Friday, October 18, 2024

चुरेप्रति हामी कति संवेदनशील छौं ?

कमल मादेन
९ साउन, काठमाडौं
बाल्यकाल चुरे क्षेत्र नजिकै बित्यो । उसबेला सुनसरीको धरानसँग जोडिएको पहाडलाई चुरे भनिन्थ्यो भन्ने थाहा थिएन । साँगुरी डाँडा भन्थ्यौं, अझै पनि अलग्गै चिन्ने नाम त्यही हो । विश्वविद्यालय पढ्दा चुरे क्षेत्रलाई सिबालिक पनि भनिन्छ भन्ने थाहा पाएँ । कसैकसैले चुरेलाई महाभारत पर्वत पनि भन्थे । त्यो महाभारत पर्वतचाहिँ होइन रहेछ ।

अर्को कुरा समुच्च साँगुरी डाँडा चुरे क्षेत्रमा नपर्दो रहेछ । केही वर्षयता डेभिड जुरिक र पीपी करनको हिमालय (सन् १९९९), मेघराज धितालको ‘जियोलोजी अफ नेपाल हिमालय’ (सन् २०१५), माइक सियर्लेको ‘कोलाइडिङ कन्टिनेन्ट्स’ (सन् २०१७), विक्रम श्रेष्ठको हिमालयको उत्पत्ति (सन् २०२२) पुस्तकका केही पाना पढ्दा चुरेबारे निकै जानकारी भयो ।

मेरो एक मित्र चितवनमा वन्यजीव अध्ययन गर्दैछन् । मलाई जस्तै उनलाई पनि चुरे क्षेत्रबारे दुविधा छ कि छैन भन्ने थाहा पाउन उनले काम गरेको स्थान चुरे हो कि होइन भनेर प्रश्न गरें । तुरुन्तै ‘तराईको ठीक सामुन्नेको पहाड होइन, निकै माथि हो, त्यसकारण त्यो त चुरे क्षेत्रमा होइन, सिबालिकमा पर्छ’ भने । जबकि चितवनको अधिकांश भाग चुरे क्षेत्रअन्तर्गत पर्छ ।

नेपालमा सबैभन्दा बढी चुरे क्षेत्र रहेको जिल्ला नै चितवन हो । मित्रले काम गरिरहेको भूगोल चुरे नहोला, तर उनले सिबालिकमा पर्छ पनि भने । जबकि चुरे र सिबालिकले उही क्षेत्र जनाउँछ । भारतीयले चुरेलाई सिबालिक भन्छन् । नेपालमा पनि सिबालिक लेख्ने गरिन्छ ।

अंग्रेजी शब्दावलीमा चुरेलाई ‘फुट हिल्स, ‘आउटर हिमालय, सब–हिमालय’ भनिन्छ । मैले चुरेलाई भारतमा कसले, किन र कहिले सिबालिक भनेर लेखे भन्ने थाहा पाउन निकै वर्षदेखि चासो राखिरहेको थिएँ । यस क्रममा भूगर्भ र भौगर्भिक विज्ञान अध्येताहरूलाई पनि सोधें, उनीहरूलाई पनि थाहा नभएको जानकारी पाउँदा उदेक लागिरहेको थियो ।

सिबालिक शब्द

केही महिनाअघि मात्र थाहा भयो कि सब–हिमालयलाई सिबालिक भनेर पहिलो पटक लेख्ने इस्ट इन्डिया कम्पनीका पीटी काउट्ले र एच फाल्कोनर रहेछन् । काउट्ले इस्ट इन्डिया कम्पनीको इन्जिनियर तथा पुरातत्त्वविद् थिए । उनले भारतमा गंगानदीबाट नहर बनाउने परिकल्पना र काम थालनी भएपछि सुपरिवेक्षण गरेका थिए । त्यो नहर उत्तरप्रदेशस्थित हरिद्वार नजिकबाट सुरु गरिएको थियो ।

नहर बनाउँदा सब–हिमालय क्षेत्रमा प्रशस्त मात्रामा लोप भइसकेका विशेषतः जन्तुका जीवाष्म फेला परेका थिए । ती तमाम जीवाश्म इन्डिया कम्पनीको जीवाश्म तथा जीवविद् फाल्कोनरबाट विवरण तयार गरियो । फाल्कोनरले जीवाश्मको वैज्ञानिक विवरणसहित वर्गीकरण तथा नामकरणसमेत गरेका थिए ।

यसरी काउट्ले र फाल्कोनरले संयुक्त रूपमा उत्तरप्रदेशस्थित सब–हिमालय क्षेत्रमा लोप भइसकेका हात्ती, गैंडा, जलगैंडा, गोही, घरियाल, जेब्रा आदिका विवरण प्रकाशन गर्ने सिलसिलामा ती जीवाश्म संकलित क्षेत्रलाई भारतीयले के भन्छन् भनेर थाहा पाएका थिएनन् । उसो त त्यसबेलासम्म सब–हिमालय क्षेत्रलगायत समुच्च हिमालय क्षेत्र के कसरी र कहिले उद्भव भएको थियो भन्ने कुनै जानकारी तथा अध्ययन भएको थिएन ।

सन् १९१२ मा जर्मनका अल्फ्रेड वेगेनरले महादेश, समुद्र तथा टापुहरू गतिशील छ भनेर परिकल्पना गरेका थिए । त्यो परिकल्पना सन् १९६० ताका ‘प्लेट अफ टेक्टोनिक सिद्धान्त’को रूपमा परिणत गरियो । ‘टेक्टोनिक्स प्लेट’को गतिका कारण भूकम्प, ज्वालामुखी, माउन्टेन तथा हिमाल निर्माण, सामुद्रिक खाडल निर्माण हुन्छन् ।

इस्ट इन्डिया कम्पनी भारतमा रहँदाताका अंग्रेजहरूले चुरे क्षेत्रलाई ‘सब–हिमालयन रेजियन’ अर्थात् उप–हिमालय क्षेत्र भन्थे । काउट्ले र फाल्कोनरको सम्पर्क हरिद्वारमा बसेका महन्तहरूसँग हुन्छ । महन्तले त्यो समग्र भूभागलाई उसबेला शिवालय भन्थे भन्ने बताउँछन् । यसै प्रसंगमा लेखकद्वयले सिबालिक क्षेत्र भनेको हिन्दुहरूबाट भगवान् शिव रहने क्षेत्र भन्ने गरिएको र त्यो भूभाग ‘सब–हिमालयन रेजियन’अन्तर्गत पर्छ भनेर प्रस्ट्याएका छन् ।

यो जानकारी ‘नाइनटिन्थ भोलम अफ एसियाटिक रिसर्चेज’ (सन् १८३६) मा प्रकाशित भएको रहेछ । इस्ट इन्डिया कम्पनीले सन् १८५१ मा ‘जियोलोजिकल सर्भे अफ इन्डिया’ स्थापना गरे । त्यसले भारतमा सिबालिक क्षेत्रको नक्सांकनको काम ग¥यो । सिबालिक क्षेत्र पाकिस्तानको पोत्वार पठारबाट उत्तरपूर्व भारतसम्म फैलिएको छ ।

चुरे उत्पत्ति

पृथ्वीभित्रको म्याग्मा अत्यन्त तातोका कारण विभिन्न दिशामा चलायमान छ । त्यसमाथि पृथ्वीको सतहको सबभन्दा मुनिको कडा चट्टान तातो म्याग्मामाथि रहेका कारण विभिन्न आकारमा टुक्रिएको छ । त्यसलाई ‘टेक्टोनिक प्लेट’ भनिन्छ । म्याग्मा चलायमान रहँदा ‘टेक्टोनिक प्लेट’माथिको पृथ्वीको सतह पनि म्याग्मा बगेकै दिशातर्फ अत्यन्त सुस्त गतिमा रहन्छ ।

‘प्लेट्स अफ टेक्टोनिक थेउरी’ अनुसार करिब ९–१० करोड वर्षपहिले भारतीय उपमहाद्वीप रहेको ‘टेक्टोनिक प्लेट’ अफ्रिकाको पूर्वी दक्षिणी भागमा थियो । त्यो उत्तरतिर वर्षमा केही इन्चको दरले बग्दै आयो । करिब ५ करोड वर्षअघि जब भारतीय र ‘युरासियन प्लेट’ एकापसमा आम्नेसाम्ने भए र जुधाजुध गर्न थाले, त्यसक्रममा भारतीय उपमहाद्वीपको मुनिको म्याग्मा तिब्बती उच्च भूभागमुनि बिस्तारै धसिँदै गयो ।

भारतीय उपमहाद्वीप बाहिरी कडा आवरणचाहिँ ‘फोल्डिङ’ वा तहतह हुँदै चुलिँदै गयो । यसक्रममा क्रमशः पहिले उच्च हिमालय (हाई हिमालय), त्यसपछि महाभारत पर्वत शृंखला (लेसर हिमालय) बन्यो । अचम्मचाहिँ अहिले चुरे क्षेत्र रहेको भूभाग खाल्डो रहेको र त्यहाँ पानी भरिएको थियो भन्ने वैज्ञानिक मान्यता छ । त्यहाँ पानीमा बस्ने जीवजस्तो गोही, घडियाल, जलगैंडा आदि थिए । त्यतिखेरका जीवका जीवाश्म प्रशस्त मात्रामा पाइएका छन् । बिस्तारै पानी भरिएको खण्ड पनि केही उँचो भएर निस्किए ।

डेढ–दुई करोड वर्षअघि उच्च हिमालय र महाभारत पर्वत शृंखला उँचो हुँदै जाने क्रम तीव्र रफ्तारमा भयो । तिनीहरू द्रुत गतिमा अग्ला हुन थाले । यसक्रममा त्यहाँका ढुंगा, माटो, बालुवा, ग्रेगियान दक्षिणतिर सोहोरिएर ‘फुट हिल्स’ क्षेत्रमा थुप्रिन थाल्यो । त्यहाँ उत्तरतिरबाट ओरालो सोहोरिएर झरेका विशाल ढुंगाहरू एकापसमा खप्टिएर चाङमाथि चाङ लागे । बगेर आएका माटो, गेग्रियान त्यसमा थपियो र खातमाथि खात पुरिएर कमजोर सतह बन्न पुग्यो ।

मेघराज धिताललिखित ‘जियोलोजी अफ नेपाल हिमालय’ (सन् २०१५) शीर्षक पुस्तकमा उल्लेख भएअनुसार नेपालको कर्णाली क्षेत्रको ‘फुट हिल्स’मा जम्मा भएको ढुंगा, माटो तथा गेग्रियान सबैभन्दा पुरानो हो । त्यो करिब १ करोड ६० लाख वर्षपहिले पुरिएको थियो (पृष्ठ ३८५) ।

महाभारत पर्वत शृंखलाबाट तलतिर ‘फुट हिल्स’लाई हेर्दा होचा ढिस्काढिस्की जस्तो देखिन्छ । तर, तराईतिरबाट हेर्दा चुचुरा देखिन्छन् । यसकारण तराईतिर बस्नेले ‘फुट हिल्स’लाई चुरे पहाड र त्यसको आसपासको क्षेत्रलाई चुरे क्षेत्र भन्न थाले । नेपाली शब्दकोशमा पनि तराईको उत्तरी कछाड तथा भित्री मधेशको दक्षिणतिर फैलिएको होचो पहाडलाई चुरे हो भनेर लेखिएको छ । नेपालमा चुरे देशको कुल भूभागको १२.७८ प्रतिशत हिस्सा ओगटेको छ ।

चुरे क्षेत्र समावेश जिल्ला

नेपालमा दक्षिणतिर सिमाना जोडिएका पहिले २० वटा जिल्ला थिए । नेपालको संविधान जारी हुँदा नवलपरासी जिल्ला बर्दघाट पूर्व र पश्चिममा विभाजित गरियो । यसकारण दक्षिणतर्फ भारतको सिमाना जोडिएका जिल्लाको संख्या २१ पुगेको छ । ती २१ जिल्लाका दक्षिणतिर तराई र उत्तरतिर चुरे क्षेत्र रहेको छ । ती जिल्लाको उत्तरतिर सिमाना जोडिएका १७ जिल्लामध्ये पाँचथर, धादिङ, गोर्खा र रोल्पाबाहेक बाँकीमा चुरे क्षेत्र फैलिएको छ ।

मकवानपुर तराईको जिल्ला होइन । वन मन्त्रालयअन्तर्गत रहेको ‘डिपार्टमेन्ट अफ फरेस्ट रिसर्च एन्ड सर्भे’ले प्रकाशित गरेको चुरिया ‘फरेस्ट्स अफ नेपाल’ (सन् २०१४) शीर्षकको अध्ययन प्रतिवेदनअनुसार मकवानपुरको पूर्वी उत्तर सिमाना जोडिएको ललितपुर र काभ्रे जिल्लामा समेत न्यून रूपमा चुरे क्षेत्र फैलिएको छ । ती २ जिल्लाका कुल क्षेत्रफलमध्ये क्रमशः १.४९ प्रतिशत र ०.५३ प्रतिशत क्षेत्रमा चुरे समावेश छ ।

यस्तै, उदयपुर पनि तराईको जिल्ला होइन । यसको उत्तरपूर्वी सिमाना जोडिएको भोजपुर जिल्लाको कुल क्षेत्रफलमध्ये चुरेले ०.०४ प्रतिशत हिस्सा ओगटेको छ । यसरी, नेपालमा ३७ जिल्लामा चुरे क्षेत्र फैलिएको छ । ५० प्रतिशतभन्दा बढी जिल्ला ओगटेका ६ जिल्ला छन् ।

चितवन, दाङ, सिन्धुली, मकवानपुर, नवलपरासी र उदयपुर जिल्लामा क्रमशः ८४.२५, ८१.१६, ५७.७९, ५७.४१ र ५७.१६ प्रतिशत चुरे क्षेत्र छ । दक्षिणतिर भारतको सिमाना जोडिएका जिल्लामध्ये सबैभन्दा कम चुरे क्षेत्र सुनसरी र रौतहटमा मात्र ८.७ र ९.६१ प्रतिशत रहेको छ । तर, सबैभन्दा बढी कैलाली जिल्लामा ४४.१५ प्रतिशत छ ।

चुरे क्षेत्रमा पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान हुन्छ । उच्च हिमालय तथा महाभारत पर्वत शृंखलाबाट बग्ने नदी त्यहींबाट बग्ने र चुरे क्षेत्रमै उद्भव भएका तर बर्खामा बग्ने नदीका कारण प्राकृतिक रूपले त्यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा चुरे संरक्षणलाई अभियानका रूपमा परिचालन गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु ग¥यो ।

यसै क्रममा नेपाल सरकारले २०७१ असार २ गते विकास समिति ऐन २०१३ को दफा ३ बमोजिम ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश २०७१’ जारी गरेर संस्थागत रूपमा चुरे संरक्षण अभियान सञ्चालन गरिरहेको छ । उसबेला, ‘चुरेको माटो चुरेलाई नै, सफा पानी सबैलाई’ भन्ने नारा तय गरिएको थियो ।

त्यसयता असार २ गते चुरे दिवस मनाउँदै आएको छ । यस्तै, नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनबीच २०७७ वैशाख ३० गते एक सम्झौता भई नेपालको पूर्वी तथा मध्यभागको चुरे क्षेत्रको उत्थानशीलता वृद्धिका लागि चुरे उत्थानशील आयोजना सञ्चालन गरिरहेको छ ।

चुरे क्षेत्र नेपालको विविध भौगोलिक संरचनामध्ये सबैभन्दा पछि उद्भव भएको हो । माथिको सतह राम्ररी नखाँदिएको उक्त क्षेत्रमा जनसंख्या अत्यधिक वृद्धि भएका कारण वन फडानी निकै बढेको छ । खोलानालाबाट बालुवा र गिट्टी अत्यन्त धेरै उत्खनन गरी बेलाबखत भारतमा समेत निर्यात गर्ने गरिएका कारण त्यहाँको पारिस्थितिक प्रणाली संवेदनशील भइसकेको छ ।

यसको अवस्था अहिलेको मौजुदा ऐन, कानुनबाट जोगाउन सकिन्न । हाम्रा ऐन, कानुन चुरे क्षेत्र जोगाउन पर्याप्त छैन । अझ, संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँटबाट चुरे दोहन रोकिनेवाला छैन । यसर्थ, चुरेलाई जोगाउन सरकारको तीनवटै तह तथा स्थानीय बासिन्दा सचेत हुन आवश्यक छ ।


कान्तिपुर दैनिक

ताजा समाचार

सम्बन्धित समाचार