११ पुस, काठमाडौं
गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् ।
काठमाडौंमा सुरू भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणको खाँचो औल्याए ।
भौगोलिक, प्राकृतिक, सामाजिक विविधता, जलवायु र वातावरणीय संरचनाले नेपालमा प्राकृतिक र मानव सिर्जित विपद्को सम्भावना धेरै रहेको उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरूरी छ ।’
संघदेखि स्थानीय तहका वडासम्म विपद् जोखिम न्यूनीकरण संरचनालाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो । जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा वृद्धि भएका बाढी, पहिरो, चट्याङ र अन्य जलवायुजन्य विपद् झन् जटिल हुँदै गएको लेखकले बताए ।
‘विपद्ले हामीलाई जलवायु परिवर्तनका चुनौतीप्रति थप संवेदनशील बनाएको छ’, उनले भने, ‘विपद् व्यवस्थापनका लागि हाम्रो दृष्टिकोण बहुआयामिक र वैज्ञानिक हुनु आवश्यक छ ।’
समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने उल्लेख गर्दै उनले समुदायमा आधारित दृष्टिकोण, विपद् जोखिम न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । साथै, उनले प्रकोप व्यवस्थापनसम्बन्धी नीति तथा ऐनलाई बलियो बनाउँदै त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक रहेको औल्याए ।