७ माघ, काठमाडौं
नेपालीहरू अध्ययनका लागि विदेशिने लहर चलिरहेका बेला विदेशीहरूको चासो भने नेपालको संरक्षण शिक्षामा बढेको छ ।
जैविक विविधता, वन्यजन्तु संरक्षण र समुदायसँग जोडिएका संरक्षणका विभिन्न अभ्यास बुझ्न विदेशी विद्यार्थीहरूको चासो बढेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा अमेरिका, अष्ट्रेलिया, नर्वे र नेदरल्याण्डका विश्वविद्यालयहरूले आफ्ना विद्यार्थी नेपाल पठाइरहेका छन् ।
गत साता अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयबाट १८ जना विद्यार्थी आफ्ना २ जना प्राध्यापकहरूसहित नेपाल आएका छन् । स्नातक तहका यी विद्यार्थी समुदायमा आधारित संरक्षण अभ्यास पढ्न, बुझ्न ३ साताका लागि चितवन राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रमा रहने छन् ।
त्यसअघि गत १९ भदौदेखि ५ असोजसम्म अमेरिकाको अरेगन स्टेट विश्वविद्यालयका डेढ दर्जन विद्यार्थीले चितवन तथा गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा स्थलगत अध्ययन गरे । त्यसैगरी, गत ९ देखि २२ मंसिरमा अष्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयका १९ जना विद्यार्थीले आफ्ना २ जना प्राध्यापकहरूसहित समुदायमा आधारित संरक्षण शिक्षा अध्ययन गर्न अन्नपूर्ण संरक्षण क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिताए ।
यो विद्यार्थीहरूको नियमित पठनपाठनकै पाटो हो ।
कोषका सदस्य–सचिव डा. नरेश सुवेदीका अनुसार नेपालका विषयविज्ञ र विदेशी प्राध्यापकहरूले विश्वविद्यालयको पाठ्यक्रम विद्यार्थीको रूचिअनुसारका अध्ययन सामग्री तय गरेर पठन–पाठन हुने गरेको छ । ‘यस्तो विषयको अध्ययन/अध्यापनका लागि हामी वर्षमा ४/५ वटा समूहलाई सहजीकरण गर्दै आएका छौ’, उनले भने, ‘यो वर्ष ५ वटा समूह छन् गत वर्ष ३ वटा थिए ।’
अमेरिका, अष्ट्रेलिया, नर्वे, नेदरल्याण्ड, चीन लगायतका विश्वविद्यालयहरूसँग कोषले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । अष्ट्रेलियाको न्युक्यासल विश्वविद्यालय एमओयू गर्ने तयारीमा छ ।
विद्यार्थीका लागि विशेष शैक्षिक पाठ्यक्रम न्यूनतम २ सातादेखि बढीमा ३ महिनासम्मको तयार गरिएको छ । अध्यापन गराइने विषयवस्तु सँधै एकनासको नहुने, सम्बन्धित विश्वविद्यालयको पाठ्यक्रम अनुसार हेरफेर र परिमार्जन हुने सुवेदीले प्रष्ट्याए ।
विद्यार्थीहरूसँगै आएका प्राध्यापकहरूले अध्यापनमा सहजीकरण गर्छन् भने कोष र नेपालका अन्य निकायका विषयविज्ञ पनि अध्यापक रहन्छन् । कोषले विदेशी विद्यार्थीलाई अध्यापन सहजीकरण गर्न थालेको एक दशक हाराहारी भयो ।
पहिलो समूहमा अमेरिकाको मिनिसोटा विश्वविद्यालयबाट विद्यार्थी आएका थिए । त्यसबेलाका विद्यार्थीहरू ३ महिनासम्म नेपाल बसेका कोषका निर्देशक डा. चिरिञ्जवीप्रसाद पोखरेल स्मरण गर्छन् ।
नेपालको संरक्षण अभ्यासमा ४ दशक लामो अनुभव संगालेको कोष संरक्षण अभ्यासबारेको शैक्षिक निकाय बनाउने गृहकार्यमा समेत जुटेको छ । पोखरेल भन्छन्, ‘हामीले (कोषले) देश/विदेशबाट हासिल गरेको ज्ञान र कार्यअनुभव विषयमिल्दो कुनै पनि विश्वविद्यालयका लागि उपयोगी बन्ने भएकाले शैक्षिक निकायका रूपमा कार्य गर्ने आधार छ ।’
आगामी दिनमा विश्वविद्यालयहरूको अतिरिक्त पाठ्यक्रम तयार गर्न र संस्थालाई शैक्षिक निकायका रूपमा पनि चिनाउन कोषको बोर्डले निर्णय गरिसकेको छ । विदेशका विद्यार्थी नेपालको संरक्षण शिक्षामा जोडिँदा ‘संरक्षण दूत’ सो सरह रहने भएकाले नेपालकै प्रचार हुने कोषका अधिकारीहरूको बुझाइ छ ।
सदस्य–सचिव डा. सुवेदी भन्छन्, ‘नेपालको संरक्षण अभ्यासले सफलता हासिल गरिरहेका बेला विभिन्न देशका विद्यार्थीहरू जति आउँदै गर्छन् त्यति नै कन्जरभेसन एम्बासेडरहरू पनि तयार हुँदै जान्छन् ।’