२५ कात्तिक, मोरङ
भारतबाट अवैध रूपमा माछा भित्रिँदा माछा उत्पादक किसान मारमा परेका छन् । मोरङको रंगेली नगरपालिका–१, गोहीगाढामा ६ बिघा क्षेत्रमा व्यावसायिक माछा उत्पादन गरिरहेका किसानले भारतीय माछा नेपाल भित्रिने क्रम नरोकिए नेपाली किसान विस्थापित हुने बताएका छन् ।
२०७७ साल चैतमा ३५ बिघा जमिन खरिद गरी जयश्रीराम एग्रो फार्म प्रालिले ५ बिघामा माछापालन सुरू गरेको थियो । ३० करोड रूपैयाँ लगानी गरी माछासँगै पशुपालन, फलफूल खेती र मौसमी खेती गरिरहेको फार्मले माछालाई बढी महत्व दिएको थियो ।
नेपाली बजारमा माछाको माग उच्च छ तर नेपाली माछा उत्पादन भएपछि भारतबाट अवैध रूपमा माछा भित्रिने गर्छन् । जसले गर्दा नेपाली व्यवसायी मारमा पर्ने गर्छन् । फार्मका सञ्चालक टेकनाथ पौडेलले भने, ‘बजारभरि हाम्रो पोखरीको माछा भनेर आयातित माछा बिक्री हुन्छ । जबकि हामीले माछा निकालेकै हुँदैनौँ ।’
वार्षिक १ लाख किलो माछा निकाल्ने लक्ष्यसहित सुरू भएको फार्मले वार्षिक ८० हजार किलो माछा उत्पादन गरिरहेको छ । माछाको माग पनि छ तर नेपाली उपभोक्ताले शुद्ध माछा खान पाउँदैनन् । पौडेलले भने, ‘६० प्रतिशत रकम खर्च हुन्छ । बाँकी शुद्ध नाफा हो तर उत्पादक किसानको हातमा बजार हुँदैन । एक पटक माछा किनेर लगेको व्यापारीले ३/४ वर्षसम्म पोखरीको नाम लिएर भारतीय माछा बेचिरहेका हुन्छन् ।’
मंसिरदेखि माघसम्म माछाको व्यापार हुने मुख्य सिजन हो । यही सिजनमा भारतीय माछा भन्सारबाटै भित्रिन्छन् । भारतले दिने अनुदान, लगानी र खर्च नेपालको भन्दा कम हुन्छ । त्यसैले उनीहरूको उत्पादन नेपालको भन्दा सस्तो हुन्छ । हामीले ४ सय रूपैयाँमा बिक्री गरेको माछा उनीहरू ३ सयमा बेचिदिन्छन् । जसले गर्दा नेपाली माछा बिक्दैनन् ।
पौडेलले भन्सारबाट अवैध रूपमा माछा भित्रिने क्रम नरोकिए नेपाली माछा उत्पादक किसानले व्यवसायबाट पलायन हुनुपर्ने बताए । ‘हामीले त माछा उत्पादन मात्र गरिरहेका छैनौँ । पशुपन्छी, ड्र्यागन खेती, आँप, लिची, कटहर, एभोकाडोलगायतका फलफूल खेती र एक बिघामा हरियो सागसब्जी पनि छ । २० बिघामा मौसम अनुसार धान, मकै, गहुँ, तोरीलगायतका बाली लगाउने गरेका छौँ तर माछा मात्र उत्पादन गर्ने किसानलाई उठ्न दिँदैनन्’, पौडेलले भने ।
१४ जना कामदारले रोजगारी पाइरहेको जयश्रीराम एग्रो फार्मले माछा, ड्र्यागन फ्रुट र चैते धान खेतीमा अध्ययन गरिरहेको छ । सञ्चालक पौडेलले भने, ‘२०३५ सालमा भित्रिएका माछाका भुराबाटै अहिलेसम्म नेपालको माछापालन चलिरहेको छ । चीनबाट ल्याइएको त्यो जात मन्सुली धानको बिउ जस्तै भएको छ । उत्पादन खिएकोे खिएकै छ । त्यसैले हामी माछा, ड्र्यागन र चैते धानको नस्ल सुधारका लागि अध्ययन गरिरहेका छौँ ।’
सरकारले समयमा मल र बिउ उपलब्ध गराए कृषि उत्पादनमा वैदेशिक परनिर्भता घटाउन सकिने उनीहरूको भनाइ छ । सञ्चालक पौडेलले भने, ‘माटो सुधारमा समय लाग्ने रहेछ । विगतमा हाम्रो खेतीपाती गोबर मलमा निर्भर थियो । किसानले रसायनिक मल खोजी गर्दैनथे तर नेपालमा रासायनिक मल भित्रिएपछि किसानको आकर्षण गोबर मलप्रति घट्यो । पछिल्लो २ दशकयता नेपालमा रासायनिक मलको प्रयोग अत्यधिक भयो । जसले गर्दा माटोेको उर्वराशक्ति क्षय भएको छ । सरकारले पहिले गोबर मल विस्थापित गरायोे, अहिले पर्याप्त रसायनिक मल दिन सक्दैन । कृषि उत्पादनको जड समस्या नै यही हो ।’
गोरखापत्र दैनिक