Tuesday, December 24, 2024

पश्चिमी वायुले पश्चिममा हिमपात र वर्षा

२४ मंसिर, काठमाडौं

भू–मध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम प्रदेश र आसपासका भेगमा हल्कादेखि मध्यम हिमपातसँगै छिटफुट वर्षा भएको छ ।

सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भेगसँगै कर्णाली प्रदेशका लेकाली भेगमा यो वर्षकै पहिलो हिमपात भएको छ । यी भेगहरूमा आइतबार रातिदेखि हिमपात भएको हो । बैतडी, बाजुरा, डडेलधुरा, डोटी, अछामसँगै कर्णालीको हुम्ला र आसपासका भेगमा यस्तो प्रभाव परेको हो ।

विगतका वर्षहरूको तुलनामा यसपटक कर्णाली र सुदूरपश्चिममा करिब एक महिना ढिलो हिमपात भएको हो । हिउँ परेपछि गहुँ, जौ र उवा खेती राम्रो हुने भएकाले स्थानीय खुसी छन् । तर, चिसोले जनजिवन प्रभावित बनेको छ । हुम्ला, जुम्लाको तापक्रम यसअघि नै माइनसमा छ ।

ताप्लेजुङमा यो वर्षको पहिलो हिमपात यही ६ मंसिरमा भएको थियो । अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरू हिउँदे वर्षाका रूपमा बुझ्ने गर्छन् ।

अहिले पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र कोशी प्रदेशमा पनि चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने मौसमी प्रणाली भित्रिएकाले काठमाडौंसहित अन्यत्र चिसो बढेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार भित्रिएको मौसमी प्रणाली बलियो नभएकाले भोलि (मंगलबार) विहानदेखि नै मौसममा सुधार आउने महाशाखाको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार