Thursday, September 19, 2024

अन्तरदेशीय ‘वातावरण संसद’को तयारी

३१ भदौ, काभ्रे
जलवायु परिवर्तनका घटनाले हरेक वर्ष नेपालसहित छिमेकी देशहरूमा विभिन्न किसिमका हानी नोक्सानी बढाइरहेका बेला दक्षिण एसियाली देशहरूले संसदीय तहमा हातेमालो गर्ने भएका छन् ।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंका समस्या न्यूनीकरण गर्न, अनुकूलनका साझा अभ्यास आदान प्रदान गर्न सकारात्मक बनेका हुन् । संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले अन्तरदेशीय संसदीय सहकार्य गर्न ‘वातावरणीय संसद’को तयारी भइरहेको जानकारी दिइन् ।

काभ्रेको धुलिखेलमा जारी ‘कूटनीतिमा जलवायु परिवर्तनको सान्दर्भिकता’ विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले भनिन्, ‘संसदीय फाँटबाट पनि क्षेत्रीय तहमा सहकार्यका लागि क्याइमेट पार्लियामेन्टको व्यवस्था गर्न नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाका सांसदहरूका बिचमा छलफल भइरहेको छ ।’

जलवायुजन्य घटनामा एक अर्को देशबिच दिगो सहकार्यको खाँचो जरूरी भएकाले क्याइमेट पार्लियामेन्टको छलफल भइरहेको उनले प्रष्ट्याइन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको २ दिने कार्यशालामा परराष्ट्र मन्त्रालय, वन तथा वातावरण, न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय योजना आयोग र नेपाल वातावरण पत्रकार समूह (नेवापस)का अधिकारी सहभागी छन् ।

कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले जलवायु कूटनीतिका क्षेत्रमा नेपालले आफ्ना ज्ञान र सीपलाई अझ परिस्कृत गर्दै लानुपर्नेमा जोड दिइन् । ‘जलवायु परिवर्तनका जोखिमको सामना गर्न अपनाइएका अन्तर्राष्ट्रिय प्रयास, सभा सम्मेलनसँग जोडिन अन्तर्राष्ट्रिय कूटनीति होेस वा जलवायु कूटनीति दुवैमा हाम्रो क्षमता देखिनुपर्छ’, उनले भनिन् ।

आसन्न कोप–२९को पूर्व तयारीका लागि यस्तो जमघट र विषयविज्ञका सुझाव उपयोगी हुने उनले विश्वास व्यक्त गरिन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) आगामी नोभेम्बर ११देखि २२ तारिख (कात्तिक २६देखि मंसिर ७ गते) सम्म अजरबैजानको बाकु सहरमा हुँदैछ । २९औँ कोप ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

कार्यशालाबारे जानकारी दिँदै प्रतिष्ठानका कार्यकारी निर्देशक प्रकाश सुवेदीले जलवायु परिवर्तनका मुद्दा बहुपक्षीय सरोकारका विषय भएकाले अन्तर मन्त्रालय र सरोकारवाला निकायबिचको समन्वयले मात्रै समस्या समाधानमा सहयोग पुग्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार