमा जलवायु परिवर्तनमा १४. ५ प्रतिशत हिस्सा मासु तथा डेरी उद्योगको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार मासु तथा डेरी उद्योगका कारण २५ प्रतिशत मिथेन उत्सर्जन हुने गर्दछ ।

जनावरको पाचन प्रक्रिया र मलबाट अधिक मात्रामा मिथेन ग्याँस उत्सर्जन हुन्छ । एउटा गाइले एक वर्षमा २ सय ६० पाउण्ड मिथेन ग्यास उत्सर्जन गर्छ । विश्वव्यापी रूपमा १ अर्ब भन्दा धेरै गाई मासुका लागि पालिने गरिएको अमेरिकी संस्था ‘इन्भाएरोमेन्टल प्रोटेक्सन एजेन्सी’ (इपिए) ले जनाएको छ ।

मिथेन ग्यासले अन्य हरित गृह ग्यासले भन्दा २८ गुणा बढी पृथ्वीको वायुमण्डलमा सूर्यको तापलाई सोस्नुका साथै २० देखि ३० प्रतिशत जलवायु परिवर्तनको कारण पनि मिथेन भएको सन् २०२५को जनवरी १६मा अद्यावधिक गरिएको इपिएको प्रतिवेदनमा उल्लेख छ ।

जनावरको आहारका लागि जंगल फडानी हुँदा यसले पनि जलवायुमा प्रतिकूल असर पारेको छ । ‘आवर वल्ड इन डाटा’का अनुसार विश्वमा ४ करोड ८ लाख वर्ग किमि क्षेत्रमा खेती गरिन्छ । मानिसको खानाको लागि मात्र खेतीपाती गर्ने हो भने २० प्रतिशत मात्र जमिन प्रयाप्त हुने उक्त तथ्यांकमा उल्लेख छ ।

८० प्रतिशत खेती मासुका लागि काटिने जनावरका लागि प्रयोग गरिन्छ । प्रत्येक वर्ष विश्वव्यापी रूपमा ३५ करोड टन मासु उत्पादन हुन्छ । मासु उद्योगमा पानीको पनि धेरै खपत हुने गर्दछ । एक किलो बिफ (गाइको मासु) तयार गर्न लगभग १४ हजार लिटर पानी खर्च हुने गर्दछ ।

त्यसैगरी, एक किलो सुँगुरको मासुका लागि ६ हजार, एक किलो कुखुराको मासुका लागि ४ हजार लिटर पानीको खपत हुने गर्दछ ।

आवर वल्ड इन डाटाको २ वर्षको विवरण अनुसार विश्वमा प्रत्येक दिन ९ लाख भन्दा धेरै गाई मासुका लागि काटिन्छ भने १४ लाख बाख्रा, १७ लाख भेडा, ३८ लाख सुँगुर, १ करोड २० लाख भन्दा धेरै हाँस र २० करोड भन्दा धेरै कुखुरा काटिन्छ ।

विश्वमा हुने वन फँडानीमध्ये ९० प्रतिशत फँडानी कृषिका लागि गरिन्छ । यसरी वन फडानी गर्दा कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन हुने, अन्य जंगली जनावरको वासस्थानको विनाश, जनावरहरू लोप हुने, मानिस र जनावरबीच द्वन्द्व सिर्जना हुने, पानीका मुहान सुक्ने र तापक्रम बढ्ने जस्तो समस्या सिर्जना हुन्छ ।

संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रमको (सन् २००७को) रिपोर्ट अनुसार मानव गतिविधिका कारण पृथ्वीबाट प्रत्येक दिन १ सय ६० भन्दा बढी जीवहरू सदाका लागि पृथ्वीबाट लोप हुन गर्दछन् ।

नेपालमा नीति निर्माण गर्नेहरूको छैन चासो

विश्वव्यापी रूपमा मासु उद्योग र जलवायु परिवर्तनको सम्बन्धमा गहिरो अध्ययन भए पनि नेपालमा भने नीति निर्माण तहदेखि विश्वविद्यालयसम्ममा यस विषयमा गहिरो अध्ययन भएको छैन ।

यसबारेमा नीति निर्माण गर्नेहरूले चासो नदेखाएको बताउँछन् जलवायु अध्येता राजु पण्डित क्षेत्री । उनको बुझाइमा मासु तथा दुग्ध उद्योग खाद्य सुरक्षा र कृषिसँग पनि सम्बन्धित विषय हो ।

‘तुलनात्मक रूपमा अरू देशका मानिसले भन्दा नेपालका मानिसले कम मासु खाने भन्ने मान्यता छ’, क्षेत्री भन्छन्, ‘विश्वव्यापी रूपमा जलवायु परिवर्तनको मुख्य कारण मासु पनि हो तर नेपालमा भने वृहत रूपमा अध्ययन गर्ने, काम गर्ने विषयमा हामी एकदमै सुरूआती चरणमा छौँ ।’

युरोप र ल्याटिन अमेरीकी देशमा मासु तथा दुग्ध सामग्री ओसारपसार र उत्पादन गर्दा अधिक मात्रामा हरित गृह ग्याँस उत्सर्जन भए पनि नेपालको सन्दर्भमा यस्तो नभएको उनी बताउँछन् । नेपालमा जलवायु परिवर्तनको मुख्य कारण खनिज इन्धन र पेट्रोलियम पदार्थको प्रयोग भइरहँदा मासु उद्योगसँग पनि सम्बन्धित भएर अध्ययन हुनुपर्नेमा क्षेत्री जोड दिन्छन् ।

नेपालले चीनलाई मासु निर्यात गर्ने औपचारिक प्रक्रिया अगाडि बढाइसकेको छ । जसरी हामीले खर्बौ रूपैयाँको खनिज इन्धन भारतबाट आयात गरेर हरितगृह ग्याँसको उत्सर्जन गरिरहेका छौँ’, त्यसको तुलनामा नेपालको लागि मासु निर्यातबाट नगन्य मात्रामा हरितगृह ग्याँसको उत्सर्जन हुन्छ ।’

मासु उद्योगसँगै पेट्रोलियम पदार्थको प्रयोगबाट उत्सर्जन हुने हरितगृह ग्याँसको नियन्त्रणमा ध्यान दिनुपर्ने उनको सुझाव छ । साथै, गरिबी, खाद्य सुरक्षा, अशिक्षा र विकासमा पछि परेकाले जलवायु परिवर्तन सम्बन्धी विषयमा नेपालीहरूको चासो नगएको क्षेत्री बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार