काठमाडौं– सडक विभागले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा नेपाली प्रविधिमा आधारित ट्राफिक लाइट (बत्ती) जडान गर्ने भएको छ।
यार्सा टेक्नोलोजी प्रालिले आफैं निर्माण गरेको नेपाली प्रविधि (वायरलेस) मा रहेर गत वर्ष २३ चैतमा नयाँबानेश्वर र महाराजगञ्जमा ट्राफिक लाइटको सफल परीक्षण गरेपछि विभागले उपत्यकाका अन्य ठाउँमा पनि सोही प्रविधि अपनाउने तयारी गरेको हो।
‘यसअघि जडान भएका ट्राफिक लाइट मर्मत गरेर चलाउने योजना छ,’ विभागका ट्राफिक लाइट युनिट प्रमुख दीप बाराहीले भने, ‘मर्मतबाट पनि सम्भव नभएमा नयाँबानेश्वर र महाराजगञ्ज जस्तै नेपाली प्रविधि अपनाइने छ।’
नयाँबानेश्वरमा विभागको १५ लाख र महाराजगञ्जमा काठमाडौं महानगरपालिकाको २५ लाख लागतमा वायरलेस प्रविधिमा ट्राफिक लाइट जडान गरिएको थियो। नयाँबानेश्वरमा ४ र महाराजगञ्जमा १२ वटा ट्राफिक लाइट जडित छन्।
जडान गरिएका ट्राफिक बत्ती एक स्थानबाट अर्को स्थानमा लिङ्क गर्ने योजना छ।
बाराहीका अनुसार ट्राफिक बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिन्छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार व्यस्त समयलाई ४५ सेकेण्ड र सामान्य समयलाई ३० सेकेण्डमा सवारी पार गर्ने गरी प्रविधिको जडान गरिएको छ।
लाइटको कन्ट्रोल महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूटबाट मनिटरिङ र व्यवस्थापन गर्न सक्ने व्यवस्था रहेको बाराहीले बताए।
यस्तै, राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत भिभिआइपीको सवारीसाधन, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधन पास गराउन चौकमा बस्ने ट्राफिक प्रहरीका लागि रिमोट कन्ट्रोलबाट ट्राफिक बत्ती सञ्चालन गर्न सक्ने व्यवस्था पनि रहेको उनले बताए। यद्यपी, जडान गरिएका ट्राफिक बत्ती एक स्थानबाट अर्को स्थानमा लिङ्क नगरिए पनि काठमाडौंका १९ वटै चोकमा जडान गरेपछि लिङ्क गर्ने विभागको योजना छ।
सोलारबाट चल्ने ट्राफिक बत्ती कम्तिमा ५ वर्षसम्म सञ्चालन गर्न सकिने निर्माण कम्पनीका सञ्चालक रामचन्द्र खड्काको दाबी छ । ती बाहेक पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकको ट्राफिक बत्ती मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।
थप १७ चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने आवश्यकता
ट्राफिक युनिट प्रमुख बाराहीका अनुसार यसअघि जडान गरेपनि बिग्रिएर थन्किएका स्थानमा मात्र ट्राफिक बत्ती मर्मत/जोड्ने काम गरिने छ। ‘अरु चोकमा पनि ट्राफिक बत्ती जडान गर्नुुपर्ने आवश्यकता छ, तर अहिलेलाई हामी त्यस योजनामा हात हाल्दैनौं,’ हाकाहाकीसँग उनले भने।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीका अनुसार थप १७ चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने आवश्यकता रहेको छ। डीएसपी मरासिनी भन्छन्, ‘भएका ट्राफिक बत्तीले पनि काम नगर्दा सिट्ठीको भरमा हात हल्लाउदै ट्राफिक नियन्त्रण गर्न बाध्यता रहेको छ।’
काठमाडौं उपत्यकामा २०६५ मा जापान सरकारको सहयोगमा ट्राफिक बत्ती र पैदलयात्रु बत्ती जडान गरिएको थियो। २०६७ सालयता चारवटा स्थानको ट्राफिक बत्ती बिग्रिएका छन्। मठीमि चोक, कौशलटार, गट्ठाघर र सल्लाघारी चोकको ट्राफिक बत्ती बाहेक अन्य चोकमा रहेका ट्राफिक बत्ती बिग्रिएका हुन्।
यी चोकमा ट्राफिक लाइटको आवश्यकता
बढ्दो सहरीकरण र सवारीसाधनको चापका कारण नारायणगोपाल चोक, चाबहिल, पुरानोबानेश्वर, मैतीदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, ल्होत्से चोक, लैनचौर, मित्रपार्क, गोल्डेन गेट (एयरपोर्ट) ग्वार्को, सातदोबाटो, जावलाखेल, पुल्चोक, एकान्तकुना र पेप्सीकोला चोकमा ट्राफिक बत्तीको आवश्यकता रहेको ट्राफिक महाशाखाले जनाएको छ।
यसैगरी, पैदल यात्रुलाई सडक पार गर्न सहजता तथा सवारीसाधन व्यवस्थापनका लागि खानी विभाग, सोह्रखुट्टे, हलचोक, बालाजु, नयाँ बसपार्क गेट, सामाखुसी, कलंकी, बल्खु, कुपण्डोल, टेकु, एकेडेमी मोड, ज्ञानेश्वर, गैरीधारा, इटालीयन मोड, सिंहदोबाटो र जयनेपाल चोकमा पनि ट्राफिक बत्तीको आवश्यकता रहेको भनेर सडक विभागमा पठाइएको डीएसपी मरासिनीले जानकारी दिए।
हरायो ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ योजना
एसियाली विकास बैंकको सहयोगमा काठमाडौं उपत्यका दीगो सहरी यातायात आयोजनाले ३ वर्षअघि ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ का लागि ठेक्का सम्झौता भएको थियो।
तर, तीन पटक गरी आह्वान गरिएको ग्लोबल टेण्डरको बोलकबुल उच्च भएको भन्दै एसियाली विकास बैंकले हात झिकेपछि आयोजना अलपत्र परेको छ । करिब ५५ करोड लागत अनुमान गरेकोमा रसुवा कन्स्ट्रक्सनले २४ प्रतिशत बढी लागत देखाएको थियो।
आयोजनाका उपनिर्देशक विमलप्रसाद सुवेदीले एडिबीले सही लागत अनुमान नगर्दा समस्या आएको बताए। ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ सीसी क्यामेरामार्फत् ट्राफिक व्यवस्थापन गर्ने प्रविधि हो। ट्राफिक बत्तीको कन्ट्रोल एउटै कोठमा हुन्छ, सवारीचाप र जामका आधारमा कन्ट्रोल रूमबाटै व्यवस्थापन गर्न सकिन्छ।
तर, ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ योजना कार्यान्वयन नहुँदै फेल भएपछि काठमाडौंको ट्राफिक व्यवस्थापनमा ट्राफिक जनशक्तिको अधिक खपत भइरहेको छ।
ट्राफिक लाइट प्रमुख बाराही तत्काललाई वायरलेस प्रविधिबाट ट्राफिक लाइट राखेपनि दीर्घकालीन योजना ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ नै रहेको बताउँछन्। ‘इन्टलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट विभिन्न कारणले पछि परेको हो, तर विभाग अझै लागिपरेको छ,’ उनले भने, ‘प्रविधि महँगो भएपनि दीगो हुन्छ भनेर हामीले दीर्घकालीन योजनामा समावेश गरेका छौं ।’