Wednesday, December 4, 2024

प्रदूषणले वासस्थान फेर्दै जनावार

१६ मंसिर, नवलपुर
‘धेरैले सहजै अनुमान लगाउन थालेका छन्, २ किलोमिटर टाढाबाटै गन्ध आउन थाल्यो भने अब चौधरी ग्रुपको औद्योगिक ग्राम र सिजी धाम आउन थाल्यो भनेर बुझ्दा हुन्छ,’ यो भनाइ हो सिजी औद्योगिक ग्रामको वातावरण प्रदूषण नियन्त्रण संघर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माको ।

हुन पनि यो पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने जोसुकैले पनि सहजै महसुस गर्न सक्ने विषय भएको छ । ‘फोहोर र गन्ध’ नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको पहिचान बनेको छ ।

सिजी आइपीको भुसे ब्वाइलरबाट निस्केको धुलो र खरानीले वातावरण प्रदूषण गरेको छ भने वियर कारखानाबाट निस्केको केमिकल मिश्रित पानीले स्थानीय, पर्यटक र जनावरलाई समेत गम्भीर असर गरिरहेको शर्माले बताए ।

शर्माका अनुसार सिजी प्रशासनले नयाँ नबनाई बिग्रेको ब्वाइलरबाट काम चलाउने गरेको र मापदण्ड अनुसार मर्मतसम्भार नगर्दा धुलो, खरानी र केमिकल मिश्रित पानीले असर गरिरहेको हो । सिजीले वाष्पशक्ति निकाल्नका लागि भुसे ब्व्वाइलर (धानको भुस जलाएर निस्किएको धुलो र धुवाँ) सञ्चालन गरेको हुन्छ ।

उक्त धुलो आँखामा प-यो भने चिकित्सककहाँ नगई नहुने र कहिलेकाहीँ शल्यक्रिया नै गर्नुपर्ने संयुक्त टोलविकास संस्थाका संयोजक धु्रव न्यौपानेले बताए । यी समस्या समाधानका लागि पटक पटक सिजी प्रशासनसँग आग्रह गर्दा पनि समाधान नभएको उनको भनाइ छ ।
देवचुली–२ का अध्यक्ष शरदप्रसाद घिमिरेले पनि उद्योगबाट निस्केको प्रदूषण नियन्त्रण गर्न आग्रह गर्दै विनोद चौधरीलाई नै पत्राचार गरेको, पटक पटक भेटेर आग्रह गर्दा पनि समाधान नभएको बताए ।

संयुक्त टोलविकास संस्थाका संयोजक न्यौपानेले उद्योगबाट निस्केको धुलोले स्थानीयले लगाएको तरकारी बाली खानै नमिल्ने गरी छोपेको र त्यसको असर २ किलोमिटरसम्म रहेको बताए । ‘बियर कारखानाबाट उत्पन्न भएको रसायनयुक्त केमिकलसहितको लेदो सिधै उद्योगको छेवैबाट बगेको करदह खोलामा मिसाइएको छ,’ उनले भने, ‘गाउँबस्ती हुँदै झन्डै २ किलोमिटर बगेर नारायणी नदीमा गएर मिसिएको पानीले धेरैको स्वास्थ्यमा असर गरेको छ ।’’

वडा नं. २ का अध्यक्ष घिमिरेले प्लान्ट क्षमताभन्दा कममा भएकाले त्यसले रसायनलाई पूर्ण रूपमा फिल्टर गर्न नसक्दा प्रदूषण ओभरफ्लो भएर खोलामा मिसिएको बताउनुभयो । ‘अत्यधिक एसिड भएको रसायनयुक्त गन्धले नाकै पोल्ने गर्छ । कतिपयले त्यही पानीलाई सिँचाइका रूपमा प्रयोग गर्ने भएकाले माटोको उर्वराशक्तिमा ह्रास आएको छ,’ अध्यक्ष घिमिरेले भने, ‘आसपासका बासिन्दालाई स्वासप्रश्वासमा समस्या निम्त्याएको छ । यो १६ वर्षदेखिको समस्या हो ।’

सिजी उद्योग अगाडि नै होटेल सञ्चालन गरिरहेका देवप्रसाद दवाडीले आफू नै सबैभन्दा बढी पीडित भएको गुनासो गर्छन् । ‘होटलमा पाहुना आउँछन् तर सेफ्टी ट्याङ्कीभन्दा बढी गन्हाउने दुर्गन्धका कारण उनीहरू खान र बस्नै मान्दैनन्,’ दवाडीले गुनासो गरे, ‘एक दिन आउनेलाई त यस्तो हुन्छ, हामी सधैँ कसरी बसेका हौँला ?’

प्रदूषणले मान्छेलाई मात्र होइन, जनावरलाई समेत असर गरेको संरक्षणकर्मीले बताएका छन् । संरक्षणकर्मी ढुण्डीराज केसीले यसले सबैभन्दा बढी असर दुर्लभ एकसिङे गैंडा र गोहीलाई गरेको बताए । ‘पहिले थोरै पानी निस्किँदा यतै सुक्थ्यो तर पछिल्लो केही वर्षदेखि ठुलो मात्रामा पानी नारायणीमा गएर मिसिएको छ । जसले नारायणीमा आश्रित जलचर र थलचर प्राणी मात्र नभएर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका पर्यटक र जनावरलाई असर गरिरहेको छ,’ केसीले भने ।

उनका अनुसार करदह खोलाबाट बगेर गएको केमिकल मिश्रित लेदो नारायणी नदीमा गएर मिसिएको छ । एकसिङे गैंडा, घडियाल गोही र मगरगोहीले त्यही पानी पिउने गर्छन् । यसले गैंडाको स्वास्थ्यमा कस्तो असर ग-यो भन्ने अध्ययन नभए पनि घडियाल गोहीले भने पछिल्लो समय आफ्नो वासस्थान नै परिवर्तन गरेको संरक्षणकर्मी केसीको भनाइ छ ।

केसीले जस्तै सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले पनि प्रदूषणका कारण घडियाल गोहीले आफ्नो वासस्थान नै परिवर्तन गरेको बताए । ‘घडियाल सफा पानीमा बस्ने र माछा खाने जलचर प्राणी हो तर खोलामा लेदोसहितको पानी बगेपछि उसले वासस्थान बदलिरहेको छ । केमिकलसहितको पानी खाँदा गैँडाको स्वास्थ्यमा कति असर गरिरहेको होला ? अध्ययन कसले गर्ने ?’ उनले प्रश्न गरे ।

उद्योगका वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले स्थानीय र सरोकारवालाले पटक–पटक गरेको आग्रहबाट उद्योगको ध्यानाकर्षण भएको बताए । सिटौलाले आगामी पुस १५ गतेदेखि पूर्ण रूपमा ठूलो ब्वायलर (सिपिपी) प्लान्ट बन्द गरी मर्मत गरिने बताए । १० टन क्षमताको सानो ब्वायलरमा पनि ब्याग फिल्टर जडान गरी सञ्चालन गरिने सिटौलाको भनाइ छ ।


गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार