Wednesday, September 18, 2024

१९ गुँडमा प्रजनन गर्दै लोपोन्मुख गिद्ध

२४ भदौ, नवलपुर
सदरमुकाम कावासोतीको एउटै वनमा अति लोपोन्मुख गिद्धले १९ वटा गुँड लगाएर प्रजनन गरिरहेको पाइएको छ ।

कावासोतीमा नमुना सदरमुकाम बनाउने भनिएको ज्योतिकुञ्ज सामुदायिक वनमा मात्र १९ वटा गुँडमा अति लोपोन्मुख डंगर प्रजातिका गिद्धले प्रजनन गरिरहेका गिद्ध संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिए । उनका अनुसार स्याटेलाइटबाट लिइएको तस्बिरले यो तथ्य पुष्टि गरेको हो । सन् २०२२ देखि २४ सम्मको ग्लोबल पोजिसनिङ सिस्टम (जिपीएस)मा गिद्धले यस क्षेत्रमा आराम गर्ने, बास बस्ने, आहार खोज्ने, प्रजनन तथा गुँड लगाउने उपयुक्त स्थल बनाउँदै आएको देखिएको छ ।

जुन कुराको पुष्टि यस क्षेत्रमा गिद्धका गुँडको अवस्था अध्ययनका लागि लगातार तीन वर्षको जिपीएसले गरेको गिद्ध संरक्षणका लागि सञ्चालित जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौधरीले जानकारी दिए । नेपालमा पाइने ९ प्रजातिका गिद्ध (डंगर, डफोर, सुन, राज, साना खैरे, लामो ठुँडे, खैरो ठुँडे, सेतो र हिमाली गिद्ध मध्ये डंगर, सानो खैरो, लामो ठुँडे र सुन गिद्ध अति लोपोन्मुख मानिन्छ ।

विज्ञहरूका अनुसार गिद्धको प्रजनन अवधि झन्डै एक वर्षको हुन्छ । एक पटक बचेरा हुर्काएर फेरि प्रजनन प्रक्रियामा रहेकाले संख्या बढ्न सक्ने चौधरीले बताए । नेपालमा हाल झन्डै २० हजार गिद्ध रहेकामा सन् २०२३ मा जटायु रेस्टुरेन्टले गरेको गणनामा ५ सय १७ वटा गिद्ध नवलपुरमा मात्र रहेको पाइएको थियो । सन् २००५ मा यहाँ ७२ वटा मात्र गिद्ध गणना गरिएको थियो ।

गुँड संरक्षण गरिने

नवलपुरको कावासोतीमा नमुना सदरमुकाम बनाउने प्रक्रिया अघि बढेको छ । हाल चार वटा एकीकृत भवनका लगि टेन्डर प्रक्रिया टुंगिएर रूख कटान आदेशको पर्खाइमा ठेकेदार कम्पनी छ । सदरमुकाम बनाउन ४ सय ९० वटा रूख काट्नुपर्ने हुन्छ । काटिने सूचीमा गिद्धका गुँड भएका रूख रहेकाले ती संरक्षण गरिने भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माले गिद्धका गुँड रहेका रूख संरक्षण गरी सदरमुकाम निर्माण गर्ने सहमति भएको जानकारी दिए । १६ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कावासोतीमा भएको कार्यक्रममा उनले उक्त जानकारी दिए । प्रकृतिको कुचीकार मानिने गिद्ध विश्वबाटै लोप हुने अवस्थामा रहेका बेला नवलपुरमा भने यसको संरक्षणको प्रयास भइरहेको छ ।

यसको विनाश हुनुमा पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक रहेको अध्ययनहरूले देखाएका छन् । त्यसैले नेपाल, भारतलगायतका देशले यो औषधि प्रयोगमा प्रतिबन्ध लगाएका छन् । नेपालमा २०६३ जेठ २३ गतेदेखि यो औषधि प्रयोगमा प्रतिबन्ध छ । यो औषधिको प्रयोगमा प्रतिबन्ध लगाइए पनि अन्य विषादीका कारण गिद्धहरू मर्ने क्रम रोकिएको छैन ।

जटायु रेस्टुरेन्टको गणनामा गत वर्ष २१ वटा गिद्ध मरेका थिए । गिद्ध मर्नुको कारण पहिचान गर्न नमुना विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाएको एक वर्षसम्म पनि रिपोर्ट आएको छैन । रिपोर्ट आउन ढिलो हुँदा गिद्ध मर्नुको कारण पहिचान गर्न समस्या भएको पछी संरक्षण संघका गिद्ध संरक्षण परियोजना अधिकृत देउबहादुर रानाले बताए । उक्त नमुना विदेशमा पठाउन अनेक प्रयास गर्दा पनि सफल नभएको उनको भनाइ छ ।

प्रतिवेदनमा गलत रिपोर्ट

वातावण प्रभाव मूल्यांकन (एआइए) ले सदरमुकाम निर्माण स्थलमा ५ वटा ठुला सिमलका बोटमा गिद्धका गुँड रहेकाले तिनका बचेरा हुर्केपछि वनको समन्वयमा रूख हटाउने रिपोर्ट पेस गरेको थियो । तर स्याटेलाइट तस्बिरले यहाँका १९ वटा रूखमा गिद्धले प्रजनन गरिरहेको देखाएपछि यहाँका स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।

यता इआइए परामर्शदाताका तर्फबाट वातावरणविद् रेडियम अधिकारीले अध्ययनका क्रममा सो स्थानमा ५/६ वटा गिद्धका गुँड देखिएको र निर्माण क्षेत्रबाट हटाउनुपर्ने रूखको संख्या मात्र प्रतिवेदनमा उल्लेख गरिएको बताए । अर्का संरक्षणकर्मी, पछी संरक्षण संघ कास्कीका अध्यक्ष मनशान्त घिमिरे गिद्ध संरक्षणकै लागि सरकारले कार्ययोजना बनाइरहँदा सरकारकै अर्को निकायले पनि यिनका गुँड बचाएरै आयोजना अघि बढाउनेमा आफू विश्वस्त रहेको बताए ।


गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार